डेमागगहरूको भुलभुलैयामा नलागौं

Read Time = 17 mins

✍️ मणि शर्मा

राजनीतिमा एउटा शब्द छ डेमागग । जसको ठोस नेपाली अनुवाद छैन । यो प्राचीन रोमन शब्द भए तापनि अमेरिकामा डोनल्ड ट्रम्पको उदयपछि युरोपभरि फैलियो । २५ सय वर्षभन्दा पहिला एथेन्समा प्रजातान्त्रिक व्यवस्थाको स्थापना भएको मानिन्छ । यो युरोपेली भाष्य हो । जबकि वैदिक कालमा यो हिमवत्खण्डमा प्रजातान्त्रिक व्यवस्था भएको हामी धेरै उदाहरण पाउँछौं । युरोपेलीहरूले गणतन्त्रलाई नै प्रजातन्त्र भनेर भाष्य निर्माण गरेका हुन् र यही भाष्य हामीलाई निर्यात गरेका हुन् ।

राणा शासनलाई छोडेर लिच्छवि, मल्ल र शाहवंशको शासन व्यवस्था हेर्ने हो भने नेपालमा प्रजातन्त्र थियो थिएन जानकारी हुन्छ । जे होस्, एथेन्समा त्यस बेला नै जनतालाई मन पर्ने भाषण गरेर, उक्साएर, भड्काएर, समयानुकूल जनताको मनस्थिति हेरेर उत्तेजक भाषण गरेर, जनतालाई गुमराह गर्ने नेताहरूलाई डेमागग भनिन्थ्यो । हाम्रो नेपालमा २००७ साल देखि २०१७ सालसम्म र २०४६ देखि यता राजनीतिमा डेमागगहरूले अवतरण गरेका छन् । विदेशी शक्तिकेन्द्रहरूले बेला बेलामा यस्ता डेमागगहरू नेपाली राजनीतमा प्रयोग गर्ने गरेका छन् । २०४६ सालमा कांग्रेस र कम्युनिष्टलाई आफ्नो डेमागग बनाए जुन अद्यापि राजनीतिक रंगमञ्चमा छाएकै छन् ।

२०५२ सालदेखि यता माओवादी नामक समूह तयार पारेर उनीहरूलाई डेमागग बनाई जनताको भावनासँग खेलाई मुलुकमा ताण्डव मच्चाए । उनीहरूले खुद्रामा नेपालको भूगोलको विभाजन गरी भूगोल अनुसारको डेमागगहरू उत्पादन गर्ने गरेका छन् । मङ्गोल, किरात, आङ्काजी, उपेन्द्र महतो, सिके राउत आदि । ठूला डेमागगहरू ठूलै दलहरूमा आसिन छन् । पुराना डेमागगहरूको प्रयोग पूर्णनिष्कर्षमा पुग्ने नदेखेपछि र उनीहरूले मिति सक्किएका पात्रहरू भइसकेपछि रवि लामिछाने, स्वर्णिम वाग्ले जस्ता डेमागगहरू उत्पादन गरेका छन् जो जनताको भावनासँग खेल्न अत्यन्त सिपालु छन् वा पुराना डेमागगहरूलाई मात दिन सक्ने खालका छन् ।

जब जनताले माओवादी र तिनीहरूको सुप्रिमोहरूको चरित्र थाहा पाए उनीहरूलाई पत्याउन छोडे । कांग्रेस र एमालेले साथ नदिए माओवादी यो मुलुकमा दियो बालेर खोज्नुपर्ने अवस्था आउनेछ । पुराना डेमागगहरूको औचित्य समाप्त प्रायः भइसकेपछि रवि, स्वर्णिम जस्ता नयाँ डेमागगहरूलाई नेपालमा प्लान्ट गरिएको हो ।

डेमागगहरू न त राष्ट्रको हितमा कहिल्यै हुन्छन् न त जनताको हितमा । उनीहरू केवल मालिकको प्रतिनिधिको रूपमा यहाँ शासन गर्ने गर्छन् । अहिलेको उपचुनावको दृश्य र नतिजा हेर्दा आगामी दिन रवि लामिछानेहरू जस्ता डेमागगहरूको सुनौलो दिन हुनसक्ने अवस्था छ । डेमागगहरूले आफूलाई मसिहाका रूपमा प्रस्तुत गर्ने गर्छन् । रवि लामिछाने र स्वर्णिमको दलको उदयभन्दा पहिला माओवादी र त्यसको सुप्रिमो पुष्पकमल दाहालले आफूलाई यो देश र जनताको मसिहाको रूपमा प्रस्तुत गरेका थिए । विदेशी शक्तिकेन्द्रहरूबाट प्रायोजित सशसत्रयुद्ध नामक त्रासदीपूर्ण नाटकलाई जनताको युद्धको रूपमा परिभाषित गर्न सफल भएका थिए ।

तर, अहिले आएर जब जनताले माओवादी र तिनीहरूको सुप्रिमोहरूको चरित्र थाहा पाए उनीहरूलाई पत्याउन छोडे । कांग्रेस र एमालेले साथ नदिए माओवादी यो मुलुकमा दियो बालेर खोज्नुपर्ने अवस्था आउनेछ । पुराना डेमागगहरूको औचित्य समाप्तप्रायः भइसकेपछि रवि लामेछाने, स्वर्णिम वाग्ले जस्ता नयाँ डेमागगहरूलाई नेपालमा प्लान्ट गरिएको हो । डेमागगहरूले उत्तेजक नारा, मिठा शब्द, समसामयिक विषय, जनताको गुनासो आदिलाई अतिरञ्जित तरिकाले व्याख्या गर्दै जनताको आक्रोशको आगामा घ्यू थप्दै आफूतिर आकर्षित गर्न सफल हुन्छन् । उनीहरूले राष्ट्रको मौलिकतालाई स्थापना गर्न कदापि चाहँदैनन् ।

यही संविधान, यही व्यवस्थाभित्र रहेर आफूहरूले जनताको सबै समस्याको समाधान आलादिनको चिराग झैँ तुरुन्तै गरी दिने झुठो वाचा गर्छन् । यो शासन पद्धतिबाट आजित जनता उनीहरूको मनमोहक शब्दजालमा फसेर आफू र मुलुकलाई झन अन्धकारतिर लैजाने गर्छन् । उनीहरूको लक्षित समूह भनेको अशिक्षित, अर्धशिक्षित, कुनै न कुनै रूपमा अन्यायमा परेका र ठूला दलहरूमा आफ्नो भविष्य नदेखेका नवनेताहरू हुन्छन् । युक्रेनमा जेलेन्स्की जस्तो लोकप्रिय कमेडियनलाई पश्चिमा मुलुकले आफ्नो डेमागग बनाए झैँ अहिले रवि लामिछानेलाई नेपालमा डेमागग बनाएका छन् । जनताले यो कुरा बुझिसक्दा अबेला हुनेछ । डेमागगहरू अति शिष्ट र सरल भाषा जनता सामु बोल्छन् । आममानिसहरूको भाषा उनीहरू प्रयोग गरेर जनताको भीड आफूतिर तान्न सफल हुन्छन् । जनताले जे चाहेका छन् त्यही बोल्छन् । सत्तामा गएपछि उनीहरूको रूप फेरिन्छ, उनीहरू तानाशाह बन्छन् । रवि लामिछानेले चुनाव प्रचारका दौरान आफ्ना विरोधीसँग झगडा गरेर बोलेका धम्कीपूर्ण शब्दहरू एउटा तानाशाहभन्दा कम थिएन ।

उनका साइबर सहयोगीहरूले गरेका गालीगलौजलाई आफू जितेपछि माफी माग्ने नौटंकी गरेर आफ्ना विरोधीको पनि भविष्यमा साथ पाउने वातावरण बनाउने चेष्टा पनि गरे । डेमागगहरू नाटक गर्न सिपालु हुन्छन् । एमसिसीको प्रमुख प्रवक्ता अमेरिकन नागरिक भइसकेका स्वर्णिम वाग्ले जसको अमेरिकी नागरिक भएकी भियतनामी पत्नी र सन्तान अझै पनि अमेरिकन नागरिक छन् । के एउटा विदेशी नागरिक उनको परिवार नेपालप्रति बफादार हुन सक्छ ? तर जनताले उनलाई पत्याए । यही हो डेमागगहरूको कलाकौशल । पुराना डेमागगहरूबाट आजित भएकाले जनताले नयाँ डेमागगलाई रोजे । जे गरे तापनि हात भुंग्र्र्र्र्रोमै ।

डेमागगहरू देश र जनताका लागि अत्यन्त खतरनाक हुन्छन् । हामीहरूले हाम्रा डेमागगहरूको शासन भोगी सकेकाले त्यसबाट शिक्षा लिनुपर्ने हो तर हामी फेरि चुक्यौँ । डेमागगहरू आफूहरूलाई जनताको मान्छे भनेर देखाउन चाहन्छन् । डेमागगहरू क्रियामा जाने र हिंसा मन पराउने खालका हुन्छन् । २०४७ सालपछि नेपाली कांग्रेसको सुरुवाती चरित्र हेरे पुग्छ, एमाले र उसको सुप्रिमो ओलीलाई हेरे पुग्छ र माओवादीको दश वर्षको क्रुरतापूर्ण आतंकलाई हेरे पुग्छ । डेमागगहरूले प्रत्यक्ष रूपमा गरिब र निम्नमध्यम वर्गका जनता र सचेतनाहीन छरिएका जनताको भावनासँग झुठो आश्वासन दिएर खेल्न सिपालु हुन्छन् ।

त्यसैले यस्ता जनता उनीहरूबाट तत्काल प्रभावित हुने गर्छन् । उनीहरूले आफूहरूलाई सम्भ्रान्त वर्गको विपरीत आमजनताका छोरा भनेर देखाउने गर्छन्, उनीहरूले आफूहरू छुट्टै किसिमको मानिस हो भनेर देखाउन बेला बेलामा कानुन भंग पनि गर्छन्, कानुनको धज्जी पनि उडाउने गर्छन् । उनीहरूले आफूलाई चमत्कारिक, शालीन र छुट्टै व्यक्तित्व भएको मानिसको रूपमा देखाउने गर्छन् । आधुनिक प्रसिद्ध डेमागगहरूमा हिटलर, मुसलोनि, जोसेफ म्याकक्यार्थी, जेलेन्स्की आदि हुन् । शीतयुद्धकालका अमेरिकाका तत्कालीन सिनेटर म्याकक्यार्थीले जनतामा सोभियत संघ, चीन र कोरियन कम्युनिष्टहरूको डर पैदा गराएर उनीहरूको व्यापक समर्थन लिने गरेका थिए ।

उनी निरीह तथा निर्दोषहरूलाई समेत कम्युनिष्ट र कम्युनिष्टको सुराकी भनेर आफ्नो दुनो सोझे पार्ने गर्थे । शीतयुद्धको समय थियो जनता पत्याउँथे तर उनले सिनेट समितिमा आरोपित गरेका कम्युनिष्ट सुराकी वा गुप्तचरको बारेमा कुनै प्रमाण दिन सकेनन् । मध्यावधि चुनावमा उनको दल रिपब्लिकन पार्टीको पराजय भयो र यसको छानविनका लागि बनाइएको समितिमा उनलाई अध्यक्ष बनाइयो । जहाँ उनको क्रियाकलापको घोर भत्र्सना गरियो । उनी आफ्ना सहकर्मीबाट अपमानित तथा उपेक्षित भएपछि आफ्नो दोस्रो कार्यकाल पूरा नगर्दै उनको मृत्यु भयो । डेमागगहरू कदापि सफल हुँदैनन् । एक न एकदिन उनीहरूको वास्तविकता जनताले बुझ्नेछन् । हिटलर आत्महत्या गर्न बाध्य भए, मुसोलोनि जनताबाट मारिए । डेमागगहरूको अन्त्य दुःखद् नै हुनेगरेको छ ।

रवि लामिछाने, स्वर्णिम वाग्लेहरू र उनीहरूको दल यही व्यवस्थाको हिमायती हुन् । धर्मनिरपेक्षता र गणतन्त्र उनीहरूलाई औधी मनपर्छ । चर्चको घण्टी उनीहरूको चुनाव चिहृन हो तर चुनावको बेला मन्दिर मन्दिर धाउँछन्, निधारमा रातो टीका लगाउँछन् ।

रवि लामिछाने, स्वर्णिम वाग्लेहरू र उनीहरूको दल यही व्यवस्थाको हिमायती हुन् । धर्मनिरपेक्षता र गणतन्त्र उनीहरूलाई औधी मनपर्छ । चर्चको घण्टी उनीहरूको चुनाव चिहृन हो तर चुनावको बेला मन्दिर- मन्दिर धाउँछन्, निधारमा रातो टीका लगाउँछन् । महाभारतका धर्मयुद्धमा पनि निरपेक्षवादीको पराजय भएको थियो । युद्धमा दुर्याेधनले श्रीकृष्णको नारायणी सेना मागे र पाण्डवले एक्लो श्रीकृष्णलाई । त्यसपछि बलरामलाई सोधे उनी कतातिर लाग्ने । बलरामले आफू निरपेक्ष बस्ने भने । उनले भने पाण्डव मेरो नातेदार हुन र दुर्योधन मेरो शिष्य । त्यसैले म दुवैतिर लड्न सक्दिन । दुवैतिर मेरा आफन्त छन्, म तटस्थ बस्छु ।

हो, निरपेक्षता भनेको यही हो र महाभारतको धर्मयुद्धमा निरपेक्षताको परिणाम के भयो सबैलाई थाहा छ । बलरामले दुर्योधनलाई बचाउन चाहेका थिए, त्यसैले आफ्नो नियम लगाए । बलरामले आफ््नो नियम थोपरे पछि श्रीकृष्णले उनलाई युद्धस्थलमा प्रवेश निषेध गरिदिए । कृष्णले उनलाई भने, जब धर्म तथा अधर्मको युद्ध चलिरहेको थियो तपाईं कहाँ हुनुहुन्थ्यो ? जब धर्म अधर्मको युद्ध हुनेवाला थियो तपाईं कतातिर हुनुहुन्थ्यो ? जब धर्म स्वयं आफ्नो रक्षाको लागि बोलाइरहेको थियो तपाईं तटस्थ रहने निर्णय गर्नुभयो । जब आज युद्धको परिणाम आइरहेको छ तब तपाईं युद्धमा कुन आधारमा हस्तक्षेप गरिरहनु भएको छ । जब सम्पूर्ण युद्धमा तपाईं युद्धभूमिमा हुनुहुन्नथ्यो, कतै यात्रामा निस्कनुभएको थियो र आज युद्धको अन्तिम समयमा तपाईं युद्धमा आफ्नो नियम चलाइरहनु भएको छ ?

बलराम त्यहाँबाट चुपचाप हिँडे, फर्केर हेरेनन् । धर्मको विजय भयो । यस युद्धमा केवल अधर्मले मात्र हारेको थिएन धर्म निरपेक्षता पनि हारेको थियो । जब-जब चुनाव आउँछ, तब तब यो व्यवस्थालाई मन नपराउने असंख्य जनताले धर्मको पक्षमा मत नदिएर अधर्मलाई विजय गराउँछन् र बाँकी समय धर्मनिरपेक्षता र यो व्यवस्थाको विरोधमा आफ्ना दिनहरू खर्चिन्छन् । धर्मको विजय ढिलो चाँडो अवश्याम्भी छ । जब ढिलो चाँडो धर्मको विजय भएर नेपाल सनातन धर्म सापेक्ष अधिराज्य बन्नेछ तब धर्म निरपेक्षतावादीहरूलाई भोट दिनेहरूले कुनमुखले यो जित हाम्रो पनि हो भनेर भन्न सक्लान् ?

धर्म युद्ध केवल चुनावमात्र होइन । धर्म मात्र शास्त्र पनि होइन शस्त्र पनि हो । हामीले इण्डियाको उत्तर प्रदेशलाई हेरौँ, जहाँ एउटा योगीले एक हातमा शास्त्र र अर्को हातमा शस्त्र लिएर धर्मविरोधी तत्व र माफिया, डनहरूको राजनीतिलाई कसरी समाप्त पार्दैछन् । सनातन धर्मावलम्बीहरूले एक हातमा शास्त्र र अर्को हातमा शस्त्र लिएर सनातन धर्म सापेक्ष अधिराज्य पुनःस्थापना गर्न लाग्नुपर्छ । सधैं डेमागगहरूको भुलभुलैयामा लाग्नु हुँदैन । धर्म रोज्ने कि अधर्म, श्रीकृष्ण रोज्ने कि नारायणी सेना, बलराम बन्ने कि युयुत्सु वा शकुनी बन्ने, जो भौतिक रूपमा कौरवतिर भएर पनि मानसिकरूपमा पाण्डवतिर भएर कौरवलाई पराजित गराएका थिए ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?