आजदेखि बजेट अधिवेशन, भोलिबाट ‘प्री-बजेट छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आज (आइतबार)देखि सुरु हुँदै छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आहृवान गर्नुभएको थियो ।

संसद्को बजेट अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा त्यसअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । यसअघि हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

आज बस्ने दुवै सदनका बैठकमा सभामुख/अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र र मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यस्तै, कानुन मन्त्री धनराज गुरुङले दुवै संसद्मा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० पनि पेश हुने कार्यसूची रहेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्रीले प्री-बजेट छलफलको लागि प्रस्ताव प्रस्तुत गरेपछि अर्को २५ देखि २७ सम्म प्री-बजेट छलफल गर्ने र सरकारले छलफलमा उठेका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ । राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिनअगावै प्री-बजेट छलफल समाप्त भइसक्नुपर्छ । आगामी जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?