जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो सिंगापुर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा कुवेतसँग चार विकेटले पराजित भएसँगै सिंगापुर एसिसी प्रिमियर कपमा जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

कुवेतको जितमा अदनान इद्रिसले ३८ रन बनाउनुभयो । मित भावसर र यासिन पटेलले अविजित क्रमशः २७ र २१ रन जोड्नुभयो । यस्तै, सिराज खानले १० रन बनाउनुभयो । सिंगापुरका विनोथ बस्करण र अक्षय पुरीले समान दुई विकेट लिनुभयो । थिलिपन ओमाइदुराई र आदित्या भार्गवाले एक-एक विकेट लिनुभयो ।

त्यसअघि मोहम्मद अस्लमको घातक बलिङ प्रेरित कुवेतले एसिसी प्रिमियर कपमा सिंगापुरलाई ११३ रनमा समेट्दै जितका लागि ११४ रनको सामान्य लक्ष्य पाएको थियो ।

प्रतियोगिताको समूह ‘बी’ को खेलअन्तर्गत मंगलबार टस हारेपछि ब्याटिङमा आएको सिंगापुरले ३१.४ ओभरमा सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । सिंगापुरका ओपनर अमरत्या कौलले ४५, मनप्रित सिंहले २८ र थिलिपन ओमाइदुराईले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सक्नुभएन ।

सिंगापुरलाई सस्तैमा समेट्न कुवेतका मोहम्मद अस्लमले पाँच विकेट लिनुभयो । ८.४ ओभर बलिङ गर्नुभएका अस्लमले दुई मेडन राख्दै २० रनमात्र खर्चिनुभयो । सिराज खानले तीन विकेट लिनुभयो । ६ ओभर बलिङ गर्नुभएका सिराजले १४ रनमात्र खर्चिनुभयो । यसबाहेक यासिन पटेल र अदनान इद्रिसले समान एक विकेट लिनुभयो ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको कुवेत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जितसँगै कुवेतले प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । यता, सिंगापुर भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?