सच्चिने कि सक्किनेको विमर्श

हिमालय टाइम्स
Read Time = 10 mins

नेपाली राजनीतिमा ‘सच्चिने कि सक्किने’ भन्ने शब्दको प्रयोग अत्यधिक हुनलागेको छ । हिमालय टाइम्स राष्ट्रिय दैनिकका स्तम्भ लेखक प्राध्यापक देवीभक्त ढकालले केही महिना पहिले यो शब्दलाई नेपाली कांग्रेससहित पुराना राजनीतिक दल र त्यसको नेतृत्वमाथि टिप्पणी गर्ने क्रममा यस शब्दलाई गम्भीररूपमा प्रस्तुत गर्नुभएको थियो । यतिखेर सामाजिक सञ्जालमा जोडिनुभएका अनेक व्यक्तित्वहरूको तर्क र प्रश्नका रूपमा ‘सच्चिने कि सक्किने’ शब्दावलीको भरमा प्रयोग भएको देखिन्छ । यद्यपि ‘सक्किने कि सच्चिने’ विषय सर्वत्र आकर्षणको केन्द्रमा हुन्छ । जुन स्थानमा तिरोहित भएर विषयवस्तु स्खलित हुँदै जान्छन् ती प्रत्येक स्थानमा ‘सच्चिने वा सक्किने’ विकल्पबाहेक अरू केही रहँदैन । अहिले यो शब्दावली नेपालको लोकतान्त्रिक आन्दोलनको मूल मियो नेपाली कांग्रेस, नेपाली साम्यवादी आन्दोलनको मूलधार एमाले र सहधारजस्तो रहेको नेकपा माओवादी केन्द्रलाई लक्ष्यित गरी ‘सक्किने र सच्चिने’को प्रयोग भइरहेको देखिन्छ ।

‘सच्चिने कि सक्किने’ भन्ने हरेक व्यक्तिहरू सबै पुराना राजनीतिक दलका शुभेच्छुक नहोलान् । तीमध्ये कतिपयको आशय पुराना दलहरू र पुरानो नेतृत्व सक्किऊन् भन्ने पनि होला । तर सबैले पुराना दलहरूको पूर्ण अवशान हुनुपर्छ भन्ने आशय राखेको हो भन्न किमार्थ सकिँदैन । सायद पुराना दल र नेतृत्वले सम्बद्ध राजनीतिक दल, त्यस दलले वरण गरेको विचार- चिन्तनलाई मर्न दिनु हुँदैन भनेर नै चिन्ता प्रकट गरेको हुनुपर्छ । नेपाली राजनीतिमा विचारको मृत्यु हुनलागेको छ, सिद्धान्तको समाधि बन्न लागेको छ । सत्ता राजनीति र रणनीतिको वर्चस्व छ । सत्ताकै लागि अनेक चमत्कारहरू भइरहेका छन् र चमत्कारको आकर्षण व्याप्त छ । एकातिर चमत्कारको आकर्षण व्याप्त छ, अर्कातिर स्वयंभू चिन्तनको प्राचूर्य । शक्तिको उचाइ छुँदै पद र अधिकारको चास्नीमा डुब्नेहरू साना-ठूला जोसुकै पनि स्वघोषित भगवान् जस्ता लाग्दछन् ।

उनीहरूको स्वभाव, आचरण, व्यवहार आमनागरिकसँग, नागरिकको संवेदनासँग साक्षात् हुनसकेको छैन । टपर्टुय्याँ व्यवहारले ती सबै ग्रस्त छन् । लोकतान्त्रिक मूल्यले मानवीय संवेदना र विवेकको पक्षपोषण कुन रूपमा गर्नुपर्ने हो भन्ने यथार्थतालाई पुरानो दलका पुराना र नयाँ जिम्मेदारहरू कसैले अनुभव गरेको पुष्टि भएको छैन । क्रमशः दलीय चरित्र र अनुशासन स्खलित हुँदै अराजकतामा रूपान्तरित भएको अवस्था छ । त्यही पतनशील दलीय चरित्र र अराजकताको सानो प्वालबाट फुत्त छिरेर आयामिक नवीनधारहरू जन्मन लागेका छन् । यसैकारण ‘सच्चिने र सक्किने’ विकल्पमाथिको बहस पनि यसैमा केन्द्रित भएको हुनुपर्छ ।

यही वैशाख १० गते संघीय प्रतिनिधिसभाका तीन स्थानका लागि सम्पन्न उपनिर्वाचनमा एक वर्ष पनि नपुगेको राजनीतिक दलले अद्भूत आकर्षणकासाथ तरंग पैदा गरेपछि त ‘सच्चिने कि सक्किने’ विचार हरेकका मुखबाट प्रकट हुनेगरेको छ । यो प्रश्न महत्वपूर्ण छ, यस प्रश्नमा बहस हुनु जरुरी छ । एउटा चर्चित पत्रकारले समाजमा विद्यमान् कमजोर चरित्रमाथि आक्रामकशैलीमा गरेको कार्यक्रमको परिणाम आमनागरिकमा यतिविधि घृणा, द्वेष, प्रतिशोध, अराजकता अनि आशा र भरोसा एकै पटक जगाउँछ र राजनीतिको शिखरमा उपस्थित गराउँछ भनेर कसैले पनि नसोचेको विषय थियो । हुन त कोही क्रिकेटमा, कोही फुटबलमा, कोही सिने कलाकारका रूपमा चर्चा पाएपछि त्यो चर्चा र लोकप्रियतालाई राजनीतिको शिखरमा पुग्ने सिँढी बनाएका अनेक उदाहरण छन् । नकारात्मकताले पनि राजनीतिले शक्ति प्रदान हुनसक्छ । निर्दलीय पञ्चायकालमा भएको चुनावमा त्यस्तो नकारात्मक जनमतबाट शक्तिमा पुग्ने भाग्यमानीहरूमा काठमाडौंबाट अनेक हस्तीहरूलाई पराजित गरी विजयी नानीमैया दाहालको नाम अग्रस्थानमा आउने गर्छ । त्यसपछि झापाका पुहातु चौधरी, मोरङका उमेशजंग थापाको पदारोहण उदाहरण बन्नसक्छ । तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उत्पन्न गरेको तरंगलाई नानीमैया, पुहातुहरूसँग तुलना गर्नु राजनीतिक बेइमानी हुनेछ । एक वर्ष नपुगेको कुनै राजनीतिक दलले आमनिर्वाचनका समय २० स्थानमा विजय प्राप्त गरी तहल्का मच्चायो र केही महिनाको अन्तरमा सम्पन्न उपनिर्वाचनमा ठूला दलहरूलाई धूलो चटायो भने त्यसमा केही गुण छन् भनेर मान्नुपर्ने हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष आफैंले कानुनविपरीत कार्य गरेको पुष्टि भएपछि चितवन-२ को संसद् पद रिक्त भएको थियो । रवि लामिछाने सक्रिय पत्रकार भए पनि उहाँको कुनै राजनीतिक पृष्टभूमि थिएन । उहाँले नेपाली नागरिकता परित्याग गरी अमेरिकी नागरिक भएर प्रतिज्ञाकासाथ उतैको नागरिकता लिएको र नेपाली नागरिकता पुनः प्राप्त नगर्दै विधि आवश्यक पर्ने अनेक काम गरेको निकै वर्ष भएको थियो । तर उहाँको राजनीतिक यात्रा तय भएपछि यसबारेको विवाद उत्कर्षमा पुग्यो र अदालतले उहाँको पदसमेत खारेज गर्‍यो । रविमा कुनै हीनताबोध र लज्जाबाध भएन । उल्टै डा.स्वर्णिम वाग्ले जस्ता युवाहरू रविसँग जोडिन पुग्नुभयो र रविमा नेपालको लोकतान्त्रिक राजनीतिको भाष्यकार बीपी कोइरालाको जस्तै सक्रियता देख्नुभयो । वास्तवमै यसलाई चमत्कार नै भन्नुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसको गढ मानिने तनहूँ-१ र नेपाल कम्युनिष्ट पार्टी एमालेको लामो समयदेखि वर्चस्व क्षेत्र चितवन-२ मा आश्चर्यजनक जनसमर्थन प्राप्त गर्‍यो ।

तनहूँ-१ त वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले निरन्तर विजय हासिल गरेको क्षेत्र हो । स्वर्णिम वाग्ले जस्ता नयाँ युवाले पौडेलको पुरानो विरासतमाथि यसरी कब्जा जमाएको हुनाले नै अहिले ‘सच्चिने कि सक्किने’ नारा चर्को हुनपुगेको हो । लोकतान्त्रिक बहुदलवाद र बहुदलीय राजनीतिक प्रणालीमा जय-पराजय स्वाभाविक हुन्छ । तर स्वर्णिमको विजय र रविको पुनरोदयले राजनीतिमा स्थापित कतिपय सूत्रहरूलाई निस्तेज पारेको अवस्था छ । वास्तवमै पुराना राजनीतिक दल, तिनको नेतृत्वमा काई झै जमेका नेता, तिनीहरूको स्वभाव, आचरण र व्यवहार सुधार नहुने हो भने मानिसहरूले दिएको चेतावनी र नवोदित दलले दिएको चुनौती प्रमाणित हुनेछ । तर प्रश्न उठ्छ : के पुराना दल नेताहरूको मात्रै विर्ता हो र ? पुरानाहरू बिग्रिए भने नयाँ दल आउनु खतरापूर्ण हुने हो र ? यद्यपि नयाँ दलका रूपमा आउने नेतृत्वसँग सिद्धान्त, लक्ष्य, विचार र विधि स्पष्ट हुनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?