खोटाङमा संम्भावित क्षेत्रका ६७ जनामा औलो परीक्षण

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । खोटाङमा औलो संम्भावित क्षेत्रमा औलो रोगको परीक्षण गरिएको छ । विश्व औलो दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकहरुमा औलो भए/नभएको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा सम्बन्धित नगरपालिकाको सहयोगमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामघाटस्थित दुधकोशी आधारभूत विद्यालयमा १६ जना पुरुष र २२ जना महिलाको आरडीटी प्रविधिबाट औलो परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ देखिएकोे जिल्ला स्वास्थ्य कार्यालय खोटाङका कार्यक्रम संयोजक जीवन चौलागाईले जानकारी दिनुभयो ।
जयरामघाटमा औंलो परिक्षण गर्नुअघि स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल, कार्यक्रम संयोजक चौलागाई, हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, स्वास्थ्य संयोजक प्रकाश घिमिरे, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयहरुको -याली निकालिएको थियो ।

औलो रोगबाट बच्ने उपायका बारेमा स्वास्थ्य कार्यालयका प्रमुख सिग्देल, कार्यक्रम संयोजक चौलागाईले स्थानीय नागरिकलाई जनचेतना दिनुभएको थियो । साथै, बैशाख महिना खोपको महिना भएकाले १६ महिनादेखि ५९ महिनासम्मका खोप छुटेका बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप दिलाउन समेत जिल्लाबासीलाई आग्रह गरिएको थियो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको तापाखेला आसपास साबालुङ गाउँमा १७ जना महिला र १२ जना पुरुषको औलो रोग परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिनुभयो ।

‘शुन्य औलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी’ नाराका साथमा मंगलबार विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस मनाईएको थियो ।

पोथी एनफिलिज लामखुट्टेको टोकाईबाट औलो लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेंलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
जयरामघाट आसपास लामखुट्टे भगाउने कीटनाशक औषधि छर्कन सुरु
जिल्ला स्वास्थ्य कार्यालय खोटाङले लामखुट्टे भगाउने कीटनाशक औषधि छर्कने हडसन पम्प वितरण गरेपछि जयरामघाट आसपासका घर वरीपरी कीटनाशक औषधि छर्कने काम सुरु गरिएको छ ।

विश्व औलो दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालयले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामघाटमा दुईवटा हडसन पम्प र १५० पोका अल्फासाइपरमेथ्रिन नामक किटनाशक औषधि दिएपछि औषधि छर्कने काम सुरु भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल र कार्यक्रम संयोजक जीवन चौलागाईले नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेलाई पम्प र किटनाशक औषधि हस्तान्तरण गर्नुभएकाे थियाे ।

नगरपालिकाको स्वास्थ्य शाखा मातहतमा रहेर बाहुनीडाँडा कदुवाका गणेश कुमार कार्की र हिरण खड्कालाई तालिम दिएर किटनाशक औषधि छर्कने जिम्मा दिईएको छ । कार्की र खड्काले अनमी पविता राईले तोकेका घर तथा घर आसपास किटनाशक औषधि छर्कनेछ ।

वयस्क लामखुट्टे नियन्त्रणको प्रयोगार्थ पम्प र किटनाशक औषधि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । वितरण गरिएको किटनाशक औषधि ३०० घरमा छर्कन पुग्छ । यो छर्केपछि औलो लगायत लामखुट्टेको टोकाईबाट हुने रोगबाट सुरक्षित बस्न सकिन्छ । सिग्देलले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?