सिन्धुलीका पर्यटकीय स्थलहरू पर्यटकले भरिभराउ

सिन्धुलीको पर्यटकीय गन्तव्य बनेको मुलकोट क्षेत्र ।

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । अरुबेला सुनसान हुने सिन्धुलीका पर्यटकीय क्षेत्रहरुमा यतिबेला चहलपहल छ । नयाँ वर्षको आगमनसँगै भित्त्रिएका पर्यटकको भीडले चहलपहल भएको हो ।

नववर्षको अघिल्लो दिनदेखिनै यहाँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति भएपछि जिल्लाका रिसोर्ट, कटेज र होटलहरु भरिभराउ छन् ।

नवर्षको पूर्व सन्ध्यामा सबैभन्दा बढी सुनकोसी गाउँपालिका–५ मुलकोट क्षेत्रमा पर्यटक भित्त्रिएका स्थानीय व्यावसायीहरुको दावी छ । पाँच वर्षयताकै सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक मुलकोट भित्त्रिएका क्वालिटी बीच रिसोर्टका प्रमुख राजेश श्रेष्ठले बताउनुभयो ।

‘हिजोदेखि मुलकोटका रिसोर्ट, होटल तथा कटेजहरु पर्यटकले भरिभराउ छन् । यहाँका व्यवसायीहरुलाई यतिबेला भ्याईनभ्याई छ,’ उहाँले भन्नुभयो, ‘एक महिनाअघिदेखि पर्यटकले अनलाइनबाट कोठा बुक गरेका थिए ।’

उहाँकाअनुसार सुनकोसी नदी किनार र बीपी राजमार्गको बीचमा रहेको क्वालिटी बीच रिसोर्टमा भएका ५२ वटा कोठा भरिएर १९ वटा टेन्ट लगाइएको छ । त्यी पनि काठमाडौँबाट आएका पाहुनाले भरिभराउ छन् ।

मुलकोटमै रहेको ताज रिसोर्टलगायत दुई दर्जनबढी होटलहरुमा उसैगरी पर्यटकको भीड छ । सुनकोसी नदीमा जलयात्रा सेवा, बोटिङ सेवा, कुशेश्वर मन्दिर दर्शन, बीपी राजमार्ग छेउमा रहेको सेतीदेवी मन्दिर दर्शन, रामेछापको खाँडादेवी र एकिकृत नमूना बस्ती लगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुको आर्कषणका कारण मुलकोट क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

नव वर्षको पहिलो विहान आज कमलामाई नगरपालिका अन्र्तगत रहेका कालिमाई मन्दिर, कमलामाई मन्दिर, सिद्धबाबा मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर लगायतका धार्मिकस्थलहरुमा दर्शनार्थीको भीड देखिन्छ ।

त्यसैगरी, कमलामाई नगरपालिका–३ मा अवस्थित ऐतिहासिकस्थल सिन्धुलीगढी, हरिहरपुरगढी गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक हरिहरपूरगढी, मरिण गाउँपालिका–५ घाटा पुछारमा रहेको ऐतिहासिक पञ्चकन्या पोखरी, कमलामाई नगरपालिका–२ मा अवस्थित भद्रकाली सामुदायिक होमस्टे, सिन्धुलीको सदरमुकाम स्थित सिन्धुलीमाढी बजार क्षेत्र लगायतका स्थलहरुमा पर्यटकको भीड बढ्दै गएको स्थानीयबासिन्दा बताउँछन् ।

पछिल्लो युवापिँडीले नव बर्षलाई बार्षिक उत्सवको रुपमा धुमधामसँग मनाउन थालेका ज्येष्ठ नागरिक शेषराज दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शहरी क्षेत्रमा बसोबास गर्ने जागिरे, कर्मचारी, युवापुस्ता परिवारसहित नयाँ ठाउँ घुम्न जाने, रमाइलो गर्ने गर्दछन् । पहिला नयाँ वर्षलाई यति हर्षका साथ मनाइँदैथियो ।’

बेलाबेलामा पर्ने नेपाली चाडपर्व र यस्ता उत्सवहरुलाई हर्षका साथ मनाइन थालिनुले जिल्लामा मनोरञ्जन लिन आउने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको उहाँको बुझाई छ । यसले यहाँका महत्वपूर्ण तर ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?