नेपालकी शन्नी शाहीलाई मिसेस युनिभर्समा लोयल अवार्ड

Read Time = 3 mins

काठमाडौं । हाल बेलायतमा बस्दै आउनुभएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हासिल गर्नुभएको छ । केही महिनाअघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उहाँ हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी हुनुभएको थियो ।

विवाहित महिलाहरूको सोही अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुम्नुभएको हो । उहाँ नेपालको प्रतिनिधित्व गर्दै सो सौन्दर्य प्रतियोगितामा सहभागी हुनुभएको थियो । ४०औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिलाहरू प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा नेपालकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’को टाइटल जित्नुभएको हो । मिसेसहरूबाट नेपालले यति ठूलो उपाधि जितेको यो नै पहिलो भएको उहाँको कथन छ ।

बेलायतबाटै उहाँले मिसेस युनिभर्स २०२२ मा सहभागी हुने अबसर पाउनुभएको थियो । ‘शीर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएको थिएँ । शीर्ष नभए पनि एउटा टाइटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु’, शन्नीले भन्नुभयो ।

अन्तर्राष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट यतिबेला काठमाडौं आउनुभएकी उहाँ नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम् बाँसुरी खलबाट सम्मानित पनि हुनुभएको छ । लण्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शीर्ष उपाधि जित्नुभएको थियो ।

अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुम्नुभएको हो । काठमाडौंको असनमा जन्मिनुभएकी उहाँ ब्युटी एक्सपर्ट पनि हुनुहुन्छ । उहाँको लन्डनमा ब्युटीसम्बन्धी व्यवसाय छ । दुई छोरीकी आमा शन्नी विवाहपछि पनि महिलाहरूले आफूले चाहेको सफलता हासिल गर्न सक्छन भन्नुहुनछ । उहाँ मनोविज्ञानको विज्ञ पनि भएकाले मानसिक स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?