बौद्ध दर्शन र चतुर्आर्यसत्य

Read Time = 16 mins

✍️ डा. उद्धव पुरी

बुद्धले आफूलाई देवी देउताको श्रेणीमा राखेका छैनन् र उनले कसैका लागि कुनै चमत्कार गर्ने वा गर्न सक्ने पनि बताएका छैनन् । उनले पाएको ज्ञान वा शिक्षा व्यवहार र समाजका लागि उपयोगी हुने र त्यसको पालना गरे बहुजनका लागि सुख, शान्ति र सद्भाव बढ्ने जस्ता कुराहरू समेटिएका छन् । त्यसैले उनको अनुयायी बन्नु भनेको बौद्ध दर्शनको अध्ययन र त्यसको पालना हो । उनले आफैंले मेरो कुराहरू व्यवहारमा पालना गर र चित्त बुझे मात्र अनुयायी बन्न सक्छौ पनि भनेका छन् । यस अर्थमा दर्शनको अध्ययन र त्यसको पालना नै धर्म हो । बौद्धमार्गीहरू ब्रहृमलोक प्राप्ति चार ब्रहृमविहारबाट मात्र प्राप्त गर्न सकिने ठान्दछन् ।

मैत्री, करुणा, मुदीता र उपेक्षाको भावनालाई मुख्य मार्ग मानिन्छ । अरू धर्ममा जस्तो शारीरिक कष्ट र तपजस्ता कुराहरू बौद्ध परम्परामा मानिँदैन । बरू ती थप दुःखका कारण हुन् । जुन कुरा बुद्धले बुद्धत्व प्राप्तिअधि भोगेका थिए । यहाँ कुनै परम्परा र कर्मलाई भन्दा पनि ज्ञानलाई बढी जोड दिइन्छ । बुद्धको ज्ञान प्राप्त पछि जुन शिक्षा दिए त्यसलाई धर्मभन्दा पनि दर्शनको रूपमा मानिदै आएको छ । बुद्धको महापरिनिर्वाणको एक सय वर्षपछि उनको शिक्षालाई संग्रह गरियो । जसलाई बुद्ध वचन पनि भनिन्छ । बौद्ध धर्मको मूल ग्रन्थ वा शास्त्र त्रिपिटक मानिन्छ जुन तत्कालीन चलनचल्तीको पाली भाषामा छ । यो बुद्ध वचन र त्यसको पालना नै निर्वाण प्रप्तिको सही मार्ग हो ।

बौद्ध दर्शन आध्यात्मिक अद्धैतवाद वा निरपेक्ष तत्ववाद हो । यसको परम तत्व निर्वाण हो । निर्वाणलाई बोधीगम्य मानिन्छ र यसबाट अविद्याजन्य संसारको चक्रको निरोध हुन्छ भन्ने ठानिन्छ । बुद्धले प्राप्त गरेको ज्ञानलाई चतुर्आर्यसत्व भनिन्छ वा चार आर्यसत्यको सम्यकज्ञान प्राप्त गरेर नै गौतम सिद्धार्थले बुद्धत्व प्राप्त गरेका हुन् । अरू धर्ममा जस्तो धेरै सिद्धान्तगत कुराहरू यहाँ छैनन् र सरल छन् । जुन तथ्यमा भन्दा पनि परीक्षणमा आधारित हुनुपर्छ भन्ने मानिन्छ ।

बौद्ध दर्शन आध्यात्मिक अद्धैतवाद वा निरपेक्ष तत्ववाद हो । यसको परम तत्व निर्वाण हो । निर्वाणलाई बोधीगम्य मानिन्छ र यसबाट अविद्याजन्य संसारको चक्रको निरोध हुन्छ भन्ने ठानिन्छ । बुद्धले प्राप्त गरेको ज्ञानलाई चतुर्आर्यसत्व भनिन्छ ।

यसको व्यवहारमा आफैंले परीक्षण गर्नुपर्दछ । त्यसको अनुभव दुःख निरोध हो । बुद्धले नै यसले दुःख निरोध गराउँछ भन्ने देशना गरेका छन् । उनको ज्ञान तर्कमा भन्दा पनि व्यवहारमा उपयोगी हुने लोक कवावत छ । मानव हितका लागि प्रतिपादित भएको चतुर्आर्यसत्यका बारेमा उनले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक देशना गरेका थिए । जुन ज्ञान लिने पाँचजना सन्तुष्ट भएर उनकै अनुयायी भए र भिक्षु बने ।

चतुर्आर्यसत्यमा पहिलो दुःख सत्य मानिन्छ । मानिस जन्मेपछि सुख प्राप्तिका लागि भौँतारिन्छ । यो जन्मदेखिबाट मृत्युको समयसम्म हुन्छ । जन्म, मृत्यु, रोग, काम, क्रोध, लोभ मोहलगायत कुरा दुःखसँग जोडिन्छन् । प्रियसँग बिछोड हुनु र अप्रियसँग भेटिनु वा चाहेको बस्तु नपाउनु सबै दुःख हुन् । अर्थात् यस अर्थमा संसार दुःखमय छ । त्यसैले संसारको पहिलो सत्य भनेको दुःख हो । दुःखको मूल कारण तृष्णा हो । यो मानिसको मनदेखिबाट सुरु हुन्छ । जुन स्वभावत मानिसमा हुन्छ । तृष्णा निरोधबाटमात्र दुःखबाट छुट्न सकिन्छ । तृष्णालाई आफूबाट नहटाउँदासम्म दुःखको अन्त्य हुँदैन । दोस्रो सत्य भनेको दुःख समुदय हो । यो कार्यसँग जोडिएको छ । बौद्ध विचारमा विनाकारण कुनै पनि कार्य हुँदैन अर्थात् हरेक कार्यको कारण हुन्छ ।

यो चक्रको रूपमा घुम्दछ । एकपछि अर्कोले पछ्याइरहेको हुन्छ । प्रतित्यसमुत्पाद चक्र नै दुःख समुदय हो । भनिन्छ अविद्याजन्य तृष्णाले दुःख बढाउँछ । अर्को अर्थमा कर्म, अहंकार जस्ता कुरा दुःखका कारण हुन् । यहाँ अरू धर्मले जस्तो बौद्ध धर्ममा दुःख परशक्तिका कारण भएको हो भन्ने मानिँदैन । अर्थात आफ्नो दुःखको मूल कारण आफू नै हो । त्यसैले कारणको निदान नै दुःख समुदयको निदान हो । तेस्रो भनेको दुःख निरोध हो । दुःखको अन्त्य गर्न सकिन्छ र हुन्छ भन्ने विश्वास बौद्ध परम्परा छ । दुःखको कारण दुःख समुदय हुन्छ भने वा कारणबाट नै कार्य हुन्छ भन्ने मानिन्छ र त्यो तृष्णासँग जोडिन्छ भने त्यसलाई आफूबाट हटाउन पनि सकिन्छ ।

त्यसैले दुःख निरोध बन्न सकिन्छ । बौद्ध धर्ममा कारणको नास गर्न सकियो भने कार्य आफै सकिन्छ र उत्पन्न हुँदैन भन्ने मानिन्छ । यो भवचक्रसँग जोडिएको हुँनाले पुर्नजन्मबाट मुक्त हुनु भनेकै दुःख मुक्त हुनु हो । किनभने निर्वाण हुन सकेमा वा तृष्णालाई नास गर्न सकेमा यो सम्भव हुन्छ । बौद्ध ग्रन्थहरूमा प्रष्ट उल्लेख गरे अनुसार दुःख निरोध हुन तृष्णालाई निषेध वा त्याग गर्न सक्नुपर्दछ । यसका लागि आफूमा भएको क्लेशमाथि विजयी हुनुपर्दछ । त्यसो भएमात्र शान्ति र आनन्द मिल्दछ । जुन सद्भावको लक्षण हो । चौथो दुःख निरोध मार्ग भनिएको छ । कारण र कार्य भएजस्तै कारणको निरोध गर्न सके दुःखहुँदैन । दुःख निर्मूल भएको अवस्थालाई नै निर्वाण भनिन्छ ।

बौद्ध ग्रन्थहरूका आधारमा निर्वाण दुई प्रकारको हुन्छ । जसअनुसार सउपदिशेष निर्वाण भनेको जिउँदो छँदा नै क्लेशमुक्त हुनु । यस्तो अवस्थामा पुग्नु भनेको अरहत वा बुद्ध हुनु हो । अर्को अनुपदिशेष निर्वाण जसलाई क्लेश मुक्त भएर देह त्याग गर्नु हो । यसलाई परिनिर्वाण हुनु भनिन्छ तर त्यसको अन्त्य गर्न मार्ग वा बाटो समाउनु पर्दछ । त्यो मार्ग भनेको आर्य अष्टांगिक मार्ग हो । जुन प्रज्ञा, शील र समाधिसँग जोडिएको छ । जसलाई बुद्धले प्रतिपादित गरेको मानिन्छ ।

शील, समाधि र प्रज्ञाको पालना बुद्ध शासनको धर्म हो । सामान्य अर्थमा हिंसा मुक्तको बाटो नै यही हो । सदाचार वा पञ्चशील, अष्टशील र दशशील नै बौद्ध परम्पराका शीलहरू हुन् । शीललाई नियमको रूपमा पनि मान्न सकिन्छ ।

यी आठ मार्ग भनेको सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाचा, सम्यक् कर्मान्त, सम्यक् जीवन, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् । हामीले ठीक रूपमा यी आठ कुराहरूलाई पालना गर्न सके दुःखबाट मुक्त हुन सकिन्छ । जुन कार्य बुद्धले गरेका थिए । व्यावहारिक जीवनमा यीमध्ये केहीलाई मात्र पनि पालना गर्न सक्नु ठूलो कुरा बनेको छ । यसअर्थमा बुद्ध शिक्षा वा उनको धर्म देशना दार्शनिक छन् र सहज पनि छन् । पराभौतिक दर्शनभन्दा यो वास्तविक जीवनसँग धेरै तादात्म्य राख्ने खालको छ ।

बौद्ध दर्शन वा बुद्धको देशना दुःखको भवसागरबाट मुक्त हुने मार्ग हो । जुन हरेक मानिसको व्यवहारमा जोडिन जान्छ । अरू धर्ममा शास्त्रमा लेखिएको छ, गुरुले भन्नुभएको छ, हाम्रो परम्परा यस्तै छ भन्ने जस्ता कुराहरूबाट हामीले दैनिकी चलाइरहेका हुन्छौं । जहाँ अन्ध विश्वस छ कि यसो गरेन भने पाप हुन्छ वा मोक्ष हुँदैन । यही नै अनुसरण गरिन्छ तर बौद्ध शिक्षा वा दर्शन त्यो मान्यताको विपरीत छ । आर्यसत्यका तथ्यहरूलाई बुझेर त्यसलाई व्यवहारमा आफैंले उतार्न सके त्यसको सार्थकता हुन्छ ।

त्यसैले बुद्ध आफैंले आफ्नापछि लागेका भिक्षु भिक्षुणीहरू र आफ्नो सामिप्यमा आएकालाई अन्ध भक्त नबन भनेको छन् । उनले मेरा वचनलाई पालना र परीक्षण गरेरमात्र ग्रहण गर्न सक्छौं भनेका छन् । भीड र अन्ध समर्थन बुद्धका लागि गौण छन् । वास्तवमा सबै धर्महरूले मानिसलाई मोक्ष वा निर्वाण मार्ग देखाउनु नै लक्ष हो । त्यसका लागि सबैले आफ्नो मार्ग बनाएका हुन्छन् । कतिले आफ्नो कुरालाई नित्य र स्थीर मान्दछन् । जहाँ परीक्षणको अर्थ रहँदैन तर बुद्ध शिक्षाले यस्ता विषयहरू अनित्य मान्दछ । यहाँ आत्मालाई पनि स्वीकारिँदैन । बौद्धमार्गी संसारमा कुनै पनि कुरा स्थीर हुँदैन भन्ने ठान्दछन् । कारणले कार्यलाई जन्माउने र उत्पत्तिले क्षयको मार्ग समाउने गर्दछ । यो वास्तविकता हो ।

त्यो हामीले भोगिरहेको कुरा पनि हो । मानिस पनि नित्य र स्थीर हुँदैन । त्यसैले नित्य अनित्य र स्थीर र अस्थीलाई बुझ्न जरुरी छ । अन्यथा संसारमा दुःख बढिरहन्छ । त्यसैले यो संसारमा जन्म हुनु नै दुःख हो र दुःख अनित्यसँग जोडिएको हुन्छ । मोह, राग, काम र तृष्णा यही हुन्छ र दुःख र भयले निरन्तरता लिइरहन्छ । चार आर्यसत्यलाई जान्न र बुझ्न बौद्धमार्गीहरू शील, समाधि र प्रज्ञाको मार्गमा जान्छन् । बौद्ध परम्परामा यसको ज्यादै महत्व मानिन्छ ।

शील, समाधि र प्रज्ञाको पालना बुद्ध शासनको धर्म हो । सामान्य अर्थमा हिंसा मुक्तको बाटो नै यही हो । सदाचार वा पञ्चशील, अष्टशील र दशशील नै बौद्ध परम्पराका शीलहरू हुन् । शीललाई नियमको रूपमा पनि मान्न सकिन्छ । यसको पालनाले मानिसमा सेवाभाव उत्पन्न गराउछ । यसले स्नेहभाव फैलाउँछ । शीलको पालना शरीर र वचन दुबैबाट हुनुपर्दछ । शील पालनाले भय मुक्त गराउछ वा भय हीन बनाउछ जहा दुःख अनुभव नै हुँदैन । त्यस्ता सदाचारी व्यक्तिहरूले इन्द्रियलाई पनि आफ्नो बसमा राख्न सकिरहेका हुन्छन् ।

त्यस्तै समाधि चित्तसँग जोडिएको हुन्छ । कुशल चित्तको एकाग्रता समाधि मार्ग हो । ध्यान, बितर्क विचार रहित हुनुपर्दछ । जसलाई ज्ञानको मार्ग पनि भनिन्छ । बौद्ध परम्परामा यसका विभिन्न चरण छन् । जसलाई पार गर्न सक्नु प्रज्ञावान हुनु हो । प्रज्ञाको आशय भनेको विषयलाई जान्नु हो । प्रज्ञाले मानिसमा हुने मिथ्या दृष्टि नाश गराउँदछ । अरूभन्दा भिन्न बनाउछ । प्रज्ञावान भनेको सम्पूर्ण क्लेश निमूल भएको अवस्था हो । त्यसबेला मानिसमा केवल सुख, शान्ति, प्रेम र सद्भावमात्र बाँकी रहन्छ । यस अर्थमा चतुर्आर्यसत्यको ज्ञान, उक्त सत्यको मार्ग पहिल्याउनु र त्यसको पालना नै दुःख अन्त्य हो ।

शील, समाधि र प्रज्ञाको अभ्यासले इष्र्या र दोष जस्तो मनको सत्रुलाई नाश गर्दछ । जहाँ कुनै पनि कुरा प्रिय र अप्रिय हुँदैन । सबैमा समभाव सिर्जना हुन्छ । यहाँ एउटा उदाहरण उपयुक्त हुन्छ जस्तो कि अत्याधिक भोजन गर्नु वा भोजनै नगर्नु दुवै दुःखदायी हुन्छ । त्यस्तै कुनै वस्तुमा बढी तल्लिन हुनु र कुनैमा बढी बैराग हुनु पनि दुवै अनुचित हो । दुई अतिमार्ग परित्याग गर्न सक्नुपर्दछ । त्यो भनेको मध्यम मार्गको पालना हो जुन तेस्रो मार्ग भने होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?