खडेरी लम्बियो, गर्मीले मध्य तराईको जनजीवन प्रभावित

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीसहित मध्य तराईमा खडेरी लम्बिँदा जनजीवन प्रभावित बनेको छ । पहाडी र पूर्वी तराईमा केही दिन अघि वर्षा भएपनि मध्य तराईमा वर्षा हुन सकेको छैन । यहाँ पानी नपरेर अत्यधिक गर्मी हुँदा दैनिकी नै प्रभावित बन्न थालेपछि स्थानीय आकाशे वर्षाको प्रतिक्षामा छन् । दिनभरको टन्टलापुर घाम र तातो हावाका कारण मानिसलाई घरबाहिर निस्कन गाह्रो परिरहेको छ ।

बरहथवा नगरपालिका–९, मूर्तियाका चक्रकुमार राउतले यो वर्ष अत्याधिक गर्मी महसुस भएको बताए । “पानी नपरेरै होला यो वर्ष त असाध्य गर्मी छ,” राउतले भन्नुभयो, “खडेरीले बाच्नै गाह्रो पा¥र्यो । टन्टलापुर घाम र तातो हावाले गर्दा बाहिर निस्कन सक्ने अवस्था छैन् ।”

अत्यधिक गर्मीका कारण मानिस शिथिल बन्न थालेका छन् । दैनिक मजदुरी गर्नुपर्ने मजदुर र किसानलाई चर्को घाम र तातो हावाले गर्दा बाहिर निस्किएर काम गर्न मुस्किल पर्न थालेको छ ।

पानी नपर्दा सबैतिर सुक्खापन बढेको छ । आकाशे वर्षाको भर पर्नुपर्ने चुरे क्षेत्रका बस्ती झनै उजाड देखिएका छन् ।

चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१३, पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण वैद्यले पानी नपर्दा खेतबारी सबै बाँझो नै रहेको बताउनु भयो । “वर्षा भइदिए अब किसानले मकै छर्थे, गर्मी पनि कम हुन्थ्यो होला !,” वडाध्यक्ष वैद्यले भन्नुभयो, “हाम्रोतिर वर्षा कुरेरै खेतीबाली लगाउने हो । पानी नपर्दा किसानलाई असाध्य समस्या परिहेको छ ।”

गर्मी र खडेरीले सडक, बजारमा मानिसको आउजाउ पातलिएको छ । वन जङ्गल कम रहेको दक्षिणी सीमावर्ती क्षेत्रका वस्ती र बजारमा अझ बढी गर्मी छ ।

सदरमुकाम मलङ्गवा निवासी नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले गर्मीसँगै लामखुट्टे अत्याधिक लाग्दा दैनिकी कटाउन मुस्किल परिरहेको गुनासो गर्नुभयो । पानी नपर्दा यस क्षेत्रमा धुलो, धुँवाको प्रदुषण बढेको छ ।

यहाँका वन क्षेत्रमा लागेको डढेलो फैलिँदै गइरहेको छ । अधिकांश वनका स–साना रुखविरुवा डढेलोले सखाप भइसकेका छन् ।

मानिसमा अहिले आँखा पोल्ने, घाँटी दुख्ने, शरीर आलस्य हुने, रक्तचाप घटबढ हुनेजस्ता गर्मीजन्य स्वास्थ्य समस्या बढेको छ । चिकित्सकले पर्याप्त पानी पिउन, चर्को घाम र हावा चलेका बेला घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

डाक्टर गुणेश्वर झाले अत्यधिक गर्मी र उच्च तापक्रम रहेकाले अहिले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरुको अझ बढी ख्याल गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?