अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताउनुभएको छ ।

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सभापति देउवाले भन्नुभयो, “पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।”

स्व आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लड्नुभएका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गर्नुभयो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभहानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने औँल्याउनुभयो ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गङ्गालक्ष्मी अवाल, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य, पार्टीका निर्वाचन क्षेत्र नंं २ का सभापति भेषबहादुर कार्की लगायतले नेता आचार्यको योगदानलाई पार्टीले कदर गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांग्रेस सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई रु २५ हजार नगदसहित जगन्नाथ आचार्य स्मृति पुरस्कार प्रदान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?