उपचुनावबारे देउवाको टिप्पणी : ठूला पार्टीप्रति जनतामा निराशा देखियो

अनिल क्षेत्री
Read Time = 7 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ-१ को उपचुनावको परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताउनुभएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ-१ को प्रारम्भिक परिणामले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको बताउनुभएको हो । बैठकमा देउवाले अब पार्टी एकताबद्ध भएर चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो । बैठकको सुरुवातमै धारणा राख्नुभएका सभापति देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ-१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको बताउनुभएको जानकारी दिँदै सांसद खतिवडाले भन्नुभयो, ‘राष्ट्रपतिले चुनाव जित्दै आएको तनहुँमा कांग्रेस हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय हो । कांग्रेसका लागि गम्भीर स्थिति सिर्जना भएको छ । अब केही सोच्नुपर्ने भयो । यसमा सबै साथीहरू गम्भीर हुन आवश्यक छ ।’

सभापति देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएकाले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको जानकारी दिँदै सांसद खतिवडाले भन्नुभयो, ‘उपनिर्वाचनले ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको जस्तो छ ।’

‘अग्रज नेताहरूको योगदानबारे प्रचार गर्न आवश्यक’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरूको योगदानका बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अग्रज नेताहरूले मुलुकको परिवर्तनका लागि धैरै योगदान दिएकाले उनीहरूको बारेमा पार्टीका नेता कार्यकर्ताहरूले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।’

स्व. आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लड्नुभएका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गर्नुभयो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभहानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने औँल्याउनुभयो । नेपाल किसानको देश रहेकाले कृषिमा आधारित अर्थतन्त्र रहेकाले किसानको पक्षमा आवाज सबैले उठाउनुपर्ने देउवाको भनाइ छ ।

अर्थमन्त्रीलाई कांग्रेस सांसदहरूको प्रश्नैप्रश्न
नेपाली कांग्रेसका सांसदहरूले आफ्नै पार्टीको तर्फबाट अर्थमन्त्री बन्नुभएका अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि प्रश्नको वर्षा गरेका छन् । सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल गर्न सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री डा. महतले आफ्नै दलका सांसदहरूबाट खरो प्रश्नको सामना गर्नुपरेको हो । बैठकमा सांसदहरूले अर्थमन्त्री महतमाथि गरेको प्रश्नबारे जानकारी दिँदै सहभागी एक सांसदले भन्नुभयो, ‘अर्थतन्त्र सुधारको अवस्था कस्तो छ ? अर्थतन्त्र सुधार गर्न नसके कांग्रेसले किन अर्थ मन्त्रालय लिएको ? अर्थमन्त्रीले आर्थिक सुधार गर्नुपर्छ, गर्न सक्नुभएन ।’

सांसदहरूले अहिले देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने सुझाव दिएका छन् । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासोसमेत गरेका छन् । जनतामा विकास निर्माणका अपेक्षा रहेको र तिनलाई सम्बोधन गरेर जाने योजना ल्याउनुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजना/कार्यक्रम ल्याउनुपर्ने, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रेको व्यवस्था हुनुपर्ने, सहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था सुधार गर्ने किसिमको बजेट ल्याउनुपर्ने सांसदहरूले माग गरेका छन् । सांसद श्याम घिमिरेले सरकारले ल्याउन लागेको बजेटका विषयमा छलफल भएको र सांसदहरूले कार्यान्वयन हुने गरी जनमुखी बजेट ल्याउनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । बैठकमा सभापति देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राख्नुभएको थियो । बैठक आज (मंगलबार) पनि बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?