मोरङमा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखियाे

हिमालय टाइम्स
Read Time = 2 mins

मोरङ । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

बेलबारी-४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताउनुभयो । “केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो”, वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताउनुभएका उहाँले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याउनुभएको थियो ।

रु २५ लाखभन्दा धेरैको नोक्सानी भएको उहाँले जानकारी दिनुभयो । छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ । उहाँले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आउनुभएको छ ।

बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भन्नुभयो , “अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडाैं पठाइएको छ । ” रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?