-शंकर खनाल
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा अहिले हेर्दै रहरलाग्दो लह-लह हरियाली तरकारी बाली लगाइएको छ । कुनै बेला उराठलाग्दो मरुभूमिझैँ देखिने जमिनमा कसरी हरियाली सम्भव भयो ? तामाकोशीको झुले गाउँ यसरी हरियालीमा परिणत होला भन्ने यहाँका बुढापाकालाई पनि विश्वास थिएन । तर, सुक्खा यो ठाउँ यसरी हरियालीमा परिणत हुँदा यहाँका तरकारी कृषकहरू पनि दंग देखिन्छन् । त्यसो त नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले यहाँका कृषकरूको कृषिकर्ममा धेरै सघाएपछि उनीहरूको दैनिकी पनि बदलिएको हो ।
त्यसो त गाउँका बारीका पाटाभरि रायोको साग उब्जनी गर्न पनि आरआरएनले नै सिकाएको उनीहरूको भनाइ छ । घरअगाडिको जुठेल्नोमा सीमित भएको तरकारी खेती यसरी घर तल-तलका बारीका पाटासम्म पुगेको छ । साग टिप्न भ्याइनभ्याई हुन्छ उनीहरूलाई । बजारसम्म नपुर्याउँदै बिकिसक्छ । बाँकी करेसाबारीमा रहेको सागबाट गुन्द्रुक बनाएर बेच्न पाउँदा उत्पादन गरेको वस्तु खेर नजाने र थप आम्दानी गर्न पाउँदा उनीहरू दंग नै देखिन्छन् । यतिखेर उनीहरूलाई सिमी, बोडी, भिन्डी, काँक्रा र फर्सी टिप्न भ्याइनभ्याई छ । सडक सञ्जालले जोडिएपछि व्यापारी बारीमै किन्न आइपुग्दा उनीहरूको आयआर्जनको गतिलो बाटो बनेको छ ।
गाउँका कृषकहरूका लागि आरआरएनले वितरण गरेको बीउ आलु झुले गाउँका कृषकको खेतबारीमा लह-लह हुँदा कृषकको मन कम्ती प्रफुल्लित छैन । मिहिनेत र पसिना आफ्नै बारीमा बगाउन सके मनग्य आम्दानी हुने भन्दै अहिले पदमकुमारी र हिराबहादुर तामाङको जोडीलाई यही आलुखेतीले खुसी दिएको छ । टर्नेलभित्र सुरक्षितरूपमा नर्सरी राखिएको छ । कोभी, खोर्सानी, टमाटर किबीलगायतका बिरुवा बिक्री हुँदा थप आम्दानी त भएकै छ, बेर्नाले छिमेकीहरूलाई पनि तरकारी खेती गर्न सिकाएको छ । बिहान-बेलुकी घरमै सागसब्जी टिप्न पाउँदा र यसरी ताजा आलु उखेल्न पाउँदा आम्दानी र बचतले उनीहरूको जीवनस्तर बदलिएको छ ।
उन्नत बीउबिजन र रैथाने बीउबिजनको संरक्षण गर्न पनि अहिले कृषकहरूले सिकिसकेका छन् । गाउँमै बीउबिजन केन्द्र खोलिएपछि तरकारी कृषकहरूलाई सजिलो भएको छ । उत्पादन भएको बीउबिजन गाउँमै बिक्री पनि हुने र रैथाने बीउको संरक्षण पनि हुने । जसले गर्दा गाउँलाई कृषिमा आत्मनिर्भर हुन सिकाएको मात्र छैन, यसले सबै कृषकहरूमा अनुभव आदानप्रदान, आयआर्जन, सीप विकास, आत्मर्निभर, मेलमिलाप र एकताको सन्देश पनि दिएको छ ।
तामाकोशी गाउँपालिका-२ को झुले गाउँमा गठन भएको लालिगुराँस आमा समूहको सक्रियता कृषि र पशुपालनमा उत्तिकै छ । यही समूहकी सदस्य जमुना तामाङलाई गोठभरि थलामा भएका गाईवस्तुको स्याहारसुसार गर्न भ्याइनभ्याई देखिन्छ । थलाभरि गाईवस्तु, पाडापाडी, बाख्रा, खसी भएपछि सधैं काम नभएर बरालिने उहाँका श्रीमान् शुभराज तामाङको दत्तचित्त पनि यसैमा छ । ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले अनुदानमा दिएका यी गाईको दूध दुहुनु र दूध डेरीसम्म पुर्याएर आयआर्जनको भरपर्दो बाटो उहाँले पहिल्याउनुभएको छ ।
जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भन्ने उखानलाई शुभराजले चरितार्थ गरिदिनुभएको छ । एक माउगाई किन्न र पाल्न नसक्नुभएका उहाँका लागि ६-६ माउगाई आफ्नो गोठमा यसरी पाल्न पाउनु सपनाजस्तै थियो । ६ माउगाईको दूध दुहुनु र डेरीसम्म पुर्याउँदा उहाँको आर्थिक आयआर्जनमा तेब्बरले वृद्धि भएको छ । घरअगाडिको करेसाबारीभरि लगाएको सागसब्जी, लसुन, प्याज लह-लह छन् । केराउ, किबी र अन्य तरकारी बालीमा लगाउनका लागि रासायनिक र युरिया मल उहाँले किन्न छाड्नुभएको छ । घरमै तयार भएको गाईवस्तुको मलमूत्र संकलन गरेर हालेको मलबाट उहाँले माटोको उर्वराशक्ति मात्र बढाउनुभएको छैन, उत्पादनमा तेब्बर वृद्धि समेत गर्नुभएको छ ।
गाईपालक कृषकहरूलाई लक्षित गरेर आरआरएनले गाउँको शिरानमा दुग्ध संकलन केन्द्रसमेत खोलिदिएपछि कृषकहरू बढी उत्साहित भएका हुन् । गाउँकै पायक पर्ने ठाउँ खरिढुंगामा संकलन केन्द्र खोलेपछि कृषकहरूले पहिलाको जस्तो दूध बिक्री नभएर हैरानी खेप्नुपरेको छैन । उनीहरूले उत्पादन गरेको दूध डेरीले किनिदिने भएपछि गाउँभरिका गाईपालक कृषकहरूलाई यसले गाईपालनमा ऊर्जा दिएको छ ।
गाईपालनबाट दूध बेचेर र तरकारी बालीको आम्दानीबाट अहिले उहाँले आफ्ना छोराछोरीलाई काठमाडौंको राम्रो कलेजमा पढाइरहनुभएको छ । यसकारण पनि गाईपालनबाट राम्रो आयआर्जन हुँदा पारिवारिक शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि परिवर्तन ल्याएको छ । किनभने आम्दानी नहुँदा छोराछोरीलाई काठमाडौंसम्म पुर्याएर पढाउन सकिने अवस्था उहाँको थिएन । अहिले उहाँले घरखर्च कटाएर मासिक ३५ हजार रुपैयाँभन्दा बढी बचत गर्न थाल्नुभएको छ । त्यसो त आरआरएनले पशुुपालक कृषकका लागि गाई, बाख्रामात्र अनुदान दिएको छैन । अनुदानमा दिएका गाईबाख्रा बिरामी हुँदा स्वास्थ्य उपचार गर्नेका लागि भेटेनरी अर्थात् औषधि उपचारको पनि व्यवस्था मिलाएको छ ।
पशुपालक कृषकका लागि गोठ सुधार कार्यक्रम पनि निकै फलदायी भएको छ । अझ बाख्रापालक कृषकका लागि त गोठ सुधार कार्यक्रम वरदान नै भएको देखिन्छ । एउटै खोरमा जथाभावी बाख्रा राख्दा मलमूत्रले हिलाम्मे हुने, ठूलोले सानोलाई हान्दा बाख्रा तुहाउने, पाठापाठी जिङ्ग्राउने, फोहोर हुँदा उपियाँ–जुम्रा पर्ने समस्याले कृषकहरू हैरान भएका थिए । तर, अहिले त्यो समस्या छैन । नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनको अनुदानमा बाख्रापालक कृषकहरूले बाख्राको खोर सुधार्न पाउँदा निकै फाइदा भएको महसुस गरेका छन् । बाख्राको खोर पनि टिलिक्क टल्केको च्यादरले छाइएको छ । माउबाख्रा, खसीबोका, पाठापाठीलाई छुट्टाछुट्टै कोठामा राख्दा बाख्रापालन फस्टाएको झुलेका कृषक मनोज कार्कीको अनुभव छ ।
दोलखाको चरीकोटबाट तीन घण्टाको कच्चीबाटो छिचोलेर पुग्न सकिने दूरदराजका गाउँमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले स्थानीय बासिन्दालाई सीप विकास र चेतना विस्तारमा सघाएको छ । हातमा सीप भए मिहिनेत गरेर आयआर्जन गर्न सकिने रहेछ भन्ने शिक्षा छाडेको छ । अहिले गाउँमा सिँचाइको व्यवस्थापन हुँदा यहाँका सुक्खा टारहरू तरकारी बालीले हरियाली देखिन्छन् । वैतेश्वर गाउँपालिकाको यो गाउँको सिरानमा यसरी सिँचाइको लागि आरआरएनले ट्यांकीको व्यवस्थापन गरिदिएपछि यी टारहरूमा हरियाली छाउन सुरु गरेको हो । सुकौरे डाँडामा यसरी तरकारी लगाउँला र यसरी टिपाँैला भन्ने पूर्णदेवी तामाङले सोच्नुभएको थिएन । न त टार भिजाउँला भन्ने गोपाल तामाङले नै सोच्नुभएको थियो । उजाड मरुभूमिझँै देखिने डाँडोमा सिँचाइ पुग्दा कसको पो मन प्रफुल्लित नहोला र ? आरआरएनको यो सहयोगबाट यो ठाउँ स्वर्गझैँ भएको उहाँहरूको मनमा छ ।
दोलखाको यो झुले र मृगे गाउँका कृषकहरूको किबी खेतीले कर्म नै बदलिदिएको छ । किबी के हो भन्ने नामै नसुनेका यहाँका कृषकहरूको बारीमा अहिले लह–लह किबी फूलेको देख्दा उनीहरू आफैं दंग छन् । आरआरएनले माटोको अध्ययनसँगै किबीका बिरुवा अनुदानमा उपलब्ध गराएपछि यहाँका कृषकले किबीको व्यावसायिक खेती गर्न थालेका हुन् । मकै, कोदो, गहुँ लगाउने र बाँझो जमिनमा थाक्रा लगाएर किबी खेती गर्न थालिएको हो । त्यसो त किबी फलको बजार राम्रो र चाँडै आयआर्जन गर्न सकिने भेउ पाएपछि यहाँका किसानहरू मृगे गाउँलाई किबी जोन क्षेत्र नै बनाउने निक्र्योलमा पनि पुगेका छन् ।
अत्यन्त दुर्गम क्षेत्र र तामाङ समुदायको बसोबास रहेको गाउँका कृषहरूको आर्थिक अवस्थामा पनि विस्तारै परिवर्तन आउन थालेको छ । समूहको बैठक बस्ने र आपसी छलफल गरेर निष्कर्षमा पुग्ने बानी अन्य समुदायका लागि पनि सिकाइ भएको छ । गाउँको सिरानमा बैठक र समुदायको छलफलका लागि पनि आरआरएनले सामुदायिक भवन निर्माण गरिदिएको छ । जसले गर्दा कसको घरमा बैठक गर्ने भन्ने समस्या अहिले छैन । उन्नत बीउबिजन र रैथाने बीउबिजनको संरक्षण गर्न पनि आरआरएनले सिकाएको छ । गाउँमै बीउबिजन केन्द्र खोलिएपछि तरकारी कृषकहरूलाई सजिलो भएको छ । उत्पादन भएको बीउबिजन गाउँमै बिक्री पनि हुने र रैथाने बीउको संरक्षण पनि हुने । जसले गर्दा गाउँलाई कृषिमा आत्मनिर्भर हुन सिकाएको मात्र छैन, यसले सबै कृषकहरूमा अनुभव आदानप्रदान, आयआर्जन, सीप विकास, आत्मर्निभर, मेलमिलाप र एकताको सन्देश पनि दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच