मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्षमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मच्छिन्द्र क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई २–१ ले हराएको हो । जितसँगै चर्च ब्वाइज पुनः शीर्षस्थानमा फर्किएको छ ।

चर्च ब्वाइजको जितमा अञ्जन विष्टले एक गोल गर्नुभयो भने अर्को आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करिमले पेनाल्टीमार्फत् एक गोल फर्काउनुभयो । खेलको ४०औँ मिनेटमा अञ्जनको गोलबाट चर्च ब्वाइजले अग्रता लियो ।

उहाँले बायाँ विंगबाट कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा गोल गर्नुभएको थियो । ६४औँ मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई नुरेन करिमले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

७१औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोलमा पुनः अग्रता लियो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले समाएको बल आफ्नै पोस्टभित्र खसाल्नुभएको थियो । यो जितसँगै चर्च ब्वाइजले लिगमा लगातार चौथो जित दर्ता गर्दै अंकतालिकाको शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको हो । १६ खेलमा ३० अंकका साथ चर्च ब्वाइज अगाडि छ । दोस्रो स्थानको जावलाखेलको २७ र तेस्रो स्थानको थ्रीस्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।

यस्तै, ‘ए’ डिभिजन लिगकै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले हरायो । अर्माण्ड विडोंगले ४०औँ मिनेटमा आर्मीलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको ५५औँ मिनेटमा आभाष लामिछानेको गोलबाट एपिएफको अग्रता दोब्बर बन्यो ।

त्यसको ६ मिनेटपछि नवीन लामाले गोल गर्दै एपिएफकोे जित सुनिश्चित गर्नुभयो । पहिलो लिगको खेलमा समेत एपिएफले आर्मीलाई हराएको थियो । एपिएफ तालिकामा २२ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?