कविता : म गर्छु कामना यही

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ प्रीति आत्रेय ज्ञवाली

नवीन भावले सधैं नवीन राग खोज्दछन्
सबै नयाँ भनी रमे पुरा सबै गमक्क छन् ।
छ के नयाँ सबै उही छ फेरिने त पात्रता
सबै कुरा उसै यहाँ छ भिन्नता त सालमा ।।१।।

भयो र के गरे र के हुने यहाँ छ भिन्नता
मिले यहाँ हुने सबै छ एक भावमित्रता ।
सुभावले गरे यहाँ हुने छ काम सिद्धता
कुभावले गरे त फेरि टुट्न जान्छ सत्यता ।।२।।

मिलेर काम है गरे हुनेछ काम पूर्णता
म मात्र सोचले यहाँ विभिन्नि एक सभ्यता ।
बुझेर चाल है चले सुभावले सुसाथले
हुनेछ शान्ति देशमा सुपात्रको प्रभावले ।।३।।

धरापमा छ वर्तमान देश अर्थ-नीतिको
सुशान्त राख्न सक्छको छ भीति भ्रष्ट रीतिको ।
दिएर हात सत्यको जगाइ भाव देशको
चली सबै सपूत हे बचाउ साख देशको ।।४।।

म के भनौं अरू यहाँ फुरेन खै कुरा जहाँ
बिमार देश नीति भो सुनीति कुर्दछौँ यहाँ ।
म गर्छु कामना यही नयाँ छ साल आउँदो
बढाउ हर्ष देशको हटाइ जाल भ्रष्टको ।।५।।
(छन्द :पञ्चचामर)
हाल : न्होम पेन्ह, कम्बोडिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?