जुम्ला । जुम्लाको सिंजा गाउँपालिका सम्भावनाले मात्रै होइन, आफैंमा ऐतिहासिक ठाउँ पनि हो । यहाँ थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरू छन् । यो खस आर्यहरूको ऐतिहासिक थलोका रूपमा समेत परिचित छ । यहाँ ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल केदारनाथ मन्दिर, खस राजाले निर्माण गरेका मठमन्दिर यहाँका लोकप्रिय पर्यटकीयस्थल हुन् भने खस भेषभूषा पहिचानका यहाँका देउडा संस्कृतिको विकास जसमा दौरा–सुरुवाल, पटुका, टोपी, आजको नेपाली खाना, हाटबजारको विकास, दमाहाका बाजा मुख्य चिनारी हुन् । राजा नागराजले स्थापना गरेको यो सिंजा राज्यले ११औँदेखि १६औँ शताब्दीसम्मको अवधिमा सिंजा शक्तिशाली साम्राज्यका रूपमा चर्चित थियो । नेपाली भाषाको उत्पत्तिसमेत रहेको सिंजा खस राजवंशकोे राजधानीका रूपमा चिनिन्थ्यो । कृषि र पर्यटन यहाँको मुख्य आम्दानीका स्रोत हुन् । यसै सेरोफेरोमा रहेर पालिकाको अध्यक्ष पदमा निर्वाचित भएको करिब एक वर्ष पुग्न लागेका अवसरमा सिंजाको विकास सम्भावना, योजना र चुनौतीबारे गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालसँग जुम्ला हिटा संवाददाता विजय रावतले गर्नुभएको कुराकानीको सम्पादित अंश -
- तपाइँ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको करिब एक वर्ष पुग्न लाग्यो, नागरिकले महसुस हुने गरी गरेका कामहरू छोटकरीमा बताइदिनुहोस् न ?
तपाईंले मलाई आफ्ना धारणा र कार्य सम्पादनका विषयमा तपाईंको लोकप्रिय पत्रिका हिमालय टाइम्समा सहभागी हुने मौका दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन्छु । गएको वैशाखमा स्थानीय तहको निर्वाचन भई निर्वाचित भएको करिब एक वर्ष पुग्न लागेका अवसरमा सिंजा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि आजको मितिसम्म एक वर्षको बीचमा केही नमुना काम पनि भएका छन् । जो सिंजाका नागरिकले महसुस हुने गरी भएका छन् । सिंजा क्षेत्रमा सञ्चारको राम्रो सुविधा थिएन, स्थानीयवासी फोनबाट वञ्चित थिए । निर्वाचित भएदेखि सञ्चारसेवालाई गुणस्तरीय बनाउनका लागि पालिकाको वडा नं. ४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भई सञ्चालनमा आएको छ । स्वास्थ्य सेवालाई सहजरूपमै सेवाप्रवाह गर्नका लागि पालिकाको नराकोट स्वास्थ्य चौकीमा सुविधासम्पन्न भिडियो एक्सरेसहितको ल्याब सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नं. २ मा प्रसूतिगृह र वडा नं. ६ मा आधारभूत स्वास्थ्य चौकी स्थापना भई दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइसकेको छ । पालिकाको हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्थासमेत गरिएको छ । विद्यालयमा शिक्षक दरबन्दीअनुसार शिक्षक पदपूर्ति नहुँदा शिक्षण सिकाइमा निकै सकस हुने गरेको व्यापक जनगुनासो आएपछि राज्यको नीतिअनुसार पालिकाभित्रका सामुदायिक विद्यालयका लागि खुला प्रतिस्पर्धाबाट स्वयंसेवक शिक्षक छनोट गरी नियुक्ति दिएर विद्यालयमा हाजिर भई कार्यरत भइसकेका छन् । सिटिइभिटीद्वारा सिंजामा बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि स्वीकृत प्रदान भई काम अगाडि बढेको छ । पालिकाको आफ्नो प्रशासकीय भवन हुँदाहुँदै भाडाको घरमा बसेको थियो । म निर्वाचित भएर आएपछि आफ्नो भवनमा कार्यालय राख्न कर्मचारीलाई निर्देशन दिएँ र म आफैं लागिपरेँ । अहिले प्रशासकीय भवनको एक तलाबाट सेवा प्रवाह भएको छ । पालिकाको प्रशासकीय भवनको थप माथिल्लो तलाका लागि चार करोड पाँच लाखमा ठेक्का सम्झौता भई काम सञ्चालन भइसकेको छ । १८ महिनाभित्र काम सम्पन्न गरिसक्ने भनेर ठेकेदारसँग सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्नका लागि पालिकाभित्र शाखा रहने गरी काम अगाडि बढेको छ । सिंजाबाट कर तिर्नकै लागि सदरमुकाम खलंगा जाने यहाँका स्थानीयवासीको दुःखलाई समाधान गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक सिंजामै राख्नका लागि काम अन्तिम चरणमा पुगेको छ । विकास निर्माणका काम तीव्रगति अघि बढेका छन् । सातवटा ग्रामीण सडकको टेण्डर भई काम सञ्चालनमा आएका छन् । पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउनका लागि सार्वजनिक खरिद ऐनभित्र रही बालुवा गिट्टी र ढुंगाको उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डलाई लागू गरी खुला प्रतिस्पर्धामार्फत् ठेक्का आहृवानबाट यो आर्थिक वर्ष २०७९/०८० मा ६० लाख राजस्व उठाउने लक्ष्य रहेको छ । चालु आवको आठ महिनासम्म १५ लाख राजस्व उठेको अनुमान गरिएको छ । मालपोत र नापी कार्यालय सिंजामै स्थापना गर्नका लागि संघीय सरकारका मातहतका मन्त्रालयमा फाइल पुगेको छ । कामलाई अगाडि बढाउनका लागी सिंजाबाट सिंहदबार धाइरहेको छु ।
- बजेट व्यवस्थापनदेखि सिंजाली जनताका समस्या लिएर सिंजाबाट सिंहदरबार धाउनुभएको छ, कस्तो सहयोग पाउनुभएको छ ?
सिंजा गाउँपालिकाको अध्यक्ष भइसकेपछि काठमाडौं धाउनुपर्ने बाध्यता पनि भयो । पालिकामा प्राप्त भएको सीमित बजेटले हाम्रा जनताका आवश्यकता पूरा नहुने हुनाले संघ, प्रदेश धाउनुपर्ने अवस्था छ । माननीय जनार्दन शर्मा अर्थमन्त्री भएका बेला हामीले आचार्यलिहि, धिताललिहि, नराकोट जाँच हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने बाटोका लागि १२ करोड बजेट प्राप्त गरी काम चालु गरेका छौँ । सिंजा गाउँपालिकाको प्रशासनिक भवन तीन तलाको बनाउन बजेटको खोजी गरियो । यसबाहेक आगामी आव ०८०/०८१ मा आवश्यक बजेटका लागि प्रयत्न गरेका छौँ । तर, हाल देशमा आर्थिक संकट छ । बजेट अभाव भएकाले हाम्रा सबै आवश्यकता पूरा हुन सक्दैनन् कि भन्ने चिन्ता छ । बजेटमात्र होइन, देश संघीय व्यवस्थामा गइसकेपनि सिंजावासीले प्रशासनिक सुविधा पाउन सकेका छैनन् । जनताले वर्षैंदेखि मालपोत र नापी कार्यालयको माग गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको माग गरेका छन् । बहुप्राविधिक शिक्षालयको माग गरेका छन । दश शøयाको अस्पताल र पक्की पुल चाहिएको छ । ०७९ साल असोजको वर्षा र बाढीले बाटो, बस्ती र खेतीयोग्य जमिन बिगारेको छ । यी संरचना स्थापना गर्न आवश्यक बजेट प्राप्त गर्नु छ ।
मन्त्रालयको कर्मचारीतन्त्र जनमैत्री छैन । हरेक काममा ढिलासुस्ती मात्र होइन निहुँ खोज्ने र बखेडा झिकेर काम रोक्ने प्रवृत्ति छ । संघीयताको मर्मअनुरूपको कर्मचारीतन्त्र छैन । अर्थ मन्त्रालयबाट तीन–तीन पटक फाइल फर्कंदा पनि हामीले हिम्मत हारेनौँ । प्रचण्ड प्रधानमन्त्री हुँदा मालपोत र नापीका लागि अर्थबाट सहमति प्राप्त भयो । अब भूमिसुधार मन्त्रालय हुँदै सामान्य प्रशासन मन्त्रालयमा फाइल गएको छ । सामान्यले क्याबिनेटमा प्रस्ताव लैजानेमा मेरो पूर्ण विश्वास छ । प्रधानमन्त्री पुष्पकमल दाहालको क्याबिनेटले पास गरी सिंजाली जनतालाई न्याय दिनेछ । राष्ट्रिय वाणिज्य बैंक र बहुप्राविधिक शिक्षालयको स्थापनाका लागि र दश शैश्याको अस्पताल, नराकोट र रनुखानमा पक्की पुलको माग पनि हाम्रो काठमाडौं धाउने काम बन्यो । सिंजा खस संग्रहालय र रंगशाला स्थापना, सिंजा लेकाली राजमार्ग र बृहत् खानेपानीका लागि प्रयत्न गरिएको छ । कृषि र शिक्षा विकासमा थप रकमको प्रस्ताव गरेका छौँ । यी कामका साथै नाग्म सिंजा गमगढी राजमार्ग तुरुन्तै पक्की बनाउनुपर्ने माग पनि मन्त्रालय र विभागमा जोडदाररूपले उठाएका छौँ । सिंजा सभ्यता संरक्षण विधेयक पास गरिनुपर्ने कुरा प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छौँ ।
- विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
गाउँपालिकाले योजनाबद्ध ढंगले विकास निर्माण र सेवा प्रवाहको कार्य गर्दै आएको छ । गाउँसभाले स्वीकृत गरेका वार्षिक विकास योजनाहरू कार्यान्वयन गर्न वार्षिक कार्य सञ्चालन तालिका निर्माण गरिएको छ । सोही तालिकाअनुसार गर्दै विकास निर्माण कार्यहरू गर्दै आएका छौं । नयाँ योजनाहरूको तर्जुमा र विकासका लागि केन्द्रीय निकायले लागू गरेका ऐन नियम, कार्यविधि तथा स्थानीय विधि र पद्धतिलाई पालना गर्दै तोकिएका शर्तसमेतको अभ्यासबाट गाउँपालिकालाई सभ्य र समृद्ध बनाउने गन्तव्यतर्फ सिंजा अगाडि बढिरहेको छ । सेवा प्रवाहलाई सहज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पालिकाका सबै वडामा गएर योजना सम्झौता गरेका छौँ । गाउँ केन्द्रित सेवालाई विशेष प्राथमिकतामा राखेर काम गरेका छौँ ।
- सिंजा गाउँपालिकामा रहेका पर्यटनस्थलहरूको खासै प्रचारप्रसार हुन सकेको छैन ? यहाँका थुप्रै लुकेका पर्यटनस्थलहरूलाई आन्तरिक तथा बाहृय पर्यटनसँग जोड्नका लागि पालिकाले कस्ता नीति लिएको छ ?
तपाईंले सही प्रश्न उठान गर्नुभएकोमा विशेष धन्यवाद छ । खस आर्यहरूको ऐतिहासिकस्थल सिंजा गाउँपालिकाको अध्यक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएर जनताले मलाई खटाएका छन्, म ती सचेत नागरिकप्रति आभारी छु । उहाँहरूको मप्रतिको विश्वासलाई टुट्न नदिन अहोरात्र खटेको छु । विश्वका प्रमुख जातिहरूमध्ये खसहरूको स्थान अघि छ । खसहरू सभ्यता र संस्कृतिका सर्जक हुन् । आफ्नो लगन, त्याग र मूल्य मान्यताप्रतिको साधनाले खसहरू शासक जाति पनि हुन् । खस, जे नाम दिए पनि युरोप, एसिया र अन्य महादेशहरूमा पनि आज खस जातिले मानव समुदायको नेतृत्व गरिरहेकै पाइन्छ । यो खस जातिको बृहत् परिभाषा हो । तर, इरान, इराकतिरबाट भारतीय उपमहाद्विप हुँदै हिमालयको पश्चिमतिरबाट पूर्वतिर बढ्ने क्रममा कुमाउ, गढवाल हुँदै खसान भूमिमा प्रवेश गरी राज्य सञ्चालन गरेका खसहरू नै आज नेपालका पर्वतीय बाहुन–क्षेत्री हुन् । सिंजा साम्राज्य खस सभ्यता र संस्कृतिको विश्वविख्यात सत्ता हो । पशुपालन र कृषि कर्म, व्यापार र हस्तकलाका सामान उत्पादन गरी जीवन सरल र सहज पार्ने खसहरूले मौलिक परम्परा थालनी गरे । नागराजले स्थापना गरेको यो राज्यले ११औँ देखि १६औँ शताब्दीसम्मको अवधिमा सिंजा साम्राज्यको रूप लियो र यसले जे–जति उपलब्धि हासिल गर्यो ती सबै खसहरूले मानव जातिलाई दिएका मूल्यवान योगदान थिए । नेपाली भाषाको उत्पति, देउडा संस्कृतिको विकास जसमा दौरा, सुरुवाल, पटुका, टोपी, आजको नेपाली खाना, हाटबजारको विकास, दमाहाका बाजा लगातार चार सय वर्ष सम्मको राज्य सञ्चालनका अभ्यास गर्दै दक्षिणमा पटना, उत्तरमा तिब्बतको गुंगे प्रदेशसम्म फैलिएको सिंजा साम्राज्य थियो । त्यस खस साम्राज्यको राजधानी सिंजा रहेको थियो । आन्तरिक तथा बाहृय पर्यटनसँग जोड्नका लागि सिंजाभित्र लुगेका पर्यटकीयस्थलहरूको प्रवद्र्धन गर्न संघीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको छ । स्थानीय सरकार भएको नाताले बढी जिम्मेवारी भए पनि आवश्यक बजेट व्यवस्थापनमा प्रदेश र संघले लगानी गर्नु अति आवश्यक रहेको छ । सुन्दर राराताल जाने बाटो त्यही सिंजा भएर जान्छ । पर्यटनलाई सिंजामै बस्ने वातावरण बनाउनका लागि यहाँ लुगेका पर्यटकीयस्थलहरूको संरक्षण र प्रवद्र्र्धन गर्नका लागी पालिकाले गुरुयोजना बनाएर तीनवटै सरकारसँग सहकार्य तथा समन्वयको माध्यमबाट काम गरिने भएको छ ।
- तपाईंको स्थानीय तहमा बेरुजु घटाउन के गर्नुभएको छ ?
संघ, प्रदेश तथा स्थानीय तहका प्रचलित कानुनको पालना गर्दै आर्थिक कारोबार गर्दै आएका छौँ । सार्वजनिक खरिद ऐनको परिपालना गरी मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा निर्माण कार्य गर्दै आएका छौँ । ऐन, नियमको परिपालना गर्दै आर्थिक कारोबार गर्दा पनि बेरुजु हुने गर्छ । असुलउपर गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेस्कीलगायत बेरुजु छ । बेरुजुको किसिमअनुसार कार्यालयले आवश्यक कागजात प्रमाण संकलन गरी संपरीक्षण गरेर बेरुजु न्यूनीकरण गर्ने प्रयास गरेका छौँ । बेरुजु शून्य बनाउने कार्य कठिन छ तर असम्भव छैन । विगतमा भन्दा बेरुजु घटाउने कार्यमा हरेक खर्च कार्यविधि बनाएर खर्च गर्ने ऐन कानुन बनाएका छौँ ।
- अन्त्यमा केही भन्नु छ कि ?
सिंजा गाउँपालिकालाई अब्बल बनाउनका लागि सबै कर्मचारी, जनप्रतिधि र यहाँका राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने भएकाले सबै निकायसँग सहकार्य र समन्वयबाट काम गरेर अगाडि बढेका छौँ । पालिकाको सेवा प्रवाहलाई चुस्त र सुशासन कायम गर्नका लागि सधैं माथि उठेर जनताको सेवामा कर्मचारी र जनप्रतिनिधि लागिपरेका छन् । पालिकाबाट सञ्चालन भएका विकासे योजना र सेवा प्रवाहमा कुनै सुझाव र प्रश्न भए सिधै सम्पर्क गर्न सबैलाई अनुरोध छ । सबैमा सहयोगको समेत अपेक्षा राखेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच