एयर इण्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

Read Time = 3 mins

नयाँदिल्ली । लण्डनका लागि उडेको एयर इण्डियाको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले भने, ‘कुल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई-१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ ।

सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो ।

यस सम्बन्धमा एयर इण्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अप्रिल १०, २०२३ मा दिल्ली-लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इण्डियाको विमान एआइ-१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ ।’

मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पुर्‍याएपछि कमाण्डमा रहेका विमान चालकले आफू दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ ।

एयर इण्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीमा एफआईआर पनि दर्ता गरिएको छ । एयर इण्डियामा हाम्रो लागि जहाजमा सवार सबैको सुरक्षा र सम्मान महत्वपूर्ण छ । हामी प्रभावित चालक दलका सदस्यहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछौं ।’

अन्य यात्रुहरूलाई परेको असुविधाप्रति कम्पनीले दुःख प्रकट गरेको थियो । विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इण्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ । आरोपी र पीडित दुवै दिल्ली बाहिरका हुन् । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?