राज्यलाई संस्कृत शिक्षा चाहिएकै हो ?

Read Time = 21 mins

अहिले फेरि नेपाल हिन्दू विश्वविद्यालय खोल्न मन्त्री सुदन किराती कस्सिएका छन् । नबुझिकन कस्सिनुभन्दा मन्त्रीजीले तलका कुरा पढेर मनन् गरेर कदम चाले हुन्थ्यो । भएको नेपाल संस्कृत विश्वविद्यालयको दुर्गति सुधारेर त्यसलाई विश्वका संस्कृत जान्न चाहनेलाई चारैतिरबाट आउन पाउने व्यवस्था गरेर हेर्नु पहिलो आवश्यक्ता हो राज्यको । आजको बदलिँदो विश्वपर्यावरणका बीचमा नेपाल संस्कृत विश्वविद्यालयलाई पनि युगानुकूलन गर्दै जनजीविका प्रदान गर्न सक्ने विषयतर्फ पनि विस्तार गर्दै लैजान सक्नुपर्दछ । केही समय पहिलेदेखि नै यो प्रक्रिया सुरु गर्नसकेको भए आज यो विश्वविद्यालय जुन प्रकारको दुरावस्थाको सिकार भएको छ ।

त्यस प्रकारको दयनीय अवस्थामा पुग्न नदिन पनि सकिंदो हो । किन्तु आज मुलुक राजनीतिक संक्रमणकाल पार गर्न नसकेर जुन किसिमले रोगग्रस्त भएको छ त्यसै बेला पनि देश र जनतालाई आवश्यक पर्ने र दूरगामी प्रभाव प्रक्षेपण गर्ने काम रोक्नु भने हुँदैन । नेपाली जनताले आशा गरे अनुसारको स्थिर सरकार, स्थिर नीति, स्थिर प्रशासनिकसंयन्त्र प्रदान गर्ने प्रतिबद्धता राजनीतिक दलले जतिसुकै उच्च स्वरमा भाषण गरे पनि यो संविधान रहेसम्म सम्भव देखिंदैन । दुवै गोडा नभएको पनि सगरमाथा आरोहणको अनु्मति लिएर चमत्कार देखाउन लागेका बेला ‘पङ्गुः लङ्घयते गिरिम्’ यिनले अर्को चमत्कार देखाए त हुन्थ्यो तर चमत्कार देखाउन पनि आधारभूत आवश्यकताको व्यवस्थापन बेगर डोकामा दूध दुहुन बसेको देखीदेखी भने आश गर्न नसकिँदोरहेछ ।

यिनले यो संविधानलाई संशोधन गरेर बहुदलीय प्रतिस्पद्र्धाबाट कुनै एक दलले बहुमत ल्याउन सक्ने । एक या दुईपटक भन्दा बढी मन्त्री प्रधानमन्त्री हुने प्रथाको वैधानिक व्यवस्थाबाट उन्मूलन नगरे देश र जनताको कल्याण राजनीति कर्मीका भाषणमा मात्रै सीमित हुनेछ तापनि सरकारले शिक्षातर्फ पनि स्थिर नीति अख्तियार गरिदिए र नेपाल संस्कृत विश्वविद्यालयलाई निम्न प्रकारले विकास गरे नेपाल र नेपाली जनताको आवश्यकता परिपूरण गर्दै यसलाई विश्वविरादरीका बीचमा पनि हाम्रा पुर्खा र हाम्रो पुरुषार्थलाई विस्तार गर्न सक्ने बनाउन सकिन्छ ।

आधुनिक विषयका क्षेत्रमा पनि अनेक विषयका कुरा संश्लीष्ट गरेर पढिने नेपाली, अंग्रेजी अर्थशास्त्र राजनीति शास्त्र, कानुन, इतिहास भूगोल र सामाजशास्त्रहरूका समूह निर्माण गरेर बहुविषयको ज्ञान दिन सकिन्छ । यसरी नै आधुनिक विषयको आवश्यक्तानुसार व्यवस्था मिलाउँदै लैजानुपर्ने अवस्था टड्कारिँदोछ ।

१, प्राविधिक र संज्ञानात्मक विषय वर्गीकरण गर्ने
संस्कृत विषयक्षेत्रमा रहेका प्राविधिक र अप्राविधिक विषयको छुट्टाछुट्टै पठनपाठन गर्ने व्यवस्था मिलाइनु पर्दछ । जसरी अन्य विश्वविद्यालयमा चिकित्साशास्त्र, स्थापत्यशास्त्र (इन्जिनियरिङ) आदि गरी छुट्याइएको हुन्छ । ने.सं.वि.मा रहेका शास्त्रीय विषय हुन्– चार वेद, नव्यव्याकरण र प्राचीन व्याकरण, नव्यन्याय, तथा प्राचीन न्याय, साहित्य, जैन दर्शन, बौद्ध दर्शन, वेदान्त दर्शन, पूर्वमीमांसा दर्शन र उत्तर मीमांसा दर्शन, हिन्दू दर्शन, बौद्धदर्शन, धर्मशास्त्र, पुराण इतिहास, तन्त्रशास्त्र, सर्वदर्शन, सांख्यदर्शन, लोकायतनिक दर्शन, अन्यान्य आधुनिक दर्शनको पनि आवश्यकता अनुसार थप्दै लगेर विकास गर्न सकिन्छ । यिनका अतिरिक्त कतिपय संज्ञानात्मक विषय पौरस्त्य जगत्मा रहेका छन् ।

२, अर्थकरी विद्याका विधा (प्राविधिक विषय)
फलित ज्योतिष तथा सिद्धान्त ज्योतिष, कर्मकाण्ड, वेद, सर्व दर्शन, योग दर्शन, आयुर्वेद, वैदिक कृषि, नाट्यशास्त्र, संगीतशास्त्र (सामवेदका दर्शन, वाद्य र नृत्य स्थापत्य शास्त्र (वास्तुविभाग) समेतको पठनपाठन गराइनुपर्दछ । वेद र दर्शनमा रहेका विज्ञानपक्षमा जोडदिँदै महाविद्यालयमा शास्त्री र आचार्यका कक्षाको व्यवस्था मिलाउनु पर्ने देखिन्छ । यसरी नै संस्कृत वाङ्मयमा रहेका प्राविधिक तथा जीवनोपयोगी विषय हुन् : आयुर्वेद, स्थापत्यवेद (वास्तु,शास्त्र, मुहूर्तशास्त्र, र आर्किटेक्चर इन्जिनियरिङलाई समायोजन गरी बनाएको पाठ्यक्रम) योगविज्ञान, योगशास्त्र, प्रकृतिक चिकित्सा, फलित ज्योतिष, कर्मकाण्ड, जडिबुटी, साम वेद (सङ्गीत तथा नृत्य) जीवनविज्ञान र प्राकृतिक चिकित्सा । यसमा आयुर्वेदमा अनुसन्धान प्रायोगिक व्यवस्थामा जोड दिनुपर्दछ । हाम्रा पहाड मधेसका चारकोसे झाडी र हिमालयहरू अनेकौं प्रकारका औषधिका भण्डार रहेका छन् । तिनको संरक्षण प्रवद्र्धन आवश्यक छ ।

(क) विधा विकासमा ध्यान दिनुपर्ने
आधुनिक विषयका क्षेत्रमा पनि अनेक विषयका कुरा संश्लीष्ट गरेर पढिने (कम्परेटिभ स्टडी डिपार्टमेन्ट) खोलेर नेपाली, अंग्रेजी अर्थशास्त्र राजनीति शास्त्र, कानुन, इतिहास भूगोल र सामाजशास्त्रहरूका समूह निर्माण गरेर बहुविषयको ज्ञान दिन सकिन्छ । यसरी नै आधुनिक विषयको आवश्यक्तानुसार व्यवस्था मिलाउँदै लैजानुपर्ने अवस्था टड्कारिँदो छ । त्रि.वि.को मानविकी सङकाय र संस्कृतको शास्त्रीय विषयमा शिक्षार्थीको रुचि रहेको देखिन छाडेको वर्तमान परिस्थितिलाई रमिते बनेर पुरानै कुराको रट लाएर बस्नु उचित हुँदैन । अतः ग्रामीण अर्थशास्त्र,आयुर्वेद, फलित ज्योतिष, विकास अध्ययन (रुलर डेभलपमेन्ट) जस्ता विषयलाई मिसाएर एउटा विषय बनाएर पढाउन सकिन्छ र यो युगको माग अनुकूल हुन्छ ।

(ख) कक्षा ९ देखि नै विधा विकास गर्नुपर्छ
संस्कृत वाङ्मयमा भएका प्राविधिक र अर्थकरी विधाका विषयलाई कक्षा ९ देखि नै व्यवस्थित गरेर पढाउँदै लागी उच्च शिक्षाका निमित्त बहुविकल्पात्मक विषयको सुविधा दिनुपर्दछ । जस्तै कक्षा ९ देखि कक्षा १२ सम्म यदि विद्यार्थीले परिचयात्मक किसिमले आयुर्वेद, स्थापत्यशास्त्र, (भवनइन्जिनियरिङ, वास्तुशास्त्र र ज्योतिषको शुभाशुभविचारसँग सम्बद्ध पक्षका कुरा मिलाएर बनाएको पाठ्यक्रम) योगविज्ञान, (लाइफ साइन्स्) योगविज्ञान तथा प्राकृतिक चिकित्सा, (यौगिक साइन्स् एण्ड नेचुरोप्याथी) कर्मकाण्ड, (वर्तमान नेपालका पुरोहितहरू कर्मकाण्डको दर्शन बताउन सक्दैनन् ।
अतः यसलाई दर्शनयुक्त बनाएर जीवनोपयोगी शैक्षिक सामग्रीका रूपमा विकास गर्न सकिन्छ) फलित ज्योतिष, (यसलाई आधुनिक विद्युतीयसञ्चारका माध्यमसम्म पनि पुर्‍याएर शिक्षार्थीलाई सहज जीविकोपार्जनको अवसर दिलाउँन सकिन्छ) सिद्धान्त ज्योतिष, (यो गणित तथा तथ्यांकशास्त्रको विषय भएकाले यो सबै प्रकारका वैज्ञानिक विषयको आधारभूमि हो) वैदिककृषि, यसलाई आधुनिक भाषामा अर्गेनिक र्फािर्मङ भनिन्छ (विषादि प्रयोगविना नै बालिनाली सपार्ने विधिको ज्ञान गराइन्छ) संगीत, (वाद्यपरिचय, नृत्यपरिचय र गात्रविक्षेपको सामान्यबाट क्रमिक रूपले विशिष्ट बन्दै सामवेदमा पुग्नेगरी बनाइएको पाठ्यक्रम) षड्दर्शन (यसमा तीनवटा आस्तिक र तीनवटा नास्तिक दर्शन पर्दछन्) यसको पठनपाठनलाई व्यवस्थित गरेर प्रचुर मात्रामा विश्वका विद्यार्थीको ध्यान नेपाली शैक्षणिक परिसरतिर तान्न सकिन्छ ।

संस्कृतका प्राविधिक विषय जस्तै आयुर्वेद, जडिबुटी, नाडिविज्ञान, प्राकृतिक चिकित्सा, योगविज्ञान, व्यायामशास्त्र, संगीतशास्त्रलाई कक्षा ९ देखि नै कक्षा १२ सम्म ऐच्छिक र अनिवार्य विषयका रूपमा सबैले पढ्नै पर्ने गरी माध्यमिक तहको पाठ्यक्रम बनाउनु र लागू गर्नुपर्दछ । यस प्रकारको पठनले दसवर्षमा देशलाई चाहिने ज्ञान, विज्ञान, कला, दर्शनका क्षेत्रमा हामी विश्वलाई सिकाउन सक्ने गुरु बन्न सक्छौं ।

संस्कृतका विषयको पठनपाठन अहिले नेपाली भाषाका माध्यमले गरिँदै आएको पाइन्छ । यसलाई रोकेर संस्कृतका विषयको पढाइ संस्कृत भाषाकै माध्यमले र अन्य कतिपय आधुनिक विषयको पढाइ अ
अंग्रेजी या नेपालीमा गर्ने परिपाटी लागू गर्नुपर्दछ । यो लागू गर्दा अहिले भएकाले जागिर छाड्नुपर्ने स्थिति पनि पर्न सक्छ ।

संस्कृत विभाग या भाषाविभागः ने.सं.वि.मा विश्वका कतिपय मुलुकबाट संस्कृत भाषा र पौरस्त्य दर्शन (फिलोसफी) पढ्न आउँछन् तर हामी तिनलाई केही वेदका ऋचा र केही चार हजार वर्षभन्दा पहिलेको व्याकरणका फर्मुला पढाएर पठाउँछौं अतः यसलाई परिमार्जन गरी संस्कृत भाषाविज्ञानविभाग खोलेर विदेशी विद्यार्थीलाई छुट्टै ढंगले पढाउनुपर्छ । लिपि विज्ञान विभागको व्यवस्था गरी प्राचीन सामग्रीको अध्ययन विश्लेषण गर्ने मानवीय संशाधन विकास गर्न सकिन्छ । नेपालमा छरिएर रहेका एक करोडभन्दा बढी पाण्डुलिपिको संकलन, अध्ययन विश्लेषण र प्रकाशनको व्यवस्था गर्न सकिन्छ ।

यसको केन्द्रीय कार्यालय दाङ बेल्झुण्डीमा एउटा आधुनिक सुविधायुक्त अनुसन्धाता आवास निर्माण गर्नुपर्दछ । आयुर्वैदिक अस्पताल निर्माणको पनि आवश्यक्ता छ । डिप बोरिङ गरेर या ग्वारखोलाको कुलो ल्याएर भए पनि बेलझुण्डीलाई पर्याप्त पानी दिनसक्नुपर्दछ । अन्तर्राष्ट्रिय छात्रावास र महिला छात्रावासको पनि अभाव रहेकाले अक्सफोर्ड, महर्षि, वोत्सेभेनिया, सम्पूर्णानन्द, वेल्जिङ जस्ता विश्वविद्यालयसँग ने.सं.वि.ले सहकार्यका योजना अघि बढाएर पनि क्रियान्वयन गर्न अप्ठ्यारो परिरहेको छ । प्राध्यापक आवास गृहको पनि अभाव भएकाले यतातिर आगामी दिनका पदाधिकारी तथा सरकारको पनि ध्यान जानुपर्ने अवस्था रहेको छ ।

आधुनिक सुविधायुक्त कम्तीमा पनि ६० जना बसेर छल्फल गर्न सकिने सभासहितको आववटा कोठाको अनुसन्धान केन्द्रको निर्माण अत्यावश्यक छ । नेपालका १२५ वटै संस्कृतिको अध्ययन अनुसन्धान गर्न खोलिएको सांस्कृतिक अध्ययन केन्द्र केबल हाकिम बनाएर जागिर खुवाउने केन्द्रमात्रै बनेर गएको देखिन्छ । प्राडा.जगमान् गुरुङ यसको कार्यकारी निर्देशक भएकाबेलामा बाहेक यसले उल्लेख्य काम गरेकोे भटिएको छैन । अतः यसलाई अनुसन्धाताको आकर्षणको केन्द्र बनाएर अघि बढाउनुपर्दछ । नत्र बन्द गरे हुन्छ ।

नेपाल संस्कृत विश्वविद्यालयका सबैतिरका जटिमनको संरक्षण गरी आयमूलक काममा लाउने नीति अख्तियार गरिनुपर्दछ । जनकपुर, मटिहानी, धरान र दाङदेउखुरीका अमूल्य जमिन अतिक्रमणलाई रोक्न सरकारले नै आवश्यक सहयोग नगरे विश्वविद्यालयले मात्रै यो काम पार लाउन सक्दैन । आधुनिक बोटानिकल साइन्स र प्राचीन पौरस्त्य वनस्पति शास्त्रलाई मिलाएर वनस्पति अध्ययन शास्त्र र संकायको विकास गर्न सकिन्छ । नाट्य, चलचित्रको पाठ्यक्रम बनाएर पनि पौरस्त्य नाट्यरङको विकास गर्न सकिन्छ । पौरस्त्यवाद्य, नृत्य र आधुनिक संगीतको विकास गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा मात्र शिक्षक कर्मचारीको भिड लाग्ने भएकाले अन्य विद्यापीठलाई पनि सुविधासम्पन्न बनाउने नीति अख्तियार गरे यो प्रवृत्ति निरुत्साहित हुनसक्ने देखिन्छ ।

नेपाल संस्कृत विश्वविद्यालय प्रगतिपथमा लाग्न नसक्नाका कारणमध्ये एउटा प्रमुख कारण शिक्षक कर्मचारिले गर्ने वर्गीय राजनीति र त्यसको संरक्षण दलहरूले गरेकाले पनि हो । योग्य सक्षम र इमानदार, राम्रो मान्छेको खोजीभन्दा हाम्रो मान्छेको खोजी गर्ने प्रवृत्ति हावी रहुन्जेल विश्वविद्यालय सुध्रने लक्षण देखिँदैन । हिजो अस्थिर राजनीतिक व्यवस्था, अस्थायी सरकार भएका बेलाको भागबण्डा अब पाँचवर्षे सरकारले पालन गर्नु आवश्यक छैन । तर यसका निमित्त एक अवधि पूरा गर्न दिने नदिने चाहिँ सरकारकै तजबिज हो । जहाँ भ्यागुता वक्ता हुन्छन्...के कुरा गर्नु ?

संस्कृतका विषयको पठनपाठन अहिलटे नेपाली भाषाका माध्यमले गरिँदै आएको पाइन्छ । यसलाई रोकेर संस्कृतका विषयको पढाइ संस्कृत भाषाकै माध्यमले र अन्य कतिपय आधुनिक विषयको पढाइ अंग्रेजी या नेपालीमा गर्ने परिपाटी लागू गर्नुपर्दछ । यो लागू गर्दा अहिले भएकाले जागिर छाड्नुपर्ने स्थिति पर्न सक्छ । संस्कृतको विद्यावारिधि नेपालीमा गर्नेगरेको पाइएकाले संस्कृतको अन्य भाषामा गर्न नपाइने गरी परिपत्र गर्दा निकै आलोचना र टीकाटिप्पणी भएको थियो । यसरी हेर्दा विश्वविद्यालयको हालको जनशक्ति करिब ४० प्रतिशत विश्वविद्यालयका निमित्त खासै उपयोगी देखिँदैन । यसमा शैक्षिक र प्रशासनिक दुवै जनशक्ति पर्दछन् । नेपाल संस्कृत विश्वविद्यालयमा बढी राजनीतीकरणका कारण स्थानीय विद्यार्थी र अभिभावक यस विश्वविद्यालयमा आकर्षित नहुनु पनि एउटा हो ।

पदाधिकारी नियुक्ति गर्नुभन्दा पहिले योग्य, सक्षम, इमानदार, उच्च नैतिकता भएको, प्रशासनिक र प्राज्ञिक क्षमता भएको आदि सबै कुरामा विचार गर्ने तर यो प्राज्ञिक क्षेत्र भएकाले उपकुलपतिलाई निर्देशन दिने, अल्झाउने, पचासथरीका कुरा गरेरनियन्त्रण गर्न खोज्ने जस्ता प्रवृत्तिको पुनरावृत्ति हुनुहुँदैन । सकेसम्म रजिष्ट्रार चाहिँ अर्थशास्त्र या व्यवस्थापन शास्त्र पढेको मान्छे हुनुपर्छ । शिक्षाध्यक्ष चाहिँ संस्कृतको निष्णात विद्वान् हुपर्छ र उपकुलपति राष्ट्रिय अन्तर्राष्ट्रिय शैक्षिक इतिहास बुझेर तदनुकूल आफू उपकुलपति भएका विश्वविद्यालयको शैक्षिक तथा बाहृयपक्षको योजना बनाउन सक्ने ल्याकतको छान्नु आवश्यक देखिन्छ ।

अहिले फेरि नेपाल हिन्दू विश्वविद्यालय खोल्न मन्त्री सुदन किराती कस्सिएका छन् । विश्वविद्यालयमाथि विश्वविद्याय खोल्ने होडबाजीमा लाग्नुभन्दा खुलेका स्थापित विश्व विद्यालयलाई व्यवस्थित गर्ने र विद्यार्थीलाई काम गरेर पढ्नसक्ने वातावरण सरकारले गर्नुपर्छ । यसो गर्न नचाहने सरकारका पनि दिन टिक्न मुस्किल छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?