नेपाल टेलिकमको नाफा घट्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको नौ महिनाको अवधि अर्थात् २०७८ चैतसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आवको सोही अवधि अर्थात् २०७९ चैतसम्ममा ८७ करोड २९ लाख ६४ हजार अर्थात् ३.०९ प्रतिशतले कमी भई २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँमा झरेको छ ।

गत आवको चैतसम्मको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आवको सोही अवधिमा कुल आय ६७ करोड १८ लाख ३५ हजार अर्थात् २.०६ प्रतिशतले वृद्धि भई ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको छ । गत आवको नौ महिनासम्मको खुद मुनाफा पाँच अर्ब ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आवको सोही अवधिसम्म दुई करोड ३३ लाख ७१ हजार अर्थात् ०.४३ प्रतिशतले कमी भई पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजारमा झरेको छ ।

गत आवको नौ महिना अवधिको तुलनामा चालु आवको सोही अवधिसम्मको खुद मुनाफा परिवर्तन हुनुको प्रमुख कारणमा कार्य सञ्चालन आयमा वृद्धि हुनु, कार्य सञ्चालन आयमा कमी हुनु, गैर कार्य सञ्चालन आयमा भएको परिवर्तनलगायत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जिएसएम डाटातर्फ करिब ७७ करोड ५० लाख २६ हजार वृद्धि भएको छ ।

अन्तरआबद्धतासम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र सोसँग सम्बन्धित खर्चमा समेत कमी आएको बताइएको छ ।

विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा असर पर्न गएको, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको, विदेशी विनिमयदरमा भएको परिवर्तनका कारण करिब पाँच करोड ४६ लाख फरेन एक्सचेन्जन गेन भएको टेलिकमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?