ऐतिहासिक महत्वका अजम्वरी सम्पदा नासिँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । बेनी–दरवाङ सडकको ट्याक नखुल्दासम्म यस क्षेत्रमा वटुवा र पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएका १४ वटा ठाँटीहरु थिए । ठाउँ ठाउँमा थान, थुम्का, चौतारी, देवल र सत्तलहरु थिए । तर सडक खुलेको दुई दशक भित्रमा ती सवै सम्पदाहरु नामोनिसान नभेटिने गरी पुरिए ।

बेनी–दरवाङ क्षेत्रका मात्रै होइन जिल्लाका सवै ठाउँका ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर,सत्तल,देवल,थुम्का, चौतारी, पोखरी, पाटीपौवा र धारा कुवाजस्ता सम्पदाहरु विगत २० वर्षयता नामेट हुने अवस्थामा पुगिसेका छन् ।

डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँवस्ती, भीरपाखा र कुना कन्दराहरुमा समेत मोटरबाटो निर्माण गर्न थालिए पछि म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदाहरु नासिदै गएका छन् ।

तत्कालिन पर्वत राज्य अन्तर्गतको डढेकोट, ज्यामरुककोट,ताकम,ढोलठान लगाएतका जिल्लाका ऐतिहासिक ठाउँका पुरातात्विक सम्पदाहरु अहिलेको पुस्ताका लागि एकादेशको कथा जस्तै बनेका जिल्लाका ऐतिहासिक सम्पदाका विषयमा खोज अनुसन्धान गर्दै आउनुभएका बेनी नगरपालिका ५ पुलाचौरका शिव वानियाँले बताउनुभयो ।

दुइ दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक वेसी,वस्ती,गोरेटो र उकाली ओरालीहरुमा देखिने गरेका पाटी, पौवा, सत्तल,धारा, कुवा,पधेरा,जरुवा,चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्काहरु नासिएर अहिले देखिन/भेटिन छोडेका उहाँको भनाइरहेको छ ।

गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इन्जिनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौं पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु नास भएर गए पनि यिनको संरक्षणका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयहरुको भनाइरहेको छ ।

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन जथाभावि खनिएका मोटरबाटोका कारण म्याग्दीको बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु नासिएका पाइएको छ । यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरुको तथ्याङ्क अध्यावधिक गर्ने कुनै निकाय नभएता पनि स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाहरुको बल्ल जानकारी लिन शुरु गरेका छन् ।

गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी,पैवा,सत्तल,देवल,धारा,कुवा र चौतारी पोखरीहरु भत्काइएको वा पुरिएको बेनीका दण्डपाणी उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “विकासको नामबाट जुन विनास भएको छ त्यसले दीर्घकालसम्म अपूरणीय क्षति पु-याइरहने छ । सडकको नाममा डोजरले खेतका गरा,कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन आफ्ना पुर्खाहरुको कीर्ति,संस्कृति,सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ,यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ ।”

बाइसे चौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल,मठ,थुम्का,सत्तल,चौतारी,पोखरी,कुवा र इनारहरु अहिले खण्डहरमा परिणत भएका स्थानीयले बताएका छन् ।

ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारी,लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल,हाँडेभीर पश्चिमको पाती चढाउने थुम्को लगायत दर्जनौंँ ऐतिहाँसिक,पुरातात्विक र प्राकृतिक सम्पदाहरु नासिएका बगरफाँटका ८६ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व संकटमा परेको छ ।

मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन ।
स्थानीयको गुनासोलाई ध्यानमा राख्दै यहाँका केही स्थानीय तहहरुले ऐतिहासिक स्थलहरुको संरक्षणमा चासो दिन थालेका छन् । ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोतमा रहेका ऐतिहासिक खजाना र सम्पदाहरुको संरक्षण गर्न सुरु गरिएको बेनी नगरपालिका २ ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?