अर्धनग्न संसद् कि सांसद 

हिमालय टाइम्स
Read Time = 8 mins

संसद नांगो हो वा सांसद यो प्रश्न गर्न सकिन्छ । सांसद अमरेशकुमार सिंह सोमबारको प्रतिनिधिसभाको बैठकमा अर्धनग्न बनेपछि सांसदको आचरण र संसद्को मर्यादामाथि प्रश्न गर्न सकिने भएको छ । पञ्चायत कालमा अलिक फरक स्वभावका कारण सधैं चर्चामा आइरहने जनवर्गीय भनिने माननीय रूपचन्द्र विष्टले एक पटक राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलाई प्रश्न गर्नुभएको थियो । अध्यक्षज्यू, लुगा फुकाल्यो भने अश्लीलताको प्रदर्शन हुन्छ, छाला काढ्यो भने केको प्रदर्शन हुन्छ ? भनेर । उहाँको नियमापत्तिको जवाफ तत्कालीन राट्रिय पञ्चायतका अध्यक्ष सुवेदी तथा अरू कुनै माननीयहरूले पनि दिनुभएन । माननीय जागृतप्रसाद भेटवालले बोल्नुभएको पञ्चायत विरोध सन्दर्भमा विष्टले अब त पञ्चायत नांगो भएको मात्र होइन भेटवालले त छाला नै काढिसक्नुभयो त भनेर व्यंग्य गर्नुभएको थियो ।

वास्तवमा संसद् जनताका प्रतिनिधिहरू जम्मा भएर विधि निर्माण गर्ने थलो हो । व्यवस्थापिका भनिने संसद्ले कानुनको निर्माण गर्छ र यहाँ निर्माण भएका कानुनका आधारमा सिंगो राष्ट्र सञ्चालन हुने गर्छ । यस अर्थमा सांसदहरू विधिवेत्ता तथा कानुनका ज्ञाता हुनुपर्छ । सिद्धान्त यस्तो भए पनि व्यवहारमा कानुन जान्दै नजानेका, आफ्नो पदको मर्यादा थाहा नभएका र अनपढ सांसदहरूको संख्या पनि धेरै नै हुने गर्छ । द्वन्द्व व्यवस्थापनपछि माओवादी केन्द्रका तर्फबाट छनौटमा परेको सांसदहरूको यस्तो संख्या निकै ठूलो थियो । त्यसबेला समाजका विभिन्न वर्गलाई समेट्ने प्रयास भएका कारणले हुनसक्छ समाजका विभिन्न क्षेत्र र वर्गका व्यक्तिहरू समेट्दा संसद्को मर्यादामा आँच आएको जस्तो देखिएको थियो ।

तीमध्ये केहीले सांसद पदको मर्यादामाथि प्रश्न उठ्ने गरी समाजमा विभिन्न प्रकारका हर्कत गरेका थिए । त्यस्ता समाचारहरू श्रव्य तथा दृश्य सञ्चारमाध्यमबाट प्रकाशन र प्रसारणसमेत भएका थिए । निर्वाचित भएर आउनेहरू भने केही मात्रामा त्यस संस्कारभन्दा अलिक माथिकै हुन्छन् । तैपनि विरोधका लागि विरोध गर्ने परिपार्टी र संस्कारले गर्दा संसद्मा अनेक खालका तमासाहरू बेलाबेलामा देखिने गर्छन् । त्यसैको पछिल्लो शृंखलाका रूपमा सांसद अमरेशकुमार सिंहको अर्धनग्न अवस्था प्रदर्शन हुन आयो । वास्तवमा भन्ने हो भने अमरेशकुमार सिंह पढेलेखेका विद्वान व्यक्तिको वर्गमा पर्नुहुन्छ । नेपाल– भारतबीचको राजनीतिक सेतु र कूटनीतिक सम्बन्धमा उहाँको सक्रिय भूमिका रहने गरेको छ ।

कानुन जान्दै नजानेका, आफ्नो पदको मर्यादा थाहा नभएका र अनपढ सांसदहरूको संख्या पनि धेरै नै हुने गर्छ । द्वन्द्व व्यवस्थापनपछि माओवादी केन्द्रका तर्फबाट छनौटमा परेको सांसदहरूको यस्तो संख्या निकै ठूलो थियो ।

भारतबाटै विद्यावारिधि गर्नुभएका सिंह नेपालका विभिन्न दलहरूबीच विशेषगरी मधेसवादी दल र राष्ट्रिय स्तरका दलहरूबीच सम्बन्ध सुमधुर बनाउनसमेत लागि पर्नुभएका व्यक्ति हुनुहुन्छ । कहिलेकाहीँ संसद्मा विवादास्पद अभिव्यक्ति दिएका कारण उहाँको अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपरेको अवस्था यस पहिले पनि आएको थियो । अभिव्यक्तिमा जे भए पनि व्यवहारमा उहाँले सोमबारको जस्तो उपद्रव यस पहिले गर्नुभएको थिएन । संसाद होहल्ला गर्ने, आफ्ना पक्षबाट जेजस्ता विधेयक आए पनि समर्थन गर्ने र अर्को पक्षबाट आएका यस्ता विधेयकहरूको विरोध गर्ने थलोका रूपमा विकसित बन्दै आएको छ । तोडफोड र कुर्सी भाँच्ने ठाउँसमेत बेलाबेलामा बन्ने गरेको छ । मार्यादापालकका काँध–काँधमा चढेर र उनीहरूका हात टोकेर लज्जित र अमर्यादित हर्कतसमेत भएको छ ।

सरकारका नीति तथा कार्यक्रम र बजेटलगायत अति आवश्यक विषय पारित हुन नदिनका लागि संसद्मा सांसदहरूले गरेको निम्न स्तरका व्यवहारका कारण आफूले मत दिएको मतदाताले समेत पश्चाताप गर्नुपर्ने अवस्थाको सिर्जना हुने गरेको छ । यस्तै शृंखलाको निरन्तरताको अन्तिम परिदृश्य हो । अमरेशकुमारको गत सोमबारको देह प्रदर्शन । पहिले नेपाली कांग्रेसबाट सांसद हुनुभएका सिंह गत आमनिर्वाचनमा भने सर्लाही–४ बाट स्वतन्त्र सांसदका रूपमा विजयी हुनुभएको थियो । यसबाट त्यहाँका जनताको विश्वास र समर्थन उहाँलाई रहेको पुष्टि हुन्छ । उहाँले आफ्ना मतदाताहरूको आकांक्षाको प्रतिनिधित्व तथा सम्मान गर्न सक्नुपर्छ ।

त्यसै क्रममा उहाँले यस्तो व्यवहार गर्नुभएको हो कि वा आफूले बोल्न माग गरेको समय नपाएको झोकमा तत्कालको आवेश रोक्न नसकी यस्तो व्यवहार गर्नुभएको हो त्यो फरक हो तर कारण जुनसुकै होस् उहाँ संसद्मा अर्धनग्न बन्नुभएको कुरा चाहिँ यथार्थ हो । एक दशक जति पहिले काठमाडौंमा भएको बादी आन्दोलनमा सिंहदरबारको मूलद्वारअगाडि आफ्ना चोलाका तुना फुकाएर अर्धनग्न बन्ने बादी माहिलाहरूकै लहरमा डा.अमरेशकुमार सिंह पनि उभिन पुग्नुभएको हो ? यो चाहिँ उहाँलाई सोध्न सकिने प्रबल प्रश्न हो । हुनसक्छ उहाँमाथि अन्याय भएको थियो होला, उहाँलाई बोल्छुभन्दा दुई मिनेटको समय पनि सभामुखबाट प्राप्त भएन तैपनि त्यसको प्रतिबिम्बन यसरी हुनुहुँदैनथ्यो । तर, उहाँको क्रियाकलापको समर्थन गरेर सरकारलाई गाली गर्र्ने जमात पनि बाहिर निकै ठूलो देखिएको छ, त्यसतर्फ भने सोच्नै पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?