चार महिनामा आठपटक मन्त्रिपरिषद् विस्तार, अझै अधुरै

एनपी साउद परराष्ट्र र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आइतबार आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । साउदले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभएको छ । उहाँ यसअघि सिँचाइमन्त्री र शिक्षा राज्यमन्त्री बन्नुभएको थियो ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आठौँपटक मन्त्रिपरिषद् विस्तार गरे पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले दुईपटक विश्वासको मत र आठपटक मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको छ । कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । गठबन्धन दलभित्रको आन्तरिक भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो । कांग्रेसको डा. शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि कांग्रेसको भागमा परेका आधा मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग छन् । तीन मन्त्रालय नपाएसम्म सरकारमै सहभागी नहुने शेखर समूहको अडान छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले अझै पाँचवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । केही समय अघिसम्म १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उहाँले प्रधानमन्त्रीसँगै, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय आफैँसँग राख्नुभएको छ । १० पुसमा दोस्रो ठूलो दल एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर सरकारमा नगई पहिलो ठूलो दल कांग्रेसले विश्वासको मत दिएपछि उहाँले २९८ सांसद अर्थात् ९९ प्रतिशतको समर्थन पाउनुभयो । तर, पनि उहाँले सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अगाडि बढाउँछु : परराष्ट्रमन्त्री साउद
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताउनुभएको छ । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तयारीको कामलाई अगाडि बढाउने बताउनुभयो । भ्रमणको तयारीमा रहेका टिमसँग ‘ब्रिफिङ’ लिएर काम अघि बढाउने उहाँले बताउनुभयो । छिमेकीसहित अन्य देशसँगको सम्बन्धलाई अझै घनिष्ट बनाउँदै लैजाने उहाँको भनाइ छ । ‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी आगामी दिनमा विश्वभरीका देशसँग, छिमेकीसँग आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौँ,’ उहाँले भन्नुुभयो, ‘भ्रमणबारे हामी छलफल अगाडि बढाउँछौँ । म भर्खर कार्यालयमा आएको छु । टिमसँग ब्रिफिङ लिएर त्यसबारे भन्नेछु ।’

सरकारको आलोचना नगर्न गगन थापालाई माओवादी सांसदहरूको आग्रह
नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सहयोग गर्न कांग्रेस महामन्त्री गगन थापालाई आग्रह गर्नुभएको छ । आइतबार संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले सरकारलाई सफल बनाउने दायित्व कांग्रेस महामन्त्री थापाको पनि भएको बताउनुभयो । थापाले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने उहाँले बताउनुभयो । सरकारको आलोचना नगरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । ‘गगन थापा गठबन्धनको मूल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न,’ पौडेलले भन्नुभयो, ‘सहयोग गरेर पनि सफल हुन्छ । विरोध गरेर सरकार सफल हुन्न ।’ त्यस्तै, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कांग्रेस महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताउनुभयो । महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न उहाँले आग्रह गर्नुभयो । ‘उहाँ (गगन थापा)हरू सरकारलाई नजिक बसेर सहयोग गर्नेभन्दा पनि आलोचना बढी गरिराख्नु भएको छ । यो राम्रो होइन,’ उहाँले भन्नुभयो, ‘उहाँले बोल्ने कुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुप¥यो । उत्तेजनामा आएर जे मन लाग्यो त्यही बोलिहाल्ने भन्दा पनि सोच विचार गरेर बोल्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?