आफ्नै कुरा : हर्पे-सौर्टिफिकेट

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ शम्भुप्रसाद निरौला

मेरा सर्ट-पाइन्ट नयाँ थिए । गञ्जी पनि नयै थ्यो । र, तौलीया पनि नयै । लुगाको सेट मिल्यो । हात्तीछाप भुक्के चप्पलले मलाई नम्बर एक हिरो बनाइसकेको थियो ! छात्रावासमा कट्टुमात्र लाएर बस्नु नहुने रहेछ । तौली फेरेरै बस्नुपर्ने ! पहाडमा त तेस्तो थिएन ! कट्टु र ज्वारी भिरेर स्कुल जाँदा नि हुन्थ्यो ! यहाँको चलन बेग्लै रहेछ । आज तेरो नाउँ लेखाउनुपर्छ ! कुरा बुझिस् केटा ! मनोज दाइले कुरा बुझाए । मेरो नाउँ लेख्ने दिन ! ज्ञानकुपको विद्यार्थी बन्ने दिन ! ममा उत्सुकता बढेको थियो ।

मैले बिस्तारै भनेको थिएँ, हुन्छ दाजु ! नौ बजे भात पाक्यो । राजन, टेकनाथ र म सँगै गयौँ । लहरै बस्यौ । भातको थाल आयो । थालकै छेउमा तरकारी थियो । बिट फर्केका बटुकामा दाल आयो । काला हात पाखुरा भएको मान्छेले गिलासमा पानी दियो ।

दालभात थपिथपी खान पाइन्थ्यो तर तरकारी दिँदैनथे । एकैचोटि साउँ भाग चलन रहेछ । साढे दशतिर छात्रावासअगाडिका चौरमा समूह समूहमा विद्यार्थी थिए । अनौठा मान्छे लामो कापी बोकेर तिनै समूहमा आए । तिनले लामो कमेज लाएका थिए । धोती फेरेका थिए । टोपी लाएका थिएनन् । तिनका कमेजका मोहोता हृवार्लांग थिए । खुकुला थिए । पछि थाहा पाएँ तेस्ता लुगालाई कुर्ता भन्दा रहेछन् । साहिँला दाहालले पनि तेस्ता लुगा लाउँथे । तर उनका बाहुला ट्याप्प मिलेका हुन्थे । कैलेकाहीँ कमेज सुर्वाल लाउँथे । उनको टोपी अटुट हुन्थ्यो !

साइँला दाहाल बडाबाउका पुरोहित थिए ! जेठा दाहाल चैँ हाम्रा ! राजनले छात्रावासकै बरन्डाबाट देखाउँदै भन्यो, ऊ ती बुढा गुरु छन् नि सूर्यकान्त झा भन्ने उनै हुन् । ती एतापट्टिका चाहिँ जयजयराम झा हुन् । ती सबैभन्दा बुढा देखिने चाहिँ भुपेन्द्र झा हुन् । परका सर्ट-पइन्ट लाउने शशीनाथ झा हुन् । उसले विनोदानन्द झा चिनायो । तेसैगरी पाण्डे सर, निला मिस र ढकाल गुरुलाई परैबाट चिनायो । उनीहरू माघका घाममा बाहिर बसेर विद्यार्थी पढाउन थाले । प्रतेक थुप्रामा आठ दश जनाभन्दा धेरै विद्यार्थी थिएनन् ।

राजने कक्षामा जा । शम्मे मसँग हिन् !  मनोज दाइले आदेस गिराए । उनले आमाले झोलामा हालिदिएको तीन माने हर्पे पनि बोक्न भने । हिजो किनेको तौलियाले बेरेर हर्पे बोकेँ । दाइ अघि लागे । म पछिपछि लागेँ । छात्रावास नजिकै रहेछ अफिस ।

मनोज दाइभित्र छिरे । म पनि भित्र पसेँ । कोठामा सेतै फुलेका बुढा मान्छे कुर्सीमा बसेका थिए । टेबलको छेउमा लेखिएको थियो ( कुशेश्वर झा प्रधानाध्यापक ! दाइले तिनलाई नमस्ते गरे । मैले नि नमस्ते गरेँ ।
उनको नजर हर्पेमै केन्द्रीकृत भयो । मलाई नि एकपटक पिलिक्क हेरे ।

गुरु, यो मेरो भाइ हो । यसको नाउँ लेखाउने ! मनोज दाइले हेड सरलाई भने । नाम लेखाउने ? अनि कति कक्षामा पढिलिन्छ ? टेबुलतिर निहुरेर केही लेख्दै हेड सरले सोधे ! मनोज दाइ उत्तर दिन नपाउभदै मतिर हेर्दै फेरि सोधे, तिम्रो नाम के छ ? सौर्टिफिकेट ल्याए छ कि नल्याए छ ?

मैले भने ! मेरो नाउँ नेतिराम । सात कक्षामा पढ्छु । मनोज दाइले मेरो नाउँ सच्याउँदै हेड सरलाई भने, यसको नाम शम्भुप्रसाद । नेतिराम नलेखाउने । नेतिराम नाउँ राम्रो छैन । यसको नाउँ लेखिदिनू गुरु । पहाडमा पढ्ने ठाउँ छैन अनि मसँग आयो !

सातमा नाम लेखाउछ त सोर्टिफिकेट चाहिहाल्छ !  बुढा गुरुले सर्टिफिकेट खोजे ! गुरु साठिपिकट छैन । हजुरलाई तीन माना पहाडको शुद्ध घ्यू लेइदिएको छ । दाइले घ्यूको हर्पे हातमा राखिदिए ! गुरुले आफू छेउकै दराजमा हर्पे राखे । अब उनी खुशी देखिए । सर्टिफिकेटको गर्जो तीन माने हर्पेले पूरा गरिदियो । उने सादा कागजमा मेरो नाम, कक्षा, ठेगाना लेख्दै भने, अब तिमीहरू जा । कारी आउँछ तब नाम लेखिलिन्छ । अनि मनोज ! घ्यू त शुद्ध छ नि ! दाइले विश्वास दिलाए, हो, हो । एकदम शुद्ध हो ।

आमाले साँचेको लाहुरी भैँसीको घ्यू हेड सरका दराजमा पस्यो । म सात कक्षाको विद्यार्थी भएँ । मनोज दाइ र म अफिसबाट बाहिर निस्यौँ । राजन पर आठ दस जनाको गोलघेरामा बसेको थियो । हातले इसारा गरेर बोलायो । म त्यतै गएँ ।

गोल घेरामा बसेँ । सबैले मलाई मात्रै हेरे जस्तो लाग्यो ! एकजना सेता कुर्ता सुर्वाल लाएका मान्छे पलेटी कसेर बसेका थिए ! उनको मुखमा पात बेरेको डल्लो कोचिएको थियो । ओठभरि रगत जस्तै रातो लतपतिएको थियो । म गोलघेरामा बस्नेबित्तिकै उनले पर पुग्ने पिचिक्क थुके । थुक रगताम्मे थियो । मतिर हेर्दै भने, तिम्रो नाम के छ रे ? मैले भनिदिएँ, शम्भुप्रसाद ! आगे के छ ! उनले के भनेका हुन् मैले बुझ्न सकिन । राजनले भनिदियो, निरौला नै हो गुरु !
राजनले चिनाए अनुसार उनी जयजयराम झा थिए ।
उनले चाणक्य नीति घोकाउन थाले ...
दिवा पश्यति नोलूक नक्तं न पश्यति ...।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?