गढवाका सुकुम्वासीको प्रश्न: कहिले बन्छ लालपूर्जा ?

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । विन्तिराम चौधरीको आफु बसोवास गरेको जग्गाको लालपूर्जा पाउने आशा अझै पूरा भएको छैन । पाँच वर्षअघि भोट माग्न उनि सामु पुगेकाहरुले जितेपछि पूर्जा दिने बताए पनि विन्तिरामको सपना अझै पुरा भएको छैन । गढवा गाउँपालिका–५ भवानी वस्तीका विन्तीरामको जस्तै अरुको कथा पनि उस्तै छ । यो वस्ती २०६२/०६३ सालतिर वसेको हो । यो वस्तिमा भूमिहीन सुकुम्वासीको बसोवास छ । भूमिहीन सुकुम्वासीको बसोवास रहेको वस्तीमा आधारभूत आवश्यकताका सुविधासमेत पुग्न सकेका छैनन् । वस्ती नजिक सिक्रहवा खोला छ । जसले बर्खामा बाटो छेक्छ ।

‘सबै दिन्छौं भनेर आश्वासन दिए । जितेपछि शिविरमा फर्किएका छैनन्’– उहाँले भन्नुभयो– ‘हाम्रो वस्ती पाको बनाउनुप¥यो, जग्गाको पूर्जा चाहियो ।’ शान्ति चौधरी पनि भूमिहीन सुकुम्वासी हुनुहुन्छ । उहाँका छोराछोरी विद्यालयमा पढ्छन् । नयाँ भर्ना गर्न शुरु गरिएको छ तर यसपालि विद्यालयले भर्ना शुल्क बढाएका छन् । ‘आम्दानी बढेको छैन, छोराछोरीको शुल्क बढ्यो’– उहाँले भन्नुभयो– ‘यो समस्या कसले सुनिदिन्छ ?’ दैनिक काम गरेर गुजारा चलाउने परिवारलाई महंगीले हम्मेहम्मे पारेको छ । मेघराज चौधरीले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ तर तरकारीले बजार पाउँदैन । सामान्य खेतीपाती गर्ने किसानले उत्पादन लागत समेत उठाउन नसक्ने अवस्था छ । ‘तरकारी फल्छ । बेच्ने ठाउँ छैन’– उहाँले भन्नुभयो– ‘स्थानीय सरकारले बजार खोजिदिनुपर्ने हो । वास्तै छैन ।’

सरकारले दिने अनुदानसमेत वास्तविक किसानसमक्ष नपुग्ने गरेको उहाँले बताउनुभयो । ‘एउटा हाते ट्याक्टर समेत किन्न सक्ने लगानी छैन तर गाउँका टाठाबाठा मान्छेले अनुदान भेटाउँछन् । हामी किसान खाली हात’– उहाँले भन्नुभयो– ‘सरकारले समान रुपमा सबैलाई हेरोस् ।’ रिता कुमालको बुवा–आमा माटोको भाँडा बनाउने काम गर्नुहुन्छ । रिताले पनि बुवाआमालाई सघाउनुहुन्छ तर अचेल त्यही माटोको भाँडा बनाएर जीविकोपार्जन गर्न गाह्रो छ । दाउरा पाइँदैन । माटो पनि पाइँदैन । सामुदायिक वनबाट दाउरा ल्याउन कडाइ गर्ने गरेका छन् । माटो पनि ल्याउन सहज छैन् । ‘बोराबाट माटो लैजान भन्छन् । त्यति टाढाबाट कसरी माटो ल्याउन सकिन्छ’– रिताले भन्नुभयो– ‘एक टिन सानो ट्याक्टरबाट ल्याउन खोज्दा बीचमै खसालिदिए । सरकारले हामीले भोग्ने दुःख देख्नुप¥यो ।’ दश कक्षा पास गरेपछि माथिल्लो कक्षामा भर्ना हुने विद्यार्थी काम खोज्न भौंतारिरहेका छन् । ‘प्लम्बिङ, वायरिङ, ग्यारेजको काम यस्तै–यस्तै काममा तालिम दिएपछि सजिलो हुन्थ्यो’– उहाँले भन्नुभयो– ‘सरकारको कार्यक्रम र हामीले भोग्ने समस्याको भेट नै हुँदैन ।’

भूमिहीन किसानहरुले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीको दावी छ । ‘हामीले जग्गाको नापनक्साको काम शुरु गरेका छौं । वडा नं. १ बाट शुरु भएको छ’– उहाँले भन्नुभयो– ‘नियम कानुनले दिएसम्मका सबै काम गरेर जग्गाको पूर्जा वितरण गर्ने योजना छ ।’ गाउँपालिकाले भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न एक करोड बजेट विनियोजन गरेर जग्गाको नाप नक्सालगायतका काम अघि बढाएको जानकारी दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?