ओलीले देखाएको सुनको बालामा अल्मलिनु हुँदैन, प्रतिगमन करेक्शन गराउनेहरु एक ठाउँ हुनुपर्छ : विश्वप्रकाश शर्मा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको हो ।

उहाँले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गर्नुभयो । महामन्त्री शर्माले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरुलाई अगाडी सार्नु त्यति उचित नहोला भन्ने साथीभाईहरुको भावनासँग म एकदम सहमत छु । त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरु समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरुलाई अगाडी सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताउनु भयो । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई राष्ट्रपतिको पद देखाएर अल्मल्याउन खोजेको उहाँले बताउनु भयो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले काँग्रेसलाई भन्नुहुन्थ्यो । सुनको बाला निकैवटा छ कि क्या हो ? तपाईको बालकोटमा । कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ । कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ । कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ । उहाँको सुनको बालाको कुरामा अल्मल्लिनु अहिले हुँदैन । संसद विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्ष करेक्शन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भुमिका छ, त्यो भुमिका फेरिपनि एकठाउँमा आउनुपर्छ ।’

उहाँले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताउनु भयो । संसदको दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठुलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले काँग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस पार्टीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति नै हुनुपर्छ भनेर हामीले अफिसियली भनेकै छैन । राष्ट्रपति पदमा हाम्रो उम्मेदवारी रहन्छ । र अहिलेको बेलामा नेपाली काँग्रेस पार्टीले सार्ने उम्मेदवारलाई अहिलेका गठबन्धनमा रहेको दलमध्येको माओवादी पार्टी जसको अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले समेत समर्थन गरेर जाँदै गर्दा त्यसले केही सन्देश दिन्छ भन्ने कुरामा हामी प्रष्ट छौँ । पहिलो कुरो जनताको बीचमा जाँदै गर्दाखेरी नै जे वचनवद्धता राखिएको थियो हामी सँगसँगै जान्छौँ भनेर, त्यो जनमतको कदर हुन्छ । दोस्रो कुरा, संसदमा तेस्रो दलले देशको प्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छ । दोस्रो दलले संसदको सभामुखको जिम्मेवारी लिइरहेको छ भने पहिलो दलले देशको राष्ट्रपति लिने कुरा त्यो बढी स्वभाविक देखिन्छ । प्रधानमन्त्रीले सिंहदरबार, बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने नेपाली काँग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गरेर जानुपर्छ ।’

त्यस्तै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली काँग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हितको दृष्टिले अनिवार्य भएको बताउनु भयो । उहाँले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन गर्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सहमतिको दृष्टिकोणले अहिले विकसित भएको अन्तर्राष्ट्रिय घटनाक्रम र नेपाल जो द्वन्द्वात्मक भू–भागको रुपमा विकसित भइरहेको छ । अहिलेको आर्थिक दुरावस्था र अहिले देखिएका आर्थिक विकृतिहरु, त्यसलाई सम्पूर्ण रुपबाट एउटा राष्ट्रिय सहमतिको आधारमा निर्णायक बिन्दुमा पु¥याउनको निम्ति पनि सभामुख एउटा दलको, प्रधानमन्त्री अर्को दलको भएको स्थितिमा नेपाली काँग्रेसको राष्ट्रपति हुँदा नै सबै शक्तिहरुलाई संयोजन गर्नसक्छ र नेपाली काँग्रेसको राष्ट्रपति बन्नु अहिलेको राष्ट्रिय हीतको दृष्टिकोणले पनि अनिवार्य हो भन्ने हाम्रो ठम्याइँ हो ।’

उहाँले काँग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको दाबी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?