प्रा.डा.टीकाराम अधिकारीलाई सम्झँदा

Read Time = 10 mins

✍️ प्रतिभा शर्मा (रेग्मी)

प्रा.डा.टीकाराम अधिकारी मेरो नजरमा-बौद्धिक जगतका लागि परिचय दिइरहनुपर्ने नाम हो जस्तो लाग्दैन । म यो पनि भन्न चाहन्छु कि उहाको पार्थिव शरीरको अन्त्य भए पनि उहाँ मेरा लागि कहिल्यै पनि स्वर्गीय हुनुभएन । उहाँ मेरा लागि जीवित नै हुनुहुन्छ । उहाँका दर्जनौं सिर्जना, बैठक कोठामा सजिएका उहाँका सम्मानपत्रहरू, दराजको सेफको शोभा बढाएर तक्मा अनि बैठक कोठामा सजिएर रहेका छन् । मलाई यो भन्न कत्ति पनि लाज लाग्दैन कि उहाँकी कान्छी छोरी भए पनि मैले उहाँको कुनै पनि सिर्जना पढेकी छैन किनकि मेरो रुचिमा कथा र उपन्यास पर्दछन् । यद्धपि उहाँका सिर्जना, सिर्जना गर्ने क्रममा कहिलेकाहीँ भ्याइनभ्याई हुँदा भने म उहाँका पान्डुलिपिहरू वाचन गर्थें अनि उहाँ भने लेख्नुहुन्थ्यो ।

मैले उहाँका सिर्जना त पढिन तर मैले उहाँलाई नजिकबाट पढेँ, अनि बुझेँ । आमा विश्वेश्वरी अधिकारी स्थानीय विकास मन्त्रालयअन्तर्गत महिला विकास शाखामा फिल्ड अफिसर हुनुहुन्थ्यो । उहाँ महिनौं जिल्ला–जिल्ला आफ्नो अफिसको कामका सिलसिलामा जानुपथ्र्यो । त्यसैले हाम्रो बाल्यकालमा उहाँले बुबाको मात्र नभई आमाको समेत भूमिका निर्बाह गर्नुभयो । बिदाका दिन डंगुर लुगा निकालेर धुनुहुन्थ्यो । हामीले खाएका भाँडासमेत माझ्नु हुन्थ्यो । मेरो जन्म दिनमा घरमै समोसा बनाउनु भएको सम्झन्छु ।

भनिन्छ हरेक युवतीले पहिलो प्रेम आफ्नै बुबासँग गर्छन् अनि भावी श्रीमान्मा आफ्नै बुबामा भएका गुणहरू खोज्छन् । मैले पनि पहिलो प्रेम आफ्नो बुबासँग गरेँ । अनि भावी श्रीमान्मा उहाँमै भएका गुणहरू खोजेँ । लम्जुङ भोर्लेटार निवासी व्यावसायिक हरिप्रसाद रेग्मीलाई श्रीमान्का रूपमा पाएँ ।

पुस्तक प्रदर्शनीमा जाँदा हाम्रा लागि बालकथाका किताब ल्याउनु हुन्थ्यो । हिन्दी पुस्तकहरूमा भएका कथाहरू उल्था गरेर सुनाउनु हुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो घरमा आएर काम सघाउने दयालु मानिस पाइँदैनथ्यो । बरू एक पटक अनुभवी हजुरआमा अनि एकपटक स्कुल पढ्ने हाम्रै उमेरको भाइ सहयोग गर्न बसेको स्मरण छ । जसलाई माहिला फुपाजुले तारकाङबाट लिएर आउनुभएको थियो । ऊ खाना खाँदा अनि अरू बेला खुशी हुन्थ्यो जब भाँडा माझ्नुपथ्र्यो रुन थाल्थ्यो । त्यति बेला केही ज्ञान भएन । अहिले सोच्छु बालश्रम शोषण गरेछौं ।
भनिन्छ हरेक युवतीले पहिलो प्रेम आफ्नै बुबासँग गर्छन् अनि भावी श्रीमान्मा आफ्नै बुबामा भएका गुणहरू खोज्छन् । मैले पनि पहिलो प्रेम आफ्नो बुबासँग गरेँ । अनि भावी श्रीमान्मा उहाँमै भएका गुणहरू खोजेँ । लम्जुङ भोर्लेटार निवासी व्यावसायिक हरिप्रसाद रेग्मीलाई श्रीमान्का रूपमा पाएँ । जसमा मैले बुबामा भएका सबै गुणहरू पाएँ पनि । बुबा प्रा.डा.भएर पनि कहिल्यै प्रा.डा.पल्टिनु भएन । यही उहाँको वजनदार परिचय थियो ।

अत्यन्तै सरल उहाँ घरमा सदा लुङ्गी र गञ्जीमै बस्नुहुन्थ्यो । पुरानो र च्यतिएको कुनै चिज फ्याल्न रुचाउनु हुँदैनथ्यो । पुराना चिज फालौंभन्दा उहाँ प्रतिप्रश्न गर्नुहुन्थ्यो, ‘मान्छे पनि त पुरानो अर्थात् बुढो हुन्छ, च्यातिएको पनि हुन्छ के मान्छे पनि फाल्ने’ ? हामी अनुत्तरित हुन्थ्यिौं । उहाँ आफ्ना आवश्यकतामा कहिल्यै ध्यान नै दिनुहुन्न्थ्यो । उहाँ आफ्नो हाते ब्यागले घाम छेल्नुहुन्थ्यो । म उहाँका लागि छाता किन्थेँ । कहिलेकाहीँ च्यतिएको गञ्जी पनि लगाउनुहुन्थ्यो । म उहाँका लागि गन्जी किन्थेँ । पुरानो नोकियाको टिकटिके मोबाइल चलाउनु हुन्थ्यो मैले उहाँका लागि मोबाइल किनेँ । जुन उहाँको हातमा त पर्‍यो तर बिरामी भएका कारण चलाउन सिक्नुपूर्व नै उहाँको पार्थिव शरीरको अन्त्य भयो ।

दिनभरि नाति विलक्षणलाई खेलाउनु भएको उहाँ ‘लाउ, सन्तोष म थाकेँ भनेर खाटमा नातिलाई राख्नुभएको उहाँले आमासँग घँुडा दुख्यो भन्नुभएछ । दुःखेको ठाउँमा लगाउने तेल आमाले निकाल्न नपाउँदै वाक्क गरेर खाटमा ढल्नुभएछ । दुर्भग्य त्यसदिन बन्द परेकाले मुस्किलले ट्याक्सी खोजी नजिकैको सिभिल हस्पिटल लगियो । जहाँ उहाँको ब्रेन हृयाम्रेज भएको भनियो । त्यहाँ भेन्टिलेटर नभएकाले अन्तै रिफिर गरियो । अनि उहाँलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पताल लगियो । टाउकाको अप्रेसन तत्कालै गर्नुपर्ने भनियो र अप्रेसन गरियो पनि । तर, उहाँ होसमा नै आउनुभएन । उहाँले आफ्ना इच्छा र आकांछ्या मारेर जम्मा गर्नुभएको बैंक ब्यालेन्स नै महँगो अस्पतालको बिल तिर्नमात्र नभऐर उहाँको तेह्र दिनको काज किरिया गर्नमा समेत जोगाडमा आयो ।

त्यसो त उहाँकै पेन्सनले मेरा माइतीको चुल्हो बल्ने हुँदा माइती गएका बेला प्रत्येक अन्नको गाँसमा अनि चियाको चुस्कीमा उहाँलाई नै स्मरण गर्ने गर्छु । उहाँ ७०, ७२ वर्षको मानिस बानेश्वरदेखि कालिमाटी पुगेर ४, ५ धार्नी तरकारी हातमा बोकेर ल्याउनु हुन्थ्यो ताकि यो महँगीमा परिवारले पेटभरि तरकारी खान पाऊन् । बानेश्वर, पानीको अभाव भऐको ठाउँ आधा रातमा पानी आउथ्यो । गह्रौं न गह्रौं मोटर बोकेर पानी तान्न तल धारामा आफैं जानुहुन्थ्यो ताकि परिवार आनन्दसँग सुत्न पाऊन् । राति अबेला तरकारी केलाउने जिम्मा पनि उहाँकै थियो ।

कहिलेकाहीँ आमाले मसिनो चम्सुरको साग ल्याएर केलाउँदा केलाउँदा दिक्क भएर ‘यो रौं जस्तो साग किनेर ल्याउँछौ, तिमीहरू नै केलाओ’ पनि भन्नुहुन्थ्यो । आमालाई औषधि खुवाउने जिम्मा पनि उहाँकै काँधमा थियो । आमा कहिल्यै औषधि सम्झिएर नखाने, त्यसैले कहिलेकाहीँ आजित भएर ‘लौ आजदेखि म पनि खान्न औषधि, तिमी पनि आफैं खाऊ मलाई पनि तिमीले नै खुवाऊ’ भन्नुहुन्थ्यो ।
मैले उहालाई कहिल्यै खालि बसेको देखिन । केही न केही लेखिरहनुहुन्थ्यो । म पनि क्याम्पस अवस्थादेखि यसो कहिलेकाहीँ ससाना लेख लेख्थेँ र कतिपय लेखहरू प्रकाशित पनि भएका हँुदा सधैं मलाई ती लेखहरूको संकलन गरेर पुस्तक निकाल्न बारम्बार आग्रह गरिरहनु हुन्थ्यो । मलाई भने उहाँकै किताबहरू कोठामा बन्डलका बन्डल थुपारेका देखेर त्यतातिर कहिल्यै सोच नै आएन ।
अँजुलीभरिको प्यार हजुरलाई
कहिल्यै नभुल्ने मिठो याद हजुरलाई
हजुरले दिनुभएका नामको एक प्रतिशत भएनि बन्न सकूँ ।
हर दिनको मेरो मिठो सलाम हजुरलाई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?