मौलिकता बोकेका गीतमा रसाइली

Read Time = 11 mins

काठमाडौं । नेपाली लोक तथा गायनको क्षेत्रमा स्थापित नाम हो रोशनी रसाइली । नेपाली लोकगीत संगीतको उर्वर भूमिको रूपमा पहिचान कमाएको बाग्लुङ जिल्लामा जन्मिनुभएकी रसाइली विगत १५ वर्षदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहनुभएको छ । विसं २०६६ सालदेखि निरन्तर रूपमा नेपाली लोक तथा दोहोरी गायन क्षेत्रमा सक्रिय रहनुभएकी रसाइलीले १५ वर्षको अवधिमा झण्डै तीन दर्जन हाराहारीमा गीतहरू श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।

रसाइलीको स्वरमा ‘३३ किलो सुन, काभ्रेमा घर छ (भाग-१), काभ्रेमा घर छ (भाग-२), डाँडाघरे कान्छी, सुनको चुरा, साली भेना, चौतारीमा बर छ, माली गाईको दहीलगायत दर्जनौं गीत चर्चामा छन् । ‘म मौलिकता बोकेका गीतहरू गाउन मन पराउँछु, त्यस्ता गीतहरूले तपाईं हाम्रा आफ्नै भावहरूलाई व्यक्त गर्दछन्, आफ्नै कथा, व्यथा बोकेका हुन्छन् र आममानिसको मन जित्न पनि सफल हुन्छन् । विशेषतः नेपाली भाषा, संस्कृति र भेषभूषालाई अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न, लोक तथा दोहोरी माध्यमबाट सहज हुने गरेको छ’, रसाइली भन्नुहुन्छ ।
नेपाली लोक तथा दोहोरीको साथमा सालैजो, कौडा, पञ्चेवाजाको भाकामा गीत गाउँदै आफ्नो बालापन बिताउनुभएकी रोशनीले आफ्नो शिक्षासँगै गायन क्षेत्रलाई पनि अघि बढाउनुभएको थियो । पश्चिमाञ्चल क्षेत्रको विशेष गरेर कास्की, बाग्लुङ, स्याङ्जा, पर्वत, तनहूँ, लम्जुङ जिल्लाका गाउँमा आज पनि रोधी बस्ने चलन छ । आजका युवाहरू विशेषगरी आफूलाई आधुनिक देखाउने नाममा अन्य देशमा चलेका संस्कृतिलाई अघि बढाउँदै गर्ने गरेको पाइन्छ तर बाग्लुङ, स्याङ्जा जस्ता जिल्लामा आज पनि नेपाली मौलिक संस्कृति रहेको रोधी संस्कार जीवितै छ । जुन संस्कृति जोगाउन गायिका रोशनी जस्ता युवा कलाकार सक्रिय छन् । त्यही रोधी संस्कृतिबाट अघि बढनुभएकी गायिका रोशनी आज लोकप्रिय लोक तथा दोहोरी गायिकाको रूपमा स्थापित हुनुभएको छ ।

रोशनी नेपाली गीतसंगीत क्षेत्रका लागि एक उम्दा पात्र हुनुहुन्छ । बाग्लुङबाट राजधानीसम्मको यात्रा र राजधानीमा आएर नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित हुने गरेको उहाँको संघर्ष उदाहरणीय त छँदै छ, त्यसमाथि नेपाली समाजमा महिलाहरूलाई अघि बढ्न हुने विभिन्न खाले समस्याका बाबजुद पनि उहाँ आज नेपाली सांगीतिक आकाशमा सफल गायिकाको रूपमा स्थापित हुनुहुन्छ ।

माध्यामिक शिक्षाको अध्ययन पूरा गरेपछि गायिका रोशनी उच्च शिक्षा अध्ययन गर्न राजधानी काठमाडौंमा आउनुभयो र आफूलाई मनपर्ने विधाअन्तर्गत गायक विधालाई नै पढाइको श्रोत बनाउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्य कलेजबाट संगीतमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभयो । तत्पश्चात उहाँ नेपाली गीतसंगीतको क्षेत्रमा आफूलाई स्थापित गराउन लागिपर्नुभयो ।
विसं २०६६ सालमा पहिलो पटक रोशनीले आफ्नो स्वरमा औपचारिक रूपमा ‘काटी पलायो डाली’ बोलको गीत रेकर्ड गराउनुभएको थियो । दोहोरी विधामा रेकर्ड गराएको गीतलाई पुरुष स्वरमा कृष्ण जिसीले साथ दिनुभएको थियो जसमा शब्द तथा लय पनि जिसीकै थियो । सोही गीतबाट रोशनीले चर्चा कमाउन सफल हुनुभयो । अडियो क्यासेटमा बजारमा आएको उक्त गीतले त्यतिबेला राम्रो व्यवसाय गर्न सफल भएको थियो । सो गीतका बजार व्यवस्थापक समेत रहनुभएका अम्बिका म्युजिक प्रा.लि.का ईश्वर शिवाकोटीका अनुसार सो गीत निक्कै चलेको थियो र राम्रो कमाइ गर्न सफल भएको थियो ।

रोशनी एक कुशल गृहणी पनि हुनुहुन्छ । उहाँले २०६८ सालमा काभ्रेका रमेश शिवशंकरसँग विवाह गर्नुभएको हो । उहाँले आफ्नो पति रमेशकै सहयोग, साथमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो दरर्बिलो उपस्थिति प्रस्तुत गर्दै आइरहनुभएको छ । रसाइली दम्पतीको एक छोरीसमेत हुनुहुन्छ । नेपाली समाज विवाहिता महिलालाई गीतसंगीतको क्षेत्रमा काम गर्न त्यति सहज नभएको धेरै उदाहरण छन् । धेरै गायिकाले विवाहपश्चात् आफ्नो पेशा छाडेर एउटा साधारण गृहिणीको रूपमा रहने गरेको तीतो यथार्थ भने रोशनीको जीवनमा लागू भएको छैन । उहाँलाई पति रमेश शिवशंकरले सांगीतिक करिअरका लागि हरपल साथ दिइरहनुभएको छ । आफ्नो श्रीमान्ले गीत गाउन विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन सदैव प्रोत्साहन गर्ने गरेको रोशनी बताउनुहुन्छ ।

रमेश पेशाले सिभिल इञ्जिनियर हुनुहुन्छ । उहाँ प्रायः आफ्नो पेशामा व्यस्त रहने भए पनि आफ्नो श्रीमतीको कला क्षेत्रका लगावलाई त्यतिकै साथ सहयोग पु¥याउँदै आउनुभएको छ । रोशनीले गीतसंगीतमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले पुरस्कार तथा सम्मान पनि प्रदान गरेका छन् । जसमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड-२०१७, ज्योति फिल्मस् प्रालिको कला सम्मान-२०२२, नेपाल चलचित्र निर्देशक समाजबाट कला सम्मान-२०२३ लगायत छन् ।

त्यसैगरी रसाइलीले साली भेना बोलको गीतबाट स्टार म्युजिक अवार्ड-२०७८, गर्छु माया गर्छु गीतबाट आठौं छायाँछवि तीज म्युजिक अवार्ड-०७८ लगायत अवार्ड प्राप्त गर्नुका साथै जिनियस म्युजिक अवार्ड-२०७८ सत्यावती मिडियाद्वारा आयोजित गायन प्रतिस्पर्धा कार्यक्रम-२०७५ र निम अवार्ड-२०२३ समेतमा उहाँ निर्णायकको रूपमा रही कुशल कार्यसम्पादन गर्नुभएको छ । गायिका रसाइलीले गीतसंगीतको विधाबाट मनोरञ्जन उद्योगमा पुर्‍याको योगदानवापत श्रीलंककाको राजधानीमा आयोजना भएको साउथ एसियन जीवनेश एक्सिलेन्सी अवार्ड-२०२१ बाटसमेत अवार्डेड हुनुभएको छ ।

श्रीलंककामा आयोजना भएको अवार्ड साउथ एसियाली देशहरूका विभिन्न विधामा काम गर्ने मानिसलाई प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको अवार्ड हो । रोशनीले गीतसंगीतको विधाअन्तर्गत यो अवार्ड जित्न सफल हुनुभएको हो । उहाँ नेपाली गीतसंगीत तथा कला संस्कृतिको प्रवद्र्धन गर्न खुलेका विभिन्न संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ । जसमा ‘नेपाल संगीत उद्योग संघ, राष्ट्रिय लोक तथा दोहोेरी प्रतिष्ठान, धौलागिरि सांस्कृतिक समिति, प्रस्तोता समाज, लोक तथा सांस्कृतिक संघ, चलचित्र तथा कलाकार श्रमिक संगठन’ लगायत छन् ।
रोशनी नेपाली गीतसंगीत क्षेत्रका लागि एक उम्दा पात्र हुनुहुन्छ । बाग्लुङबाट राजधानीसम्मको यात्रा र राजधानीमा आएर नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित हुनेगरेको उहाँको संघर्ष उदाहरणीय त छँदै छ, त्यसमाथि नेपाली समाजमा महिलालाई अघि बढ्न हुने विभिन्न खाले समस्याका बाबजुद उहाँ आज नेपाली सांगीतिक आकाशमा सफल गायिकाको रूपमा स्थापित हुनुहुन्छ ।

रोशनी नेपाली कला क्षेत्रमा प्रेरणादायी गायिकाको रूपमा चिनिनुहुन्छ । उहाँले गायनका माध्यमबाट थुप्रै सामाजिक कार्यमा समेत आबद्धता जाननउनुभएको छ । रोशनीले आफ्नो गायन विधामार्फत हुने कमाइको केही रकम विभिन्न अनाथ आश्रममा दानसमेत गर्ने गर्नुभएको छ । ‘मेरो कमाइको केही हिस्सा आवस्यक पर्ने मानिस तथा बालबालिकाका लागि खर्च गर्न पाउँदा असाध्यै खुशी छु, किनकी आजका ती कलिला बालबालिका भोलिका पुस्ताका सफल व्यक्तित्व हुन् । नेपालका भविष्य हुन्, थुप्रै मान्छेलाई यो कार्य प्रेरणा पनि होस् भन्ने मेरो चाहना छ’, रोशनी भन्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?