शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा उक्लियो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै जावलाखेल युथ क्लब राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेलले आर्मीलाई दुई-शून्य गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो । बलियो आर्मीविरुद्ध सुखद नतिजा निकाल्ने क्रममा जावलाखेलका लागि दुवै गोल एनकोटो मासोबीले दोस्रो हाफमा गर्नुभयो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेका थिए ।

दोस्रो हाफमा भने जावलाखेलले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो । सो क्रममा जावलाखेलले ५६औँ मिनेटमा एनकोटोको गोलमार्फत् अग्रता निकाल्न सफल भयो । समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो । त्यसपछि मनोबल बढाउँदै आक्रामक खेललाई निरन्तरता दिएको जावलाखेलले ७९औँ मिनेटमा दोस्रो गोल गर्न सफल भयो । मासेबीले फोफनाको क्रसलाई हेडरमार्फत् टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल हुनुभएको थियो ।

यसअघि ६६औँ मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो । दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्कीको हेडर पनि बाहिरिन पुग्यो । हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउण्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सक्नुभएन । ७४औँ मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाउनुभयो । बाँकी समयमा आर्मीले थप प्रयास गरे पनि गोल हुन सकेन र आर्मी अंक सुम्पिन बाध्य बन्यो । जितसँगै जावलाखेल २३ खेलमा ३७ अंक जोड्न सफल भयो ।

जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ । पराजय बेहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौँ स्थानमा छ । यस्तै, जावलाखेलले लिगमा आर्मीविरुद्ध पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा आर्मीले जावलाखेलमाथि तीन-एकको सहज जित निकालेको थियो ।

लिगमा बुधबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब तथा दोस्रो खेल थ्रीस्टार र संकटा क्लबबीच च्यासल मैदानमा भेट हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?