‘भाइरल’ले केही दिन खुसी दिन सक्छ तर दीर्घकालीन उपलब्धि भने हुँदैन : परियार

Read Time = 14 mins

नेपाली लोकगायन क्षेत्रमा आफूलाई अब्बल राख्दै आफ्नो स्वरमार्फत् लाखौँ श्रोता/दर्शकको मनमस्तिष्कमा राज गर्न सफल नाम हो रेजिना परियार । उहाँ विशेषतः लोकदोहोरी गायिकाका रूपमा चर्चित हुनुहुन्छ । नेपाली लोकदोहोरी गीत/संगीत क्षेत्रमा निकै प्रतिभाशाली कहलिनुभएकी गायिका रेजिना निरन्तररूपमा नेपाली लोकसंगीतमा क्रियाशील हुनुहुन्छ । तनहुँको भानु-१० कालिमाटीमा बुबा मंगले र माता चुनुमायाको कोखबाट जन्मिनुभएकी रेजिनाले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । सानैदेखि गीत गाउन भनेपछि हुरुक्क हुने रेजिना गाउँघरमा हुने विभिन्न कार्यक्रममा आफूलाई प्रस्तुत गर्नुहुन्थ्यो र सबैको वाही-वाही बटुल्न सफल हुनुहुन्थ्यो । त्यही सानैदेखिको लगावका कारण नै उहाँले अहिलेको मुकाम चुम्न सफल हुनुभएको छ । यो स्थानसम्म आइपुग्नका लागि धेरै परिश्रम र मिहिनेत गर्नुभएकी उहाँमा नेपाली गीत-संगीत क्षेत्रमा केही उल्लेखनीय कार्य गरौँ भन्ने हुटहुटीका कारण यो स्थान प्राप्त भएको बताउनुहुन्छ । सानैदेखि गीत गाउने भए पनि आफूमा अझ निखार ल्याउनका लागि काठमाडौंको पुतलीसडकमा रहेको संगीत पाठशालामा दुई वर्ष उहाँले अध्ययन गर्नुभयो । उहाँको स्वरमा एक सयभन्दा बढी गीत रहेका छन् । केही गीतले मिलिनियम भ्युज पनि पाएका छन् । उहाँको ‘रुन्छु धर्केर’ गीतले एक मिलियनभन्दा बढी भ्युज पाएको छ । स्वरकी धनी लोकप्रिय गायिका रेजिनाले गीत-संगीत क्षेत्रमा पुर्‍याएको योगदानकै कारण राष्ट्रिय तथा स्थानीयस्तरका थुप्रै अवार्ड र सम्मानसमेत हात पार्नुभएको छ । भाइरलले केही दिन खुसी त दिन सक्छ यसले दीर्घकालीन रूपमा उपलब्धि भने हुँदैन भन्नुहुने गायिका रेजिना परियारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको लगावका कारण नै म यो क्षेत्रमा आएँ । गीत-संगीत भनेपछि सानैदेखि म हुरुक्क हुने गर्थेँ । गीत-संगीत क्षेत्रमा केही उल्लेखनीय कार्य गरौँ भन्ने हुटहुटीका कारण यो क्षेत्रमा होमिएँ । सानैदेखि गीत गाउने भए पनि आफूमा अझ निखार ल्याउनका लागि काठमाडौंको पुतलीसडकमा रहेको संगीत पाठशालामा दुई वर्ष अध्ययन गरेँ ।

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
गीत-संगीतमा नै आफूलाई व्यस्त राख्दै आएकी छु । यस्तै आफ्ना केही व्यक्तिगत कार्यहरू, केही सामाजिक कार्यहरू पनि भइरहेका नै छन् । तर, म सबैभन्दा धेरै व्यस्त हुने भनेको गीत-संगीतमै हो । केही अफिसियल गीत आउने क्रममा छन् । केही रेकर्डिङमा छन् भने केहीको भिडियो छायाँकन भइरहेको छ । यस्तै-यस्तै दिनचर्या चल्दै छ ।

लोकसंगीतले एउटा इतिहास बोकेको छ । यसको धरातल कमजोर छैन । भाइरलका नाममा लोकदोहोरीको प्रयोग हुँदा लोकदोहोरीको जगलाई समस्यामा त नपार्ला । यद्यपि सबैभन्दा बढी असर त्यही व्यक्तिलाई हुन्छ, जो भाइरल बन्न रुचाउँछ । भाइरलभन्दा पनि कालजयी गीत सिर्जनामा आफूलाई तल्लीन बनाउनु नै राम्रो हुन्छ ।

निकै व्यस्त हुनुहुन्छ है ?
त्यस्तो धेरै व्यस्त त होइन । निरन्तर काम गरिरहेकी छु । गीतहरू आइरहेका छन् । श्रोता/दर्शकले मन पराइदिनुभएको छ, त्यसले केही व्यस्तचाहिँ बनाएकै हो ।

कसरी गर्नुहुन्छ समयको समायोजन ?
म अलग-अलग क्षेत्रमा व्यस्त होइन । गीत-संगीतकै क्षेत्र र केही सामाजिक कार्यमा हो । समय व्यवस्थापनको जहाँसम्म कुरा छ त्यो त इच्छा, चाहना र केही गराँै भन्ने सोच भयो भने मिलिहाल्छ जस्तो लाग्छ मलाई ।

तपाईंका लोकप्रिय गीतहरूको चर्चा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
आफ्ना गीतहरू आफैंलाई त सबै मनपर्ने नै भयो । तर, चर्चित गीतहरूको कुरा गर्दा अथवा दर्शक/श्रोताले मन पराएको हिसाबमा ‘रुन्छु धर्केर’ गीतले एक मिलियनभन्दा बढी भ्युज पाएको छ । यस्तै अन्य गीतले पनि श्रोता/दर्शकको साथ पाएका छन् ।

यहाँको स्वरमा रहेका गीतहरूमध्ये केहीको नाम लिनुपर्दा ?
थुप्रै छन् । केहीको नाम लिनुपर्दा ‘आँशु बरर, मन परेकी डल्ली, बैना के गरुँ, थोरै माया, भाग्य नभाकी, कहिल्यै नहोस् भलो, फाल हान्छु मस्र्याङ्दीमा, रुवाउँछ तीजले, जोडी ढुकुर, आँशुको पोखरी, जाले रुमाल, फूल राम्रो फूलकै बासनाले, माया जाने दाङ सल्यान, चिया बारीमा, बस्यो दिल बोलीमा, नक्कली मोरी, बिरुवा गाउँपालिका, तिहारको बेलैमा, माया माया भनेर, सक्दा दिन, को भन्दा को कम, खुट्टा चिलायो, कोमल मुटु, उनकै शरण, पोखरा रोधी झरौँला, तीजको रम झम, आँखैको इशारा, मै राम्री, चेलीको वेदना, बुहारी-४, सौतेनी मायालु जस्ता रहेका छन् ।

गीत-संगीतमा यहाँले थुप्रै अवार्ड पनि प्राप्त गर्न सफल हुनुभएको छ होइन ?
हो, मेरा केही गीतले अवार्ड प्राप्त गर्न सफल भएका छन् । एउटा स्रष्टालाई आफ्ना सबै गीत अवार्ड प्राप्त गर्ने खालका नै हुन्छन् । फेरि पनि त्यसको प्रक्रियामा सहभागी हुन नपाउँदा छुटेको महसुस गरेकी छु मैले । केही अवार्डको नाम लिनुपर्दा ‘आठौँ नेशनल क्यापिटल अवार्ड २०७८, स्टार इन्टरनेशनल म्युजिक अवार्ड २०२१, इण्डो नेपाल फ्रेण्डसिप इन्टरनेशनल अवार्ड २०२१, हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०१९, म्युजिक खबर म्युजिक अवार्ड’ जस्ता अवार्ड प्राप्त भएका छन् ।

विभिन्न संघसंस्थामा पनि हुनुहुन्छ, मान-सम्मान र पुरस्कार पनि प्राप्त भइरहेका छन्, कस्तो लाग्छ फर्केर हेर्दा ?
हो, तपाईंले भने जस्तै विभिन्न संघसंस्थामा रहेकी छु । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको सदस्य रहेकी छु । मेरो कार्यलाई, मेरो योगदानलाई सम्मान, कदर गर्दै विभिन्न मान-सम्मान, पुरस्कार प्राप्त भएका छन् । यस्ता कार्यले एक खालको थप जिम्मेवारी बोध हुँदोरहेछ । साथै अझ थप कार्य गर्नका लागि ऊर्जा मिल्दोरहेछ । मलाई ‘सोल्टेनी रोधी नाचघर प्रा.लि., वेष्टर्न रिजनल कल्चर सेन्टर, मेसिभ फोल्क दोहोरी प्रोग्राम, दोस्रो लिगलिग साइकल रेस क्रस कन्ट्री म्याराथन, माउनटेन बाइक च्यालेन्ज, परेली फिल्म प्रालि, होराइजन युथ क्लब, अर्जुन सुनाम सोलो नाइट’ जस्ता कार्यक्रम र संस्थाले अनर र एप्रिसियट गरेका छन् । खुसी लाग्छ ।

यहाँको सफलताको रहस्य के हो ?
मेरो सफलताको एउटा कडी भनेको निरन्तरता हो । निरन्तर प्रयास गरेकै कारण यस ठाउँमा आइपुगेकी हुँ । निरन्तरता नभएको भए पक्कै पनि म यहाँसम्म आइपुग्दिनथेँ । जे कुरामा पनि निरन्तरता, त्याग तथा मिहिनेत भयो भने सफल भइन्छ भन्ने लाग्छ । समस्याले नै सफलताको बाटो देखाउँछ । समस्यासँग नआत्तिकन लगातार आफ्नो क्षेत्रमा अघि बढ्ने हो भने सफलता हात लाग्छ ।

स्थापित हुन कत्तिको संघर्ष गर्नुभयो ?
मैले माथि पनि भनेँ समस्याले नै सफलताको बाटो देखाउँछ । कडा मिहिनेत र परिश्रमबाट पाएको सफलताले निकै महत्व राख्दछ । अहिले सांगीतिक क्षेत्रमा एउटा परिचय बनाए पनि मैले अझै लामो यात्रा तय गर्नु छ ।

स्टुडियोदेखि बजारीकरणसम्म ठूलो परिवर्तन भएको छ । स्वर र क्षमता हुनेले सजिलै प्लेटफर्म पाएका छन् । तर, विकाससँगै विकृतिहरू पनि छन् । हामी भाइरलमा रमाउन थालेका छौँ । भाइरलले केही दिन खुसी त दिन सक्छ यसले दीर्घकालीन रूपमा उपलब्धि भने हुँदैन ।

लोकदोहोरी गीतको क्रेज घटेको हो ?
म झन् बढ्दै गएको पाउँछु । यसमा रहनुभएका स्रष्टाहरूको व्यस्तता झन् बढ्दो छ । विभिन्न मेला महोत्सवमा पनि लोकदोहोरी क्षेत्रका स्रष्टाको माग त्यत्तिकै छ अनि कसरी क्रेज घट्यो भन्ने । मलाई लागेको एउटा कुराचाहिँ के हो भने लोकदोहोरीको टिपिकल फ्लेबर, मौलिकता हराउँदै गएको हो कि । तर, अहिले पनि राम्रा ठेट लोकगीतलाई दर्शक-श्रोताहरूले रुचाउनुहुन्छ । लोकदोहोरी व्यवसायमा समस्या आए पनि राम्रा सिर्जनाले संगीतप्रेमीको मन जितेका छन् । केही छाडा गीतले लोकगीतका रूपमा प्राथमिकता पाइरहेका छन् । लोकदोहोरी क्षेत्रमा कुनै मापदण्ड नभएकाले कस्तो गीत बजारमा आउने भन्ने छैन । संगीत नै नसिकी पैसाका भरमा आएकाहरूको बर्चस्व बढ्नु यो क्षेत्रमा औंला उठ्ने प्रमुख कारण हो जस्तो लाग्छ ।

पछिल्लो समय भाइरल हुने नाममा विभिन्न गीत आइरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?
लोकसंगीतले एउटा इतिहास बोकेको छ । यसको धरातल कमजोर छैन । भाइरलका नाममा लोकदोहोरीको प्रयोग हुँदा लोकदोहोरीको जगलाई समस्यामा त नपार्ला । यद्यपि सबैभन्दा बढी असर त्यही व्यक्तिलाई हुन्छ, जो भाइरल बन्न रुचाउँछ । भाइरलभन्दा पनि कालजयी गीत सिर्जनामा आफूलाई तल्लीन बनाउनु नै राम्रो हुन्छ । भाइरल त आज आउँछ भोलि जान्छ । सधैँ श्रोता÷दर्शकको मनमस्तिष्कमा रहने गीतकै पक्षमा म सधैँ हुन्छु ।

लोकदोहोरी क्षेत्रमा आएको परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?
परिवर्तन हुनु राम्रो हो । यसका सकारात्मक र नकारात्मक पाटा रहेका हुन्छन् । स्टुडियोदेखि बजारीकरणसम्म ठूलो परिवर्तन भएको छ । स्वर र क्षमता हुनेले सजिलै प्लेटफर्म पाएका छन् । तर, विकाससँगै विकृतिहरू पनि छन् । हामी भाइरलमा रमाउन थालेका छौँ । भाइरलले केही दिन खुसी त दिन सक्छ यसले दीर्घकालीन रूपमा उपलब्धि भने हुँदैन ।

अन्त्यमा ?
मेरा केही कुरा र नेपाली गीत-संगीत खासगरी लोकदोहोरीका क्षेत्रमा यहाँले मलाई आफ्ना कुरा राख्न दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?