ओमानविरुद्ध नेपालको सहज जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनले सहज जित हात पारेको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३११ रनको विशाल लक्ष्य दिएको थियो ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको हो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग(२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

ओमानको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् । यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए ।

र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए । खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।

दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए ।

पाँचौँ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एकरएक विकेट झारे ।

दोस्रो इनिङमा ओमानले आक्रामक सुरुवात गरेको थियो । उसले ४.३ ओभरमा ३२ रन बनाएपछि ओमानको पहिलो विकेट झरेको थियो । ललित राजवंशीले जतिन्दर सिंहलाई आउट गरेका थिए । सन्दीप लामिछानेले छोटो अन्तरालमा ३ विकेट लिएपछि ओमान खेलमा फर्किन सकेन । नेपालका लागि करण केसीले पनि ३ विकेट लिए भने ललितले २ र दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?