सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गर्दै खजुरा गाउँपालिका

हिमालय टाइम्स
Read Time = 5 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । खजुरा गाउँपालिकाले सेवाग्राहीहरुको सन्तुष्टि सर्वेक्षण थालेको छ । गाउँपालिकाले प्रवाह गरिरहेको सेवा प्रवाहमा नागरिकको सन्तुष्टिको अवस्था बुझ्नको लागि सर्वेक्षण थालिएको हो । उक्त सर्वेक्षण अनलाइनमार्फत मापन गरिने गाउँपालिकाले जनाएको छ । सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम मार्फत नागरिकको सुझाव लिन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
अनलाइनमार्फत गरिने प्रवेक्षणमा नागरिकले भोग्नुपरेका समस्यादेखि आगामी दिनमा गर्नुपर्ने कामको लागि सुझावसमेत समेटिनेछ । उहाँले हाल पालिकाले प्रवाह गरिरहेको सेवा प्रवाहका विषयमा सेवाग्राहीहरु कत्तिको सन्तुष्ट छन् भन्ने जानकारी दिने सर्वेक्षणको उद्देश्य रहेको बताउनुभयो । सर्वेक्षणको लागि फाराम तयार गरिएको बताउनुभयो । गाउँपालिकाले विकास गरेको सर्वेक्षण फाराममा नागरिकले आफ्ना समस्या राख्नेछन् ।

‘हामीले सेवा परिक्षण गर्नुपर्छ । जनता सन्तुष्ट छन् की छैनन् भन्ने हाम्रो मूल चासो रहनुपर्छ । गाउँपालिकाको सेवा सुधारका लागि यो काम गरिएको हो ,’ उहाँले भन्नुभयो । सर्वेक्षणका अन्त्य विधिहरु भएपनि प्रविधिको प्रयोग गर्दै र खर्च व्यवस्थापनका लागि अनलाइनमार्फत सांकेतिक रुपमा सर्वेक्षण सुरु गरिएको उहाँको भनाइ छ ।

सर्वेक्षण पश्चात सेवा प्रवाह सुधारका लागि योजना निर्माण गर्न सहज हुने गाउँपालिकाको अपेक्षा छ । एक सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ,‘खजुरा गाउँपालिकाको कार्यालायले नागरिक प्रतिको सेवा प्रवाहलाई प्रभावकारी बनाउन गुगल फरमेटबाट नागरिक सेवाप्रवाहको सन्तुष्टि सर्बेक्षण गरि सेवा प्रवाहमा आवश्यक सुधारको योजना बनाएको छ । यहाँहरुले यो लिन्क क्लिक गरी गुललमा गै त्यँहा राखिएको फारम भरी आवश्यक सुझाव दिन सक्नु हुनेछ ।’ फारममा ११ वटा प्रश्न समावेश गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाले सेवाग्राहीको सन्तुष्टि मापन सुरु गरेको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीमैत्री कार्यसम्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सुझाव संकलन थालिएको हो ।

सर्वेक्षण फाराममा सेवा प्राप्त गर्दाको सहजीकरण शैली, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको जवाफ लिने, त्यसैगरी सेवा प्रवाहमा कर्मचारीले दिने आवश्यक सूचनाको स्पष्टता, सेवा प्रक्रिया र समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयसमेत रहेका छन् । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि मौलिक सुझाव पनि दिन उनले सम्पूर्णलाई आग्रहसमेत गरेका छन् ।

उहाँले बताउनुभयो, ‘यो सेवा प्रवाहको अवस्था मापन प्रक्रिया हो । यसबाट प्राप्त सुझाव र मार्ग निर्देशनका आधारमा हामी अघि बढ्नेछौँ । यसबाट हामीलाई सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्नेछ । प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित सेवा प्रवाहमा सघाउ पुग्नेछ ।’ पहिलो चरणमा यो फारम एक साताका लागि लागू हुनेछ । सहभागीता र मागका आधारमा फारम गर्न सकिने समयवधि थप गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?