सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताउनुभएको छ ।

सोमवार प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताउनु भयो । उहाँले महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यस्ताे होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु ।’

प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उहाँले बताउनु भयो । उहाँले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र काँग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताउनु भयो ।

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताउनु भयो । उहाँले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?