नयाँ एक्सचेन्ज कम्पनीका लागि समिति गठन

Read Time = 3 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटिज एक्सचेञ्जलाई अनुमति प्रक्रिया अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेञ्ज स्थापना गर्न दिएका निवेदन अध्ययन गरी बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्न मूल्यांकन समिति गठन गरेको छ । आइतबार बसेको बोर्ड सञ्चालक समिति बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्यांकन समिति गठन गरेको हो । गौतम धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ ।

समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक सहसचिव रितेशकुमार शाक्य, नेपाल राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् ।

समितिले स्टक एक्सचेञ्ज र कमोडिटिज एक्सचेञ्ज सञ्चालनका लागि परेका निवेदन मूल्यांकन गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्नेछ । बोर्डमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न हिमालयन स्टक एक्सचेञ्ज, नेसनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जले निवेदन दिएका छन् । कमोडिटिज एक्सचेञ्जका लाागि मल्टी डेरिभेटिभ एक्सचेञ्ज, मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेञ्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेञ्जले निवेदन दिएका छन् ।
मूल्यांकन समितिलाई धितोपत्रसम्बन्धी ऐन, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ र निर्देशिकाअनुसार बढी अंक प्राप्त गर्ने कम्पनी यकिन गर्दै बोर्डमा सिफारिस गर्ने अधिकार दिइएको छ ।

त्यस्तै ऐन, नियमावली र वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८ ले निवेदन मूल्यांकन गर्दै बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्ने जिम्मेवारी मूल्यांकन समितिलाई दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?