साउदीको जितमा वहिदको शतक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अब्दुल वहिदको शतक मद्दतमा साउदी अरेबियाले नेपालमा जारी एसिसी प्रिमियर कपमा कतारलाई सात विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि २१७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

साउदी अरेवियाको जितमा ओपनर अब्दुल वहिदले १०८ बलमा २१ चौका र एक छक्कासहित १२४ रनको पारी खेल्नुभयो । अब्दुलले पहिलो विकेटका लागि वाकर उल हसनसँग मिलेर ११८ रनको सानदार शतकीय गर्दै टोलीलाई जित दिलाउनुभएको हो ।

उल हसनले ५५ बलमा नौ चौकासहित ५५ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै, साउदीका कप्तान हिशम शेख ३८ बलमा दुई चौकासहित २१ रनमा अविजित रहनुभयो । कतारका इक्रमाउल्लाह खानले दुई विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले ४९.५ ओभरमा २१६ रन बनाउँदै सबै विकेट गुमाएको थियो । कतारका मोहम्मद तनविरले ४८ बलमा सात चौकासहित सर्वाधिक ४६ रन बनाउनुभयो । यस्तै, ओपनर कमरान खान ३९ बलमा सात चौकासहित ३६ रनमा आउट हुनुभयो ।

विकेट इमाल लियांगे ३१ बलमा छ चौकासहित ३१, कप्तान मोहम्मद रिजलान ३९ बलमा चार चौकासहित २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक चार रनमा आउट हुनुभयो । यस्तै, खुराम शाहजाद ४३ बलमा तीन चौका र एक छक्कासहित २७ तथा सनदुन विथानागे १५ बलमा दुई चौकासहित १४ रनमा अविजित रहनुभयो ।

साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर चार विकेट लिनुभयो । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिनुभयो ।

समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । साउदी पहिलो खेलमा मलेसियासँग आठ विकेटले पराजित भएको थियो । साउदीले तेस्रो खेल सोमबार घरेलु टोली नेपालसँग मूलपानी मैदानमा खेल्नेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो । कतारले तेस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?