झापामा ओलीमाथि आक्रमण प्रयास

घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै एमालेको आपत्ति

हिमालय टाइम्स
Read Time = 10 mins

झापा । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी हुनुभएका ओलीलाई बुधबार कालो झण्डा देखाइएको थियो । पहिचानवादीहरूले ओलीलाई कालो झण्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए । ‘कोशी प्रदेश चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरूले ओलीलाई कालो झण्डा देखाएका थिए । प्रहरीले पहिचानवादीहरूलाई सय मिटर वर नै रोकेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, एसपी दुर्गाराज रेग्मीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । ‘एक्कासि प्रदर्शनकारीले ढुंगा प्रहार गरे । ढुंगाले लागेर प्रहरीको टाउकोमा चोट लागेको छ । प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदीपनारायण राजवंशी घाइते भएका छन्,’ उहाँले भन्नुभयो । प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते कोशी राखिएको थियो । पहिचानमा आधारित नाम नराखेको भन्दै पहिचानवादीहरू आन्दोलनमा छन् ।

यसैबीच, प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले पार्टी अध्यक्ष सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले झापामा आयोजित कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने क्रममा अवाञ्छित गतिविधि गरिएको बताउनुभयो । पार्टीका कार्यक्रममा सहभागी हुन उहाँ झापा गएको र झापाको बुधाबारेमा आयोजित कार्यक्रममा सत्ता पक्षका राजनीतिक दलका कार्यकर्ताले त्यस्तो गरेको गिरीको आरोप छ । ‘भद्रपुर विमानस्थलबाट कार्यक्रमस्थल बुधबारेसम्म जाने क्रममा कार्यक्रम स्थलमा पुग्नै लाग्दा कार्यक्रम स्थलभन्दा बाहिर बसेर हाम्रो पार्टीको अध्यक्षलाई त्यहाँ बाहिरबाट होहल्ला गर्ने, कार्यक्रम बिथोल्नका लागि अवान्छित गतिविधि गर्ने, शान्ति भंग गराउने खालका गतिविधि भएका छन्,’ उहाँले भन्नुभयोे, ‘एमाले नेतृत्व कार्यक्रममा जाँदा ढुंगामुढा गर्ने, कार्यक्रम गर्न कोसिस गरिन्छ । अनेकन ढंगले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ । अशान्ति पैदा गर्ने कोसिस गरिन्छ र त्यसमा सत्ता पक्षकै कार्यकर्ता घुसपैठ गरिएको छ र सहभागी गराउने काम हुन्छ ।’ शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको गिरीको भनाइ छ । उहाँले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो । ‘मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्ता पक्षको हो कि होइन ? जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहनुपर्ने कुनै जरुरत छैन,’ उहाँले भन्नुभयो ।

अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामकरण विरोधीहरूले ढुंगामुढा गरेको बताउनुभयो । उहाँले उक्त घटना दुःखद भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउनुभयो । ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि बताउनुभयो । ‘प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रूपमा प्रस्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ । दुईजना प्रहरीहरू यस क्रममा घाइते भएका छन् । प्रहरीले आफ्नो भूमिका सकारात्मक रुपमा अगाडि बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सरकार संविधानको प्रभावकारी कार्यान्वयनको निम्ति दृढ छ । यो संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण रूपमा वैधानिक बाटोबाट आफ्नो विचार राख्न, आफ्नो विचारलाई लागू गर्ने प्रक्रियामा जनमत निर्माण गर्न छुट छ । त्यसको सरकार सम्मान गर्दछ । तर, कुनै पनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने, कुनै पनि नेता, कार्यकर्ता वा नागरिकहरूको शान्तिपूर्ण आवतजावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन,’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।

चौतर्फी घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ । बुद्धशान्ति गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायमान बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभएको छ । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उहाँले बताउनुभयो । ‘खेतको होस् या बारीको पाटो, सहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ’, ओलीले भन्नुभयो । उहाँले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह पनि गर्नुभएको छ । ‘साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ’, उहाँले भन्नुभयोे, ‘यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।’ उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीव्र बनाउन सबै कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष ओलीले मनमोहन अधिकारीको शालिकमा माल्यार्पण गर्नुभएको छ । २४औँ स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उहाँले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूको पनि उपस्थिति थियो । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?