पूर्वराजाविरुद्ध खनिँदै ओली-प्रचण्ड

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरी प्रमुख दलका शीर्ष नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध खनिन थालेका छन् । नागरिक अभिनन्दन लगायतका नाममा जनतामाझ गइरहेका पूर्वराजा शाहप्रति प्रमुख दलका शीर्ष नेताहरू एकपछि अर्को गरी आक्रोश व्यक्त गर्न थालेका हुन् । केही दिनदेखि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ज्ञानेन्द्रविरुद्ध खनिइरहनु भएको छ । झापामा ओली सहभागी एक कार्यक्रममा ढुंगामुढा भएपछि उहाँ ज्ञानेन्द्रविरुद्ध खनिन थाल्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी, कर्णाली र सुदरपश्चिमको भ्रमणमा निस्किनुभएको छ । उहाँलाई जनताले विभिन्न जिल्लामा नागरिक अभिनन्दन गराइरहेका छन् । पछिल्ला दिनमा चाडपर्वका शुभकामनामा समेत ज्ञानेन्द्र शाहले देशमा विग्रहको संकेत आफूले पाएको दाबी गर्दै दलहरूसँग फेरि सहकार्य हुनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँ देश दौडाहमा निस्किनुभएको छ ।

त्यसपछि ओलीले ज्ञानेन्द्रविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिइरहनु भएको छ । ओली पूर्व-राजपरिवार र राप्रपाप्रति आक्रामक देखिँदै आउनुभएको छ । आफूमाथि भएका आक्रमणमा पूर्व-राजपरिवारको षड्यन्त्र रहेको ओलीको आरोप छ । ज्ञानेन्द्र शाहका मान्छेले योजना बनाएर आफूमाथि आक्रमण प्रयास गरेको ओलीको ठहर छ । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै ‘छोराबुहारी अघि सारेर धेरै फुरफुर नगर्न चुनौतीसमेत दिनुभएको छ ।

कतिसम्म भने एमाले सांसदहरूले संसद्मै अध्यक्ष ओलीको हत्या गराउन खोजेको हो ? भन्दै सरकारलाई प्रश्नसमेत गरेका थिए । पूर्वराजाविरुद्ध ओलीले आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेकै बेला त्यसैमा मिसिन आइपुग्नु भएको छ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उहाँले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको छ । ओलीले पछिल्लो समय सरकारको भन्दा पूर्वराजाको बढी आलोचना गरिरहनु भएको छ । सत्ता र प्रतिपक्षमा रहनुभएका ओली–प्रचण्डको बोली पूर्वराजाविरुद्ध कसरी एक भयो भन्ने धेरैले ठम्याउन सकेका छैनन् । प्रचण्डले गठबन्धन सरकारको नेतृत्व गरिहनु भएको छ भने ओली प्रमुख प्रतिपक्षीमा हुनुहुन्छ ।

जनताले फोहोरमा फ्याँकिसकेका सामन्तका छाउराहरू पूर्वबाट उठ्न खोज्दै छन् : प्रचण्ड
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डंगुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रवृत्तिविरुद्ध खडा हुन पनि पार्टीका–नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘यो सरकारले र पार्टीले भ्रष्टचारविरुद्ध अलि कडा वक्तव्य दियो । सामाजिक न्याय, सुशासन र विकासलाई केन्द्रित गरेर काम गर्न थालेको छ,’ उहाँले भन्नुभयो, ‘यति भएपछि तपाईंले हिजो इतिहासको कुडाकर्कटमा मिल्काइएका सामन्तका छाउराहरू बाहिर आएको देख्नुभएको छ । इतिहास र आमनेपाली जनताले फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि पूर्वको मेचीबाट उठ्न थालेका छन् । त्यस्ता प्रवृत्तिविरुद्ध हामी खडा हुनुपर्दछ ।’ प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेहरूमाथि अपमान गर्ने प्रयास भइरहेको समेत बताउनुभयो ।

पूर्वराजाप्रति ओलीको टिप्पणी- मुसाले दुलोबाट बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गर्दै छन्
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थालेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहेको टिप्पणी गर्नुभयो । सरकार भने यसमा निरीहता मात्रै प्रकट गरिरहेको उहाँको भनाइ छ ।

‘हामी नेपाली जनता गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ । अहिले अनेक तत्वहरू लोकतन्त्र र जनताले पाएका अधिकारविरुद्ध सलबलाउन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘कोही दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि भनेर हेर्न थालेका छन् । नेपाली जनता सजग हुनुपर्दछ ।’

अभिव्यक्ति फिर्ता लिन राप्रपाको माग
विदेशी एजेण्डाको भरिया बन्नुभन्दा मूर्ख र फटाहा बन्नु नै वेश : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काउँदै विदेशी एजेण्डाको भरिया बन्नुभन्दा मूर्ख र फटाहा बन्नु नै वेश हुने टिप्पणी गर्नुभएको छ । ओलीले फटाहा र मूर्खहरू मात्रै राजाको पछि लागेको भन्दै कटाक्ष गरेपछि अध्यक्ष लिङ्देनले जवाफ फर्काउनुभएको हो । ‘हामी त फटाहा र मूर्ख मात्र रहेछौँ । जापानी र बेलायती जनता त महाफटाहा महामूर्ख भए हैन त,’ ट्वीटरमा ओलीलाई मेन्सन गर्दै लिङ्देनले भन्नुभएको छ, ‘हैन यस्तो भाष्य र अदभुत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ तपाईंलाई ? विदेशी एजेण्डाको भरिया बन्नुभन्दा त मूर्ख र फटाहा नै हुने ।’

आइतबार ओलीले राजसंस्था मान्ने स्वार्थी, फटाहा र बुद्धि नभएको हुने टिप्पणी गर्नुभएको थियो । यस्तै, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले एमाले अध्यक्ष ओलीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिनसमेत अनुरोध गर्नुभएको छ ।

राजनीति घृणाको विषय बनेको छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आइसिटियु)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले राजनीतिमा फोहोर जमेको बताउनुभयो । राजनीति मानिसका लागि घृणाको विषय बनेको उहाँको भनाइ छ । नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाउनुभयो । ‘राजनीतिमा अनेकौँ फोहोर जमेको छ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने राजनीति विकृत भएको छ । भ्रष्टाचारमा डुबेको छ । नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?