मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेल आयोजना गर्ने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा विभिन्न १४ खेलको प्रतियोगिता हुने भएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पहिलो संस्करणमा सात खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक सात खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

विविध खेलकुदअन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यू-१५/यू-१९ ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र आठ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । क्वाटरफाइनल पुग्ने खेलाडीलाई तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सातै प्रदेशमा वैशाख २७ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेछ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । पोखरामा जेठ २३ गतेदेखि केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ । ६ टिमको सहभागिता रहने पूर्वक्रिकेटर शक्ति गौचनले जानकारी गराउनुभयो । त्यसमा भारतबाट पनि एक टिमले सहभागिता जनाउने बताइएको छ । विजेताले १० लाख तथा उपविजेताले पाँच लाख नगद पुरस्कार जित्नेछन् । उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

वैशाख २८ गतेदेखि सातै प्रदेशमा मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । जेठ ४ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा खुला पुरुष तथा महिला बास्केटबल हुनेछ । पहिलो हुने टिमले एक लाख ५० हजार तथा दोस्रोले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

झापाको बिर्तामोडमा वैशाख २० गतेदेखि राष्ट्रव्यापी कराँते प्रतियोगिता हुने तालिका छ । विभिन्न १५ स्पर्धा समावेश प्रतियोगितामा एक इभेन्टका पदक विजेतालाई जम्मा २५ हजार नगद पुरस्कार तोकिएको छ । भक्तपुरमा वैशाख १९ गतेदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुनेछ । यो खेलमा पनि नगद पुरस्कार राखिएको छ । बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता वैशाख २५ देखि काठमाडौंमा हुँदैछ । प्रथम हुने टिमले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्नेछन् ।

खुला मधेश प्रदेश डोरी तान प्रतियोगिता सप्तरीमा असार २२ गते हुनेछ । पहिलो हुने टिमले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार हात पार्नेछन् । सुर्खेतमा रेस्लिङ जेठ ३१ गते हुनेछ । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ ।

वैशाख २५ गतेदेखि भक्तपुरमा खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार हात पार्नेछन् । बुटवलमा असार २ गतेदेखि राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार, १० हजार र सात हजार नगद पुरस्कार पाउनेछन् । बुटवलमै विद्यालयलाई लक्षित गरी आत्मरक्षा तालिम जेठ ३ देखि ५ गतेसम्म हुनेछ ।

सातै प्रदेशमा असार १ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनेछ । पहिलो हुनेले एक लाख तथा दोस्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता बाहेक काठमाडौंमा जेठ ३ गते खेलकुद विकास अन्तरक्रिया सञ्चालन गरिनेछ । कार्यक्रम सम्पन्न गर्न करिब सात करोड २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?