सैनामैनामा झारफुक मृत्यु प्रकरण : एक जना पुर्पक्षका लागि थुनामा, अरु सबै रिहा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । रुपन्देहीको सैनामैना गत फागुन २० गते झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा संलग्न भएकी एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सैनामैना–१० फुलबारी टोलमा भएको झारफुकबाट बालिकाको मृत्यु भएपछि पक्राउ परेका अन्य १७ जनालाई रिहा गर्न अदालते आदेश दिएको हो । सालझण्डी बजारदेखि २ किलोमिटर उत्तर फुलबारी टोलकी १४ वर्षिया सिता ज्ञवालीको झारफुक गर्ने नाममा दिईएको चरम यातनापछि मृत्यु भएको थियो ।

उक्त मुद्दामा भएको सुनुवाईपछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरि अरुलाई धरौटी र साधारण तारेखमा छोडिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी माता सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गरी मुद्दा चलाएको थियो ।

अनुसन्धानको क्रममा बालिका सिताको २० गते राति मृत्यु भएको र सोहि राती नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि दाहसंस्कार गरेको पाईएको थियो । अनुसन्धानको क्रममा फागुन २६ गते झारफुकको क्रममा प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागि भएका गरि १७ जनालाई पक्राउ गरेको थियो । त्यसपछि फागुन २९ गते मृतक बालिकाकी आमा लिला ज्ञवालीलाई पनि पक्राउ गरि अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहां लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् । सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक संजालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

यसरी खुलेको थियो घटनाको रहस्य

सामाजिक सञ्जाल फेसबुकमा मा फागुनको २१ गते एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरीर माथि चढी (बसी) हातमा घण्टी बजाउादै गालामा थप्पड हान्दै गरेको भिडियो प्रहरीले देख्यो । उक्त भिडियोमा ‘आईज, आ देखिस्, कति खान्छस्, मेरो पावर देखिस्’ भन्दै हातमा रुद्राक्षको मालाले शरीरको बिभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको देखिन्थ्यो ।

उक्त भिडियो देखेलगत्तै ईकाल प्रहरी कार्यालय सालझण्डीले उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पीडित बालिकाको सम्बन्धमा अनुसन्धान सुरु गर्यो । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको टोलीले भिडियोको आधारमा अनुसन्धान गर्दा झारफुक गर्ने युवतीलाई पक्राउ गर्न पुग्यो । उनीसँगै बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामग्रीहरु त्रिशुल, जग, रुद्राक्षको माला लगायत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि प्रहरीले मृतक सिता ज्ञवालीको घर परिवारसँग सोधपुछका लागि पुग्यो । परिवारसँग बुझ्दा बिगत ४र५ दिनदेखि सिता कान सम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको थियो।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भएकोमा परिवारले सोही दिनको रातिनै दाहसंस्कारको लागि घरपरिवाले कपिलबस्तु जिल्लाको लक्ष्मणघाट पुर्याएर दाहसंस्कार गरेका मृतकको घरपरिवारबाट खुल्न आएको प्रहरीले जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?