फिलिपिन्स सैन्य मञ्चन गर्ने स्थल बन्ने छैन : राष्ट्रपति मार्कोस

Read Time = 4 mins

मनिला । फिलिपिनी राष्ट्रपति फर्डिनाण्ड मार्कोसले उहाँको अमेरिका भ्रमणका क्रममा अमेरिकी समकक्षी जो बाइडेनसँग सोमबार हुने भेटवार्ता अघि फिलिपिन्सलाई सैन्य कारबाहीका लागि ‘स्टेजिङ पोष्ट’ बन्न नदिने बताउनुभएको छ । फिलिपिन्स र यस क्षेत्रका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो आक्रामकता र विवादित पानी, टापुहरू र किनारहरूमा चीनको व्यापक दाबीको सामना गर्न चाहन्छन् । यसैका लागि मनिलाले हालै वासिंटनलाई थप फिलिपिनी सैन्य अखडाहरूमा पहुँच प्रदान गरेको छ ।

‘फिलिपिन्सलाई अन्य कुनै पनि देशले संलग्न गराउने कुनै पनि उत्तेजक कार्यलाई हामी प्रोत्साहन गर्ने छैनौं’, मार्कोसले आइतबार वासिंटन जाने क्रममा विमानमा पत्रकारसँग भन्नुभयो । ‘हामी फिलिपिन्सलाई कुनै पनि प्रकारको सैन्य कारबाहीका लागि ‘स्टेज पोष्ट’को रूपमा प्रयोग गर्न दिने छैनौं ।’

फिलिपिन्सको तटरक्षक बलको जहाजसँग ठोक्किएपछि दक्षिण चीन सागरमा ‘उत्तेजक र असुरक्षित आचरण’ रोक्न अमेरिकाले चीनलाई आग्रह गरेपछि मार्कोसको यो भ्रमण हुन लागेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले शनिबार भन्नुभयो, ‘हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट अलग रहन आग्रह गर्दछौं । मनिला र वासिंटनबीच सन् १९५१ मा भएको पारस्परिक प्रतिरक्षा सम्झौता छ ।

‘अप्रिल २३ को घटना दुवै पक्षको हताहती निम्त्याउन सक्ने दुर्घटना नजिकको घटना थियो, फिलिपिन्सको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा मार्कोसले भन्नुभयो, ‘हामी यही कुराबाट बच्न चाहन्छौं’, उहाँले थप्नुभयो ।

फिलिपिन्सका नेताले यसै वर्षको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण चीन सागरमा अतिव्यापी दाबीसँग सम्बन्धित विषयमा ‘प्रत्यक्ष सञ्चार संयन्त्र’ स्थापना गर्न भएको सहमतिलाई पालना गर्न चीनलाई आग्रह गरेका छन् ।

मार्कोसका अनुसार मनिलाले आफ्नो टोली गठन गरेको छ भने बेइजिङले यस सम्बन्धमा अझै कुनै कदम चालेको छैन । बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई ‘बेवास्ता’ गरेको छ ।

मार्कोसले चीनलाई समुद्रमा फिलिपिन्सको अधिकारकुण्ठित हुन नदिने बताउँदै आउनुभएको छ र रक्षा सम्बन्धलाई मजबुत बनाउन अमेरिकातर्फ आकर्षित हुनुभएको छ । गत महिना फिलिपिन्सले चारवटा सैन्य अखडाको पहिचान गरेको थियो, जसमा पाँचवटा विद्यमान स्थलका अतिरिक्त अमेरिकी सेनाको पहुँच हुनेछ । जसमध्ये एउटा विवादित स्प्राट्ली टापु नजिक र दुईवटा ताइवानको सामना गर्नुपर्ने छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?