एसिसी प्रिमियर कप : उपाधिका लागि नेपाल र युएई भिड्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । सेमिफाइनलको आ-आफ्नो खेलमा जित हात पार्दै दुवै टोलीले फाइनल भिडन्त पक्का गरेका हुन् । त्रिवि मैदानमा भएको कुवेतसँगको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको थियो । यस्तै, मूलपानीमा भएको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिका आधारमा दुई रनले हराउँदै युएईले नेपालसँगको भेट पक्का गर्‍यो ।

उपाधिका लागि नेपाल र युएईबीच सोमबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्रिवि क्रिकेट मैदानमा जितका लागि २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि खेल सम्भव नभएपछि नेपाल फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान नौ, परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट हुनुभयो ।

नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर पाँच विकेट तथा सोमपाल कामीले दुई ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिनुभयो । उहाँले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाउनुभयो । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । त्यस्तै, कुशल भुर्तेलले ४३ रन बनाउनुभयो भने आसिफ शेखले ३१ रन बनाउनुभयो । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहनुभयो ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिनुभयो भने सयद मोनिव र यासिन पटेलले समान एक-एक विकेट लिनुभयो । पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरिएको थियो ।

यस्तै, मूलपानीमा जितका लागि २३७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । युएई डकवर्थ लेविस पद्धतिका आधारमा तीन रनले अघि भएपछि दुई रनले विजयी भएको हो । ४३ औँ ओभरमा दुई विकेट गुमाउनु ओमानका लागि हारको कारण बन्यो ।

ओमानका कश्याप प्रजापति ४३ बलमा नौ चौकासहित ४९ रनमा आउट हुनुभयो । यस्तै, जतिन्दर सिंह ६५ बलमा ६ चौकासहित ४२ रनमा आउट हुनुभयो । शोएब खान १९, कप्तान जिशान मकसुद ४०, आयन खान एक र सन्दीप गौड चार रनमा आउट हुनुभयो ।

युएईका स्पिनर कार्तिक मयाप्पनले सात ओभरमा एक मेडनसहित ४२ रन खर्चेर तीन विकेट लिनुभयो । बसिल हमिदले दुई र जहरू खानले एक विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४९.२ ओभरमा २३६ रनमा अल आउट भएको थियो । युएईका ओपनर तथा कप्तान मोहम्मद बासिमले ३१ बलमा चार चौका र चार छक्कासहित ४८ रनको योगदान दिनुभयो । अनुभवी ब्याटर रमिज शाहजाद ५८ बलमा ६ चौका र एक छक्कासहित ४६ रनमा आउट हुनुभयो ।

ओपनर आर्यन लाक्रा ६८ बलमा एक छक्कासहित २५, वृत्य अरविन्द १८, रोहन मुस्तफा चार र आयन खान १० रनमा आउट हुनुभयो ।
ओमानका तीव्रगतिका बलर बिलाल खानले ९.२ ओभरमा ४४ रन खर्चेर चार विकेट लिनुभयो । स्पिनर जिशान मकसुदले १० ओभरमा ३२ रन खर्चेर चार विकेट लिनुभयो । आयन खानले १० ओभरमा ५४ रन खर्चेर दुई विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?