नक्कली भुटानी शरणार्थी प्रकरण :

आफ्नालाई जोगाउन शीर्ष नेतृत्वको चलखेल, दोषीलाई कारबाही गर्न चौतर्फी दबाब

डिबी शर्मा
Read Time = 16 mins

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ ठगी प्रकरणमा प्रमुख दलका प्रभावशाली नेताहरू समेत जोडिएपछि नेपाली राजनीति तरंगित बनेको छ । ठगी गर्ने गिरोहको लहरो तान्दा प्रमुख दलका प्रभावशाली नेताहरूसमेत जोडिएपछि राजनीतिसँगै समग्र देशकै माहोल तातिएको हो । नेताहरूसमेत ठगी प्रकरणमा जोडिएपछि दोषीलाई कारबाही गर्न जोडदार आवाज उठिरहेको छ ।

स्वयं दलका नेता र कार्यकर्ताले समेत दोषीमाथि कारबाही माग गरिरहेका छन् । जनस्तरमा पनि दोषीलाई कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । यो विषयले संसद्मा समेत जोडदार प्रवेश पाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिपक्षदेखि सत्तापक्षसम्मका सांसदहरूले शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनीहरूले शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन शीर्ष नेतृत्वले चलखेलसमेत गरिरहेको आशंका गरेका छन् ।

यो प्रकरणको निष्पक्ष छानविन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन उनीहरूले सरकारसँग माग गरेका छन् । शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँगै कांग्रेस नेता बालकृष्ण खाँण, कांग्रेसकै सांसद तथा सभापति शेरबहादुर देउवा पत्नी आरजू राणादेउवा लगायतको नाम मुछिएको छ । प्रकरणमा जोडिएका टोपबहादुरका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्र राईलगायत पक्राउ परेका छन् ।

रायमाझीको घरमा खानतलासी
नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार सातदोबाटोस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत फरार हुनुहुन्छ । आरोपित रायमाझीलाई भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । तर रायमाझी भने फरार हुनुहुन्छ ।

दोषीलाई उम्काउन खोजियो : कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोेजिएको आरोप लगाउनुभयो । ‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने ? अन्तर्राष्ट्रियस्तरमा समेत राष्ट्रलाई नै दलाली सावित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने,’ उहाँले भन्नुभयो, ‘यो सदन देश बनाउन छलफल गर्ने ठाउँ हो कि एकले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल ?’ कांग्रेस सांसद तथा सभापति शेरबहादुर देउवापत्नी आरजू राणालाई संकेत गर्दै उहाँले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो ।

प्रेम सुवालको प्रश्न– दाहाल, ओली र देउवाजीको मिटिङ फिल्म देखाउन हो ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार प्रकरणमा फिल्म कहिले देखाउने ? भन्दै प्रश्न गर्नुभएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक फिल्म देखाउन हो ? भन्दै व्यंग्यसमेत गर्नुभयो । ‘प्रधानमन्त्रीजीले फिल्म देखाउने भन्नुभएको थियो । अहिले दाहालजी, ओलीजी र देउवाजीको मिटिङ भइरहेको छ । त्यो फिल्म देखाउनकै लागि हो ?’ उहाँले भन्नुभयो । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा ट्रेलर मात्र भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताउनुभएको थियो ।

टोपबहादुर फरार हुनुले संलग्नता पुष्टि गर्छ : यादव
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै एमाले नेता टोपबहादुर रायमाझी फरार भएपछि थप आशंका बढेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले छोरा पक्राउ परेपछि रायमाझी सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने जिकिर गर्नुभयो । ‘यदि दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् ? लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्छ,’ उहाँले भन्नुभयो, ‘उनका छोरा पक्राउ पर्नुपर्ने थप बल पुगेको छ ।’

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न गैरेको माग
नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शरणार्थी प्रकरणमा छानविन भइरहेको छानविनबारे सरकारको जवाफ माग गर्नुभयो । ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ । केही व्यक्तिहरू पक्राउ परेका छन् । केही सांसदहरू भागिरहनुभएको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीलाई देवेन्द्र पौडेलको सुझाव : नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्नुस्
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अरू कुनै दबाब र प्रेसरमा नपरी घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नुभयो । ‘पछिल्लो जुन प्रकरण आएको छ । यो हामी नेपालीका लागि लज्जाको विषय बनेको छ,’ उहाँले भन्नुभयो, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बनाएर विदेशमा पठाउने यस्ता व्यक्तिलाई नछोड्न म विशेष अनुरोध गर्न चाहन्छु । यसका साथै प्रधानमन्त्रीले जुन प्रतिबद्धता जनाउनुभएको छ । यसमा अगाडि बढाउन अनुरोध गर्न चाहन्छ ।’

भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ : शर्मा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई फायर खोल्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । सरकारले भ्रष्टाचाराविरुद्ध फाइल खोल्दा निर्दोष कोही फस्नु नहुने र दोषी कोही बच्नु नहुने उहाँको भनाइ छ । ‘भुटानी शरणार्थी सन्दर्भको जुन फाइल खोलिएको छ । यसलाई सरकारले निष्कर्षकमा पु¥याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन । मलाई लाग्छ राज्य फायर खोल्नुपर्छ ।’

शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी हो : नेता रावल
नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले पछिल्लो समय शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचबिखन र राष्ट्रविरोधी कुकृत्यसमेत भएको बताउनुभयो । ‘भुटानी शरणार्थीसम्बन्धी मुद्दा केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो,’ उहाँले भन्नुभयो, ‘यो राष्ट्रविरोधी कुकृत्य पनि हो । मुद्दालाई पनि कमजोर बनाउने, प्रहरीलाई दबाब दिने, यस्ता गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ । मुद्दालाई कमजोर बनाउने काम देशका लागि ठूलो गद्दारी हुनेछ ।’

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । मंगलबार काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै उहाँले भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो । सबै जनताको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने उहाँको भनाइ छ । ‘भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको,’ उहाँले भन्नुभयो, ‘देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

शीर्ष नेताबीच बालुवाटारमा तारन्तार छलफल
शरणार्थी प्रकरणले नेपाली राजनीति तरंगित भइरहेको बेला प्रमख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । सत्ता र प्रतिपक्षमा रहेका तीन दलका शीर्ष नेताले मंगलबार छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी हुनुहुन्थ्यो । छलफलका विषय औपचारिक रूपमा सार्वजनिक नगरिए पनि उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको नेताहरूका सचिवालयले जनाएका छन् । बैठकपछि तीनै नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । शीर्ष नेताबीच भेटवार्ता भएको यो पहिलोचोटि भने होइन । यसअघि आइतबार पनि शीर्ष तीन नेताबीच बालुवाटारमा छलफल भएको थियो । आइतबार शीर्ष तीन नेताबीच कुराकानी भएपछि फेरि मंगलबार प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको हो । त्यसअघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पनि बालुवाटारमा पटक–पटक छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयले तीन नेताबीच डेढ घण्टा छलफल भएको जनाएको छ । स्रोतका अनुसार तीन नेताबीच शरणार्थी प्रकरणको अनसन्धान कसरी अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने एमालेको ठहर
नेकपा एमालेका शीर्ष नेताहरूले शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको सचिवालय बैठकले रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा एमालेको जोड रहेको उहाँको भनाइ छ । ‘अनुसन्धानको सन्दर्भमा कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ बैठकपछि उहाँले भन्नुभयो । रायमाझीलाई कारबाही गर्ने विषयमा भने बैठकमा छलफल नै नभएको उहाँले बताउनुभयो । ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ?’ बैठकपछि उहाँले भन्नुभयो, ‘अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’ सचिवालय बैठकले एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?