पुलिसलाई थ्री स्टारले हरायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा थ्री स्टारले फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक भएको थियो । यसअघि पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए । आठौं चरणको खेलमा थ्री स्टारले पुलिसबिरुद्ध सुखद् नतिजा निकाल्दा अजाइले ६४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । अजाईले कप्तान आशोक खवासको पासलाई सदुपयोग गर्न सफल भएका थिए । खवासले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको पासलाई अजाई पहिलो प्रयासमा जाली चुमाउन सफल भएका हुन् ।

यसअघि खेलको ३७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बूको हेडर प्रयासलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै ७४ औं मिनेटमा मोसिसको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो ।

यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ । पराजय व्यहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ । लिगमा शुक्रवार विश्राम छ भने शनिवारबाट नवौं चरणका खेल खेल हुनेछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?