नम्बर एक एमेच्योर गल्फर सुवास शीर्षस्थानमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुवास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिनुभएको छ ।

गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले बुधबार ३-अण्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०-अण्डर २०६ सहित पहिलो दुई दिनका लिडर सञ्जय लामालाई २ स्ट्रोकले पछि पार्नुभयो । सञ्जयले इभन-पार ७२ मा खेल सक्नुभयो ।

समग्रमा ८-अण्डर २०८ को स्कोरमा उहाँ दोस्रो स्थानमा झर्नुभयो । पहिलो दिनका एकल लिडर सञ्जयले दोस्रो दिन भने एमेच्योर सदभावसँग शीर्षस्थान बाँड्नुभएको थियो । अन्तिम १८ होलको खेल बाँकी रहँदा यो पटक पनि एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरलाई कडा चुनौती दिनुभएको छ ।

४-अण्डर ६८ को उत्कृष्ट नतिजासहित समग्रमा ६-अण्डर २१० को स्कोरमा रवि खड्का तेस्रो स्थानमा उक्लिनुभयो । लयमा फर्किनुएएका भुवन नगरकोटीले तेस्रो दिन पनि ४-अण्डर ६८ मा खेल सक्नुभयो । लगातार दुई दिन ४-अण्डर खेल्नुभएका उहाँ समग्रमा ५-अण्डर २११ को स्कोरमा चौथो स्थानमा उक्लिनुभयो ।

दोस्रो दिन सानदार प्रदर्शनसहित सञ्जयसँग शीर्षस्थान बाँड्नुभएका एमेच्योर सदभाव आचार्यले ४-ओभर ७६ को खराब प्रदर्शन गर्नुभयो । समग्रमा ४-अण्डर २१२ सहित उहाँ पाँचौँ स्थानमा तल झर्नुभयो ।

समग्रमा २-अण्डर २१४ स्कोर गर्दै छैटौँ स्थानमा रहने क्रममा निरज तामाङले आज १-ओभर ७३ मा खेल सक्नुभयो । १-ओभर ७३ खेल्दै समग्रमा १-ओभर २१७ को स्कोरमा कमल तामाङ सातौँ स्थानमा हुनुहुन्छ । समग्रमा २-ओभर २१८ सहित जयराम श्रेष्ठ र रमेश अधिकारीले संयुक्तरूपमा आठौँ स्थान बाँड्नुभयो । जयरामले ३-अण्डर ६९ र रमेशले इभन-पार ७२ मा खेल सक्नुभयो । एमेच्योर टासी छिरिङ र प्रो. भुबहादुर गुरूङ समग्रमा ३-ओभर २१९ को स्कोरमा संयुक्तरूपमा दशौँ स्थानमा रहनुभएको छ । टासीले ४-अण्डर ६८ र भुबहादुरले २-ओभर ७४ को कार्ड बनाउनुभयो ।

लगातार तेस्रो दिन पनि अण्डर पारको स्कोर निकाल्ने क्रममा सुवासले फ्रन्ट नाइन १-अण्डर ३५ मा सक्नुभयो । दिनको सुरुवात बर्डीबाट गरे पनि दोस्रो र चौथो होलमा एक-एक सट खेर फाल्नुभयो । यसपछि छैटौँ र सातौँ होलमा बर्डीको सफलता प्राप्त गर्नुभयो । ब्याक नाइन २-अण्डर ३४ मा सक्ने क्रममा सुवासले १०औँ, १२औँ र १८औँ होलमा एक-एक सट बचाउनुभयो र १६औँ होलमा बोगी खेप्नुभयो ।

सञ्जयले खराब सुरुवात गर्नुभयो । दोस्रो, चौथो र छैटौँ होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन ३-ओभर ३९ मा सक्न बाध्य हुनुभयो । तर, ब्याक नाइनमा सम्हालिँदै ३-अण्डर ३३ को स्कोर निकाल्नुभयो । ११औँ, १२औँ, १५आंै र १७औँ होलमा बर्डीको सफलता प्राप्त गर्नुभयो भने १८औँ होलमा एक सट खेर फाल्नुभयो ।

रविले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अण्डर ३१ को स्कोर गर्नुभयो । पहिलो, दोस्रो, तेस्रो र छैटौँ होलमा बर्डी प्रहार गर्नुभयो भने चौथो होलमा एक सट खेर फाल्नुभयो । र, उहाँले तीन पारको आठौँ होलमा होल इन वानको सफलता प्राप्त गर्नुभयो । ब्याक नाइन भने १-ओभर ३७ मा पूरा गर्नुभयो । १३औँ र १४औँ होलमा बोगीको सामना गर्दा १५औँ होलमा एक सट बचाउनुभयो ।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । कुल आठ लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?