निर्माण भएको पाँच वर्षपछि म्याग्दीकै लामो झोलुङ्गेपुलको उद्घाटन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने जिल्लाकै लामो झोलुङ्गे पुल निमांण सम्पन्न भएको पाँच वर्ष पछि बल्ल उद्घाटन गरिएको छ ।

उत्तरी म्याग्दीको बेग र बादुक गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुलको शनिवार उद्घाटन गरिएको हो ।

नयाँ बर्षको अवसर पारेर रघुगंगा गाउँपालिका–वडा नम्बर १ बेगले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी, बिमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनौटमा भूमिका खेल्ने तत्कालिन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले संयुक्त रुपमा पुलको उद्घाटन गर्नुभयो ।

पुल निर्माण कार्य सकिएको भएपनि पुलबाट बेग र बाँदुक तर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदाय स्तरबाट चौतारी, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण भएपछि पुल निर्माण भएको पाँच बर्षपछि उद्घाटन गर्नुपरेको वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङदेखि बाँदुक–लामो पुल हुँदै बेग भएर पर्यटकीय स्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी धौलागिरी आइसफल पदमार्गमा जोड्ने योजना बनाएको वडा अध्यक्ष फगामीले बताउनुभयो । बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको झोलुङ्गे पुलको लम्वाई ३ सय ६५ दशमलब ८० मिटर छ भने अग्लो खोलादेखि १ सय ४८ मिटर रहेको छ ।
तत्कालिन जिल्ला विकास समितिले रु २ करोड ७९ लाख ९० हजार लागतमा यो पुल निर्माणको लागि मुक्तिनाथ/श्री गिता जेभीलाई ठेक्का लगाएको थियो ।

पुल निर्माणको लागि जिल्ला समन्वय समिति र स्थानीयको रु ३६ लाख बराबरको लगानीमा दुबै तर्फबाट सडकको पहुँचमार्ग विस्तार गरिएको थियो । भिर र खोला नालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता लामो पुल निर्माणले हटाएपछि स्थानीयबासी उत्साहित बनेका छन् ।

पुल उद्घाटन कार्यक्रममा सरिक हुन प्रवासी बेगखोलाबासी समेत गृहगाउँ आएका थिए भने स्थानीयबासीले बाजागाजा सहित उत्सव बनाएका थिए । यो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेग गाउँ वारपारको लागि लाग्ने करिब ३ घण्टाको यात्रा ३० मिनेटमै छोटीएको छ । पुलदेखि बेग गाउँसम्म पदमार्ग निर्माण गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?