सबैभन्दा ठूलो कुरा मिहिनेत र लगाव हो : दीपकराज सुनार, नृत्य निर्देशक

Read Time = 11 mins

नौ/दश वर्ष बलिउड नगरी मुम्बईमा रहेर नृत्यमा आफूलाई पोख्त बनाउँदै त्यही कोरियोग्राफीमार्फत् तारिफ बटुल्न सफल दीपकराज सुनार यतिबेला काठमाडौंमा पनि आफ्ना क्रियशनमार्फत् चर्चा बटुल्न सफल हुनुभएको छ । दीपकले मुम्बईमा रेमो डिसुजाको सानिन्ध्यमा रहेर नृत्यसम्बन्धी धेरै कुरा सिक्नुभयो भने पछि डिसुजासँगै विभिन्न रियालिटी शोहरूमा काम पनि गर्नुभयो । ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’, ‘टिकटकमा देखेको’, ‘हजुर मुसुक्कै’, ‘घुम्दै फिर्दै’ जस्ता चार दर्जनजति गीतको भिडियोमा आफ्नो कुशल कोरियोग्राफी प्रस्तुत गर्नुभएका सुनार यतिबेला नयाँ चलचित्रको तयारीमा हुनुहुन्छ । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘मायावी’मा पनि अनुबन्ध हुनुभएका उहाँ यतिबेला केही म्युजिक भिडियो र तीजको गीतका भिडियोमा आफूलाई व्यस्त राख्दै आउनुभएको छ । इमानदारीपूर्वक काम गर्नेलाई प्रतिस्पर्धा नरहेको र आफ्नो प्रतिस्पर्धा आफैंसँग भएको उहाँ बताउनुहुन्छ । उहाँले काठमाडौंमा आफ्नै ट्रिनिटी डान्स स्टुडियो सञ्चालनमा पनि ल्याउनुभएको छ । यो क्षेत्रमा लागेर विभिन्न मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल हुनुभएका दीपक एउटा राम्रो प्रस्तुतिका लागि टिमवर्क हुनुपर्ने मान्यता राख्नुहुन्छ । उहाँले नायक अनमोल केसी, सविन श्रेष्ठलगायत थुप्रै सेलिब्रेटीलाई पनि नृत्य सिकाउनुभएको छ । सिक्दै जाँदा सफलता पनि पाइन्छ । सबैभन्दा ठूलो कुरा मिहिनेत र लगाव हो भन्नुहुने नृत्य निर्देशक दीपकराज सुनारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

यतिबेला के गर्दै हुनुहुन्छ ?
नयाँ चलचित्र ‘मायावी’का लागि काम भइरहेको छ । यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दै हुनुहुन्छ । यस्तै, केही गीतको भिडियो र तीज गीतका भिडियोहरूको काम भइरहेको छ ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
म सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुन्थेँ । म आफ्ना हरेक क्रियाकलापमा नृत्यलाई समावेश गर्थेँ । यतिसम्म कि हिँड्दा–हिँड्दै र अन्य क्रियाकलापमा पनि जानी-नजानी नृत्य गरिरहेको हुन्थँे । विस्तारै मेरो नृत्यप्रतिको लगाव यति धेरै भयो कि म कहिल्यै योसँग छुट्न नसक्ने गरी जोडिएँ । स्कुलमा सानोतिनो कार्यक्रम हुँदा पनि रमाएर नाच्न गइहाल्थेँ । आफूलाई यसमा पोख्त बनाउन मुम्बईमा प्रशिक्षण लिएँ । मेरो शौभाग्य बलिउडमा ख्याति कमाउनुभएका वरिष्ठ नृत्य निर्देशक रेमो डिसुजासँग सिक्ने अवसर पाएँ । पछि उहाँसँगै जोडिएर धेरै कार्यमा पनि संलग्न भएँ ।

मुम्बईमा रहँदाका केही अनुभव सुनाउनुहोस् न ?
मुम्बई भनेको महासागर हो । त्यहाँ धेरैतिरबाट जाने गर्छन् । त्यो महासागरमा मैले पनि केही सिक्ने र आफ्नो कौशल देखाउने मौका पाएँ । आफूलाई भाग्यमानी ठान्छु । मेरो कार्यको त्यहाँ निकै प्रशंसा भयो । आफ्नो मिहिनेतले प्रशंसा पाउँदा खुसी लाग्थ्यो । त्यो प्रशंसाका लागि निकै कडा मिहिनेत र संघर्षका अनेक पाटा र कथा छन् । कडा मिहिनेत र संघर्षबाट पाएको प्रशंसाले मन पुलकित हुँदोरहेछ ।

त्यहीँ राम्रो गरिरहनुभएको थियो, फेरि नेपाल किन आउनुभयो ?
जति राम्रो गरे पनि बाहिर भनेको बाहिर नै हो । आफूले जानेको बुझेको नेपालमै किन नगराँै भनेर काठमाडौं आएँ । आफ्नै ठाउँमा केही गरौँ भन्ने संकल्प लिएर आएँ ।

मुम्बई भनेको महासागर हो । त्यहाँ धेरैतिरबाट जाने गर्छन् । त्यो महासागरमा मैले पनि केही सिक्ने र आफ्नो कौशल देखाउने मौका पाएँ । आफूलाई भाग्यमानी ठान्छु । मेरो कार्यको त्यहाँ निकै प्रशंसा भयो । आफ्नो मिहिनेतले प्रशंसा पाउँदा खुसी लाग्थ्यो । त्यो प्रशंसाका लागि निकै कडा मिहिनेत र संघर्षका अनेक पाटा र कथा छन् । कडा मिहिनेत र संघर्षबाट पाएको प्रशंसाले मन पुलकित हुँदोरहेछ ।

कस्तो पाउनुभयो यहाँ आएपछि ?
सबै आफूले सोचेजस्तो त कहाँ हुन्छ र ! फेरि पनि आफ्नोतर्फबाट राम्रो गर्ने कोसिसमा रहेको छु । सबैको माया, साथ सहयोग पाएको छु । त्यही नै ठूलो कुरा हो, होइन र ?

नेपालमा आएर कतिजति गीतका भिडियोमा कोरियोग्राफ्री गर्नुभयो ?
मैले यस्तै चार दर्जनजति गीतका भिडियोमा कोरियोग्राफी गरेको छु ।

यहाँले कोरियोग्राफी गरेका केही गीतको नाम लिनुपर्दा ?
‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’, ‘टिकटकमा देखेको’, ‘हजुर मुसुक्कै’, ‘घुम्दै फिर्दै’ जस्ता धेरै छन् । यी गीतका भिडियोले एक खालको चर्चा पाए, खुसी लाग्छ ।

यस क्षेत्रमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यस क्षेत्रमा पूर्णरूपमा सन्तुष्ट छु । किनकि यो मेरो कर्म क्षेत्र हो । मलाई यस क्षेत्रमा लागेर कुनै गुनासो नै छैन । म यस क्षेत्रबाट सम्पूर्णरूपमा खुसी छु ।

कत्तिको गाह्रो काम हो यो नृत्य निर्देशन ?
मलाई के लाग्छ भने हरेक काम आफैंलाई सजिलो गाह्रो हुन्छ । मुख्य कुरा के हो भने तपाईं हरेक कार्य फरक ढंगले सोचेर त्यसलाई त्यहीअनुसारको मूर्तरूप दिन चाहनुहुन्छ भने अवश्य त्यसमा चुनौती हुन्छ नै । नृत्यमा पनि हरेक प्रस्तुतिमा हामीले केही नयाँपन, केही फरकका साथै दर्शकलाई हेरौँ हेरौँ लाग्ने दिन सक्नुपर्छ । यसका लागि केही चुनौती त हुन्छ नै । फेरि पहिलाको प्रस्तुतिभन्दा अझ राम्रो कसरी गर्ने भन्ने हरेक प्रस्तुतिमा हुने गर्दछ । साथै हामीले संगीत, गीत, ताल, सुर, कथा, प्रविधि, कलाकारको शारीरिक भाषा, भेषभूषा, संस्कृति, इतिहास, भूगोललगायत विषयवस्तुमा केन्द्रित रहेर नृत्य निर्देशन गर्नुपर्ने हुन्छ । भिडियो, चलचित्रको फरक हुन्छ, मञ्चमा गरिने फरक हुन्छ । त्यसैले यो गाह्रोेका साथै एकखालको चुनौती पक्कै हुन्छ ।

कुनै पनि प्रस्तुति ‘हिट’ हुनका लागि नृत्य निर्देशकको भूमिका कस्तो रहन्छ ?
अवश्य निर्देशकीय पक्ष अब्बल भए ‘हिट’ त हुन्छ नै । किनभने कतिपय गीतहरू त्यति राम्रो नहुँदानहुँदै पनि निर्देशकले राम्रोसँग ग¥यो, प्राविधिकले र कलाकारले पनि राम्रो साथ दिए भने अवश्य सबैले मन पराउने खालको हुन्छ । भनाइ छ नि एउटा राम्रो संगीतमा नृत्य गर्नेले राम्रो नृत्य प्रस्तुत गरेन भने सिंगो संगीत नै फितलो लाग्छ ।

यस क्षेत्रबाट आम्दानीको स्थिति के छ ?
यस क्षेत्रबाट आम्दानी हुँदैन भनेर म भन्दिनँ । यसमा आफूले जति गर्न सक्यो उति नै धेरै कमाइ गर्न सकिन्छ । सर्वप्रथम यस क्षेत्रमा लाग्दा काममा इमानदारिता र पेशाप्रति लगनशील हुनुपर्छ । गफ जानेर हुँदैन । तर, आफ्नो पेशाप्रति लगनशील भएर काम गरे नहुने केही छैन ।

यहाँले आफ्नै स्टुडियो पनि सञ्चालनमा ल्याउनुभएको छ होइन ?
हो, ट्रिनिटी डान्स स्टुडियो सञ्चालनमा छ ।

यो क्षेत्रमा आउँदै गरेकाहरूलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यस क्षेत्रमा आउने हो भने मिहिनेत, इमानदारिता र पूर्णरूपमा सिकेर लाग्नुहोला । आफ्ना गुरु तथा जानकारप्रति सम्मान तथा आफूभन्दा सानालाई माया देखाउनुहोस् । आफूले जानेको कुरा सिकाउन कहिल्यै पनि पछि नहट्नुहोस् । यो क्षेत्रमा केही उल्लेखनीय कार्य गर्न सक्छु भन्ने तपाईंमा जुनुन छ भने आउनुहोस्, राम्रो छ । नाम र दाम दुवै छ । सिक्दै जाँदा सफलता पनि पाइन्छ । सबैभन्दा ठूलो कुरा मिहिनेत र लगाव हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?