एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद आज परराष्ट्रमन्त्री नियुक्त हुँदै हुनुहुन्छ। उहाँलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

उहाँको आजै दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थाल्नुभएको हो । गत पुस १० मा प्रधानमन्त्री बन्नुभएका दाहालले दोस्रो पटक बनेको मन्त्रिपरिषद्लाई पूर्णता भने अझै दिन सक्नुभएको छैन ।

गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री नेपाली कांग्रेसको भागमा परेको थियो। शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार विस्तारका लागि छलफल गर्नुभएको थियो । छलफलकै क्रममा परराष्ट्रमन्त्रीका लागि नाम पठाउन कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।

देउवाले परराष्ट्रमन्त्रीका लागि शनिबारै साउदको नाम पठाउनुभएको हो ।

साउद सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?