नयाँ स्टकविरुद्ध नेप्से कर्मचारी आन्दोलनमा

Read Time = 3 mins

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारी नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणको प्रक्रियाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सीमित व्यक्तिको स्वार्थ पूरा गर्न सरकारले नेप्से नै सक्ने गरी नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भन्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् । नेप्से कर्मचारी संघले नेप्से कार्यालय हाताभित्रै कालो ब्यानर टाँगेर विरोध सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डले केही व्यक्तिको स्वार्थ पूरा गर्न व्यवसायी समूहसँग साँठगाँठ गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बिक्री गर्न लागेको संघको आरोप छ ।

बोर्ड नेतृत्वले चौतर्फी विरोधका बाबजुद पनि लाइसेन्स दिने प्रक्रिया सुरु गरेपछि नेप्सेका कर्मचारीले आन्दोलन सुरु गरेका हुन् । नेप्सेका कर्मचारीले तुरुन्तै नेप्सेको साधारण सेयर निष्कासन माग गर्दै एक घर, नेप्सेको सेयर भन्ने नारा लगाएका थिए । उनीहरूले नेप्सेको पुनर्संरचना गर्नुपर्ने मागसमेत गरेका छन् । नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाले विरोध कार्यक्रम माग सम्बोधन नहुँदासम्म जारी रहने बताउनुभएको छ ।

बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र धितोपत्र दलाल कम्पनीको लाइसेन्स वितरणलाई मात्र केन्द्रमा राखेर नीति नियमसमेत परिवर्तन गरी लाइसेन्स वितरणको प्रक्रिया सुरु गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका थिए तर सर्वोच्चले रिट खारेज गरिदिएको छ । कतिपय सांसदहरूले समेत नयाँ स्टक एक्सचेन्ज बजारको आवश्यकताभन्दा पनि बोर्ड र सरकारका उच्च अधिकारीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?