एसिसी प्रिमियर कप : ओमानमाथि नेपालको सानदार जित, सन्दीप र कुशलको कीर्तिमान

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । कुशल मल्लको शतक र सन्दीप लामिछानेले विश्व कीर्तिमान कायम गर्नुभएको खेलमा नेपालले ओमानलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।

जितको लागि नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २२६ रनमा समेटियो । ओमानका ओमानका मोहम्मद नदिमले ८४ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाउनुभयो । यस्तै सन्दीप गौड ५६ बलमा तीन चौका र दुई छक्कासहित ४६ रनमा आउट हुनुभयो ।

जतिन्दर सिंह १५, आदिल शफिक १३, कश्याप प्रजापति २५, आयन खान २९, फैयज बट १९ र कलिमुल्लाह दुई रनमा आउट हुनुभयो । नेपालका सन्दीप लामिछानेले आठ ओभरमा ४५ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले सात ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि कुशल मल्लले शतक प्रहार गरेपछि नेपालले त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)मा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले पपुवा न्यूगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

कुशलले ६४ बलमा नौ चौका र १० छक्कासहित १०८ रनको शतकीय पारी खेल्नुभएको थियो । उहाँले कुशलले ५९ बलमै आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गर्नुभएको थियो । यसले उहाँलाई नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत बनाएको छ ।

यसअघि नेपालबाट कप्तान रोहित पौडेलले पपुवा न्यूगिनीविरुद्ध ९१ बलमा शतक प्रहार गर्दै सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान कायम गर्नुभएको थियो । उक्त कीर्तिमान भंग गर्दै कुशलले नयाँ कीर्तिमान रच्नुभएको हो । ओडिआईमा यसअघि नेपालबाट पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गर्नुभएको थियो ।

अन्तिममा सोमबार कामीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याउनुभएको हो । सोमपाल कामीले ३९ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो । जुन उहाँको ओडिआई करिअरको दोस्रो अर्धशतक हो । समग्रमा उहाँले ४८ बलमा नौ चौकासहित ६३ रनको पारी खेल्नुभयो ।

नेपालको सुरुवात भने खराब थियो । पहिलो रन जोड्न नै नेपालले २८ बल खर्चिएको थियो भने दुई विकेट गुमाइसकेको थियो । नेपालले तेस्रो ओभरमा कुशल भुर्तेल र चौथो ओभरमा अर्का ओपनर आसिफ शेख पनि शून्यमै गुमाएको थियो । तर तेस्रो विकेटको लागि कप्तान रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाउनुभयो ।

रोहितले ३४ बलमा दुई चौकासहित २३ रन बनाउनुभयो । यस्तै भीम सार्कीले ३३ रन बनाउनुभयो । उहाँले ५६ बलमा चार चौका र एक छक्का प्रहार गर्नुभयो । पाँचौं विकेटका लागि आरिफ शेख र कुशल मल्लले ७५ रनको साझेदारी भयो । आरिफ शेखले ४३ बलमा दुई चौकासहित २९ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरी सात रनमा आउट हुनुभयो ।

ओमानका आयन खानले पाँच ओभरमा ४६ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै बिलाल खान, कलिमुल्लाह, जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक-एक विकेट लिनुभयो ।

नेपालको ५०औं ओडिआई
ओमानविरुद्ध नेपालले ५०औं ओडिआई खेलसमेत खेल्यो । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेपछि नेपालले खेलेको यो ५०औं ओडिआई खेल हो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्याण्ड्ससँग पहिलो ओडिआई खेल खेलेको थियो । ५० ओडिआईमा नेपालले २७ मा जित, २१ मा हार, एकमा बराबरी र एक खेलमा नतिजाविहीन खेलेको छ ।

नेपालले ५० ओडिआई खेल खेल्दा चार कप्तान परिवर्तन भएका छन् । नेपालबाट पारस खड्काले ६, ज्ञानेन्द्र मल्लले १०, सन्दीप लामिछानेले १४ र रोहित पौडेलले २० ओडिआई खेलमा कप्तानी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?