काफल बेचेर पढाइ खर्च जुटाउँछन् विपन्न बालबालिका

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । पश्चिम म्याग्दीका विपन्न बालबालिकाहरुले मौसमी जंगली फल काफल टिपेर विक्री गरी वर्ष भरीलाई पुग्ने कापी,कलम,झोला र विद्यालय पोसाक किनेका छन् ।

धवलागिरि गाउँपालिका ७ धारापानीकी १४ वर्षिया उर्मिला परियारसँगै १३ वर्षका रोहन विक,सौगात थापा,लक्ष्मी परियार लगाएत आठ÷दश जना बालबालिकाहरु दरबाङ–धारापानी–ताकम–मुना सडकको छेउमा बसेर मौसमी फल काफल विक्रि गरी वर्ष भरीको पढाइ खर्च जुटाउने गर्नुभएको छ ।
पश्चिम म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकाका साथै बेनी नगरपालिकाको भकिम्ली,ज्यामरुककोट लगाएतका गाउँका विद्यालय उमेरका बालबालिकाले मौसमी फल काफल बेचेर पढाइ खर्च जुटाउने गरेका हुन् ।

गाउँका जङ्गल तथा भीर पाखामा फल्ने मौसमी फल टिपेर नजिकको बजार वा सदरमुकमसम्म ल्याई बिक्री गरेर उनीहरुले किताब, कापी, विद्यालय पोसाकलगायत वर्षभरीका लागि चाहिने शैक्षिक सामग्री खरिद गर्ने गरेका दरबाङ बजारका भीम सिउथानीले बताउनुभयो ।
नयाँ शैक्षिक सत्र सुरु हुने बेला अर्थात् वैशाख महिनामा नै गाउँघरका जङ्गल तथा पाखामा पाइने ऐँसेलु, काफल, चुत्रोलगायत मौसमी फल टिपेर बिक्री गरी पढाइ खर्च जुटाउने गरेका शनिवार ताकम पुग्नुभएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँले जानकारी दिनुभयो ।

“अग्ला रुखमा चढेर सकीनसकी झोलाभरी काफल टिपेर सडक छेउमा आइ विक्री गर्दा रहेछन्” बानियाँले भन्नुभयो “ऐंसेलु र काफल विक्री गरेको पैसाले वर्षभरीलाई पुग्ने कापी,कलम,विद्यालयको पोशाक र खाजा खर्च जुटाउँदा रहेछन्,उनीहरुको अवस्था देख्दा दया लागेर आयो ।”
जिल्लाका धारापानी,ताकम,मुना,ओखरबोट भकिम्लीको तोराखेत, ओखरबोट, रुम, काफलबोट, लगायत गाउँका बालबालिका ऐँसेलु, काफल टिप्न जङ्गल जाने गर्दछन् ।

उनीहरुले सङ्कलन गरेका फल नजिकको बजार, विद्यालय वा सडक छेउमा बसेर बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरीको पढाइ खर्च टार्ने गरेको तोराखेतका १४ वर्षीय प्रकाश घर्तीले बताउनुभयो ।

“वैशाख लागेयता चार हजार रुपैयाँको काफल र ऐँसेलु बेचेँ, त्यसैले किताब, कापी, कलम, झोला र विद्यालय पोसाक किनेको छु” भीम माध्यमिक विद्यालय देविस्थानमा सात कक्षामा अध्ययनरत घर्तीले बताउनुभयो ।

फुर्सद्को समयमा दरबाङ बजार रसडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु पाँच सयदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको देविस्थानका विरबहादुर घर्ती मगरले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?