ओलीको प्रश्न : केही गर्न नसक्ने सरकार किन बसिरहेको छ ?

'फोहोर उठाउँदिन भन्दा पनि सरकार निरीह भएर बसेको छ'

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भिर नभएको ओलीको भनाई थियो । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकीर गर्नु भयो । ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी नेपाली जनता यतिबेला गम्भिर हुनुपर्ने अवस्थामा आएका छौं । अहिले चौंतर्फी ढंगले अनेक प्रकारका तत्वहरु, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरुको विरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन । कोहीकोही दुलाबाट फुत्त निस्केलानकि जस्तो गरेर दुलोबाट मुसोले विरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन । नेपाली जनता सजग हुनु पर्दछ । र, अहिलेको सरकार सरकारमा किन बसीरहेको छ ? जनताले हटाउन सकिराखेका छैनन् । त्यो आफ्नो ठाउँमा छ । तर सरकारनै किन बसीराखेको छ ? अचम्म लाग्दो छ किन बसीराखेको छ ? केही पनि गर्न नसक्ने सरकार । सिंहदरबारको फोहोर उठेन भन्यो । एउटाले फोहोर उठाउदिन भन्यो । उसले उठाउने नै होइन । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नै होइन । सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ । अनि महानगरले उठाउन्न भन्यो । त्यसले उठाउने नै होइन सरकार भन्न सक्दैन । सरकारले लगाएको ठेकदारले उठाउन थपक्क छोड्यो । किन उठाउन छोड्यो ? ठेकदारले के सिंहदरबारमा फोहोर थुपारेर रोग फैल्याउन पाईन्छ ? कुनै प्रकारको षडयन्त्र गर्न पाईन्छ ? यहाँ फोहोरमाथि राजनीति गर्ने प्रपञ्च भईराख्या छ । जनतालाई पीरमर्का पार्ने काम भईराखेको छ । सरकार निरिह छ । केही गर्दैन । सहरी विकास मन्त्रालयलेनै ठेक्का लगाएर त्यहाँको फोहोर उठाउने काम भईरहेका छन् । त्यहाँ ठेक्का लिने ठेकदारले अन्यत्र पनि फोहोर उठाउने काम गरिराखेको छ । जनतालाई थाहा छैन । अनेक प्रकारका खेलहरु, सबै कुरा अस्वस्थ, गलत क्रियाकलाप अन्तरगत गलत उद्देश्यका साथ भईराख्या छ । जसले उठाउने नै होइन, उसले किन भन्छ–म त्यहाँको फोहोर उठाउदिन भनेर । जसले उठाईराखेकै छैन । कसरी भन्छ ? सरकार किन भन्दैन–उसले उठाउने गरेकै छैन भनेर । उसले उठाउन्न भन्ने वित्तिकै ठेकदारले किन उठाउँदैन ? यस्तो कुरामा सरकारले जनतालाई गुमराहमा पारिरहेको छ । त्यसको पछाडिको कारण त्यो ठेकदारसँगको सरकारी सम्बन्ध के हो ? यसको खोजी गर्नुपर्ने अवस्था बन्दैछ । के हो सम्बन्ध ? देश यस्तो गम्भिर अवस्थामा छ । तर, सरकार यो गम्भिरतालाई बुझिराखेको छैन । यस गम्भिरतामा चलिराखेको छैन । यो बहुतै चिन्ताको विषय आज बनिराखेको छ ।’

त्यस अवसरमा ओलीले श्रमिकहरुबीच फाटो ल्याउने प्रयास फेरी पनि भईरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढन सबै मजदुरहरुलाई एकतावद्ध हुन आह्वान गर्नु भयो । मजदुरको हक, हित र उनीहरुको जायज माग सम्बोधन गर्न उनीहरुको बीचको एकता सबैभन्दा ठूलो बल भएको उहाँले स्मरण गराउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?